सुरु भयो वडादशैं,आज घटस्थापना

बुटवल ।  नेपालीहरुको महान पर्व बडा दशैं आज (आइतबार) बाट शुरु भएको छ । आज दशैंको पहिलो दिन घटस्थापना हो ।आज हिन्दू धर्मावलम्बीहरुले घरघरमा जमरा राखेर दशैँ भित्र्याउँदैछन् । घटरस्थापनका लागि विहान १०ः३५ बजेको साइत उत्तम रहेको पञ्चांग निर्णायक समितिले जनाएको छ ।

गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैं घरमा पवित्र नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई जौ छरेर विधिपूर्वक जमरा राख्ने गरिन्छ ।

दशैंको पहिलो दिन आज शैलपुत्री देवीको पूजा गर्दै घटस्थापना गरिँदैछ। पर्वत राज हिमालयको पुत्रीका रुपमा जन्म लिएकीले उनको नाम शैलपुत्री रहन गएको शास्त्रमा वर्णन गरिएको छ। शैलपुत्रीको आराधना गर्नाले धन, सौभाग्य मोक्ष प्राप्त गर्नुका साथै रोग व्याधी र दीर्घ रोगबाट मुक्ती पाउने शास्त्रीय मान्यता रहेको छ।

आजका दिन पूर्ण कलसको जल पनि राखिन्छ । सोही जलले अभिषेक गरी आजकै दिन वैदिक विधिपूर्वक राखिएको जमरा दशैँमा टीकासँगै लगाउने प्रचलन छ ।

हिन्दुहरुले आजदेखि सुरु भएको दशैँ कोजाग्रत पूर्णिमासम्म मनाउने गर्दछन् ।

नवरात्रभर दुर्गादेवीका नौ रुपको पूजा

घटस्थापनादेखि विजया दशमीसम्मको अवधिलाई नवरात्र पनि भनिन्छ । नवरात्रभर अधिष्ठात्री देवी दुर्गाका नौ रुपको पूजा गरिन्छ । नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैठौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ ।

बडादशैँको सातौं दिन धार्मिक विधिअनुसार फुलपाती भित्राइन्छ । महाअष्टमी र महानवमीका दिन बलि पूजा गर्नेहरुले दशैं घर, कोत र शक्तिपीठमा बलिसहित विशेष पूजा गर्दछन् ।

नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्र एवम स्तुतिको पाठ गरिन्छ । यस अवसरमा नक्साल भगवती, शोभा भगवती, नाला भगवती, पलाञ्चोक भगवतीलगायत देशभरका शक्तिपीठमा पूजा आराधना एवम दर्शनार्थीको भीड लाग्छ ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस