सितारा सहकारीको साधारण सभा

तिलोत्तमा । सितारा बचत तथा ऋण सहकारी संस्था तिलोत्तमा–३ शंकरनगरको १२ औंं बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।

तिलोत्तमा नगरपालिका कार्यक्षेत्र रहेको सहकारीको साधारण सभाले अध्यक्ष मातृका ज्ञवालीको वार्षिक प्रतिवेदन, कोषाध्यक्ष मिन प्रसाद पोेख्रेलको आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक पिताम्वर खनालको लेखा प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।

साधारण सभाको उदघाटन गर्दै तिलोत्तमा नगरपालिका सहकारी विभाग प्रमुख माधव प्रसाद पोखरेलले कृषि, पशुपालन र उत्पादनमुलक क्षेत्रमा लगानी गर्न आग्रह गर्दै सहकारी क्षेत्र मुलुकको आर्थिक विकासको मेरुदण्ड भएको बताए ।

तिलोत्तमा नगरपालिका वडा नम्वर ४ का अध्यक्ष दिवाकर ढकालले सहकारीको बचतलाई उत्पादनमुलक क्षेत्रमा लगाउन सके गृहणी महिलाहरु समेत आत्म निर्भर हुने भएकाले व्यापारलाई भन्दा उत्पादनलाई प्राथमिकता दिनुपर्ने बताए ।

वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष ज्ञवालीले सहकारी सम्बन्धी सम्पूर्ण अधिकार स्थानीय तहमा आइसकेकाले सहकारीमा देखिएका बाधा तथा चुनौतीहरुलाई समाधान गर्न स्थानीय सरकार नै सशक्त रुपमा लाग्नुपर्नेमा जोड दिए ।

संस्थाका कोषाध्यक्ष मिनप्रसाद पोखरेलले आर्थिक वर्ष २०७६/७७ का लागि ६ करोड ९० लाख ५० हजार रुपियाँ बराबरको आयव्यय विवरण प्रस्तुत गरेका थिए । कार्यक्रममा संस्थाका उपाध्यक्ष गणेश पन्थी, सचिव रमेश पराजुली, नवजीवन सहकारीका अध्यक्ष नारायण पाठक, सूर्यकिरण सहकारीका उपाध्यक्ष झविन्द्र खड्का लगायतले बोलेका थिए ।कुल ५ सय ५४ जना शेयर सदस्य रहेको सहकारीको शेयर पुँजी १ करोड ३० लाख ४ हजार ७ सय ५० रुपियाँ रहेको छ ।

त्यस्तै बचत निक्षेप ४ करोड ४ लाख ४६ हजार ७ सय ६५, दैनिक बचतमा ४६ लाख ३७ हजार ७ सय ६१ रुपियाँ रहेको र गत असार मसान्तसम्म ५ करोड ७५ लाख ६८ हजार ५ सय १५ रुपियाँ कुल लगानी रहेको साधारण सभाका अवसरमा जानकारी गराइएको थियो ।

सहकारीले आर्थिक वर्ष २०७५/७६ मा कुल सञ्चालन आम्दानी ६४ लाख ६१ ह्जार ५ सय ३४ रुपियाँ गरेको छ भने ३ लाख ७७ हजार ५ सय ५९ रुपियाँ खुद नाफा हासिल गरेको छ ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस