खोलाको पानी खान बाध्य

प्यूठान । धारामा खानेपानी नआउँदा बृहत् बिजुवार साना सहरी खानेपानी आयोजना अन्तर्गतका उपभोक्ता समस्यामा परेका छन्  । धारामा पानी आउन छाडेपछि उपभोक्ता पुराना मूल, झिमरुक र जुम्रिखोलामा धाएर पानी खान बाध्य छन्  ।

पानीको स्रोत सुक्दै गएपछि आयोजनाअन्तर्गतनिर्माण गरिएका इनारमा पानी कम भएकाले धारामा नियमित छोड्न नसकिएको समितिले जनाएको छ । घरघरमा धारा राख्नका लागि ठूलो रकम खर्च गरे पनि पानी नआउँदा धेरै समस्या भोग्न परेको प्यूठान नगरपालिका–४, बिजुवारका बाबुराम श्रेष्ठले बताए । ‘दसैं लागेदेखि धारामा पानी आउन छाडेको छ,’ उनले भने, ‘रमाएर चाडपर्व मनाउने बेला सधैं हामीलाई पानीको पिरलो हुन्छ ।’

केही दिन पहिलेसम्म एक दिन बिराएर धारामा पानी आउने गरेकामा अहिले चार दिनदेखि नआएको उनले बताए । पानीको समस्या भएको विषयमा गुनासो गर्न थालेको धेरै दिन भए पनि सुनुवाइ नभएको उनले सुनाए । धारामा पानी नियमित नआए पनि पैसा भने नियमित तिर्न परिरहने स्थानीय दोबन्ता पाठकले गुनासो गरिन् । ‘पानी आए पनि नआए पनि महिनामा २ सय ५० रुपैयाँ न्यूनतम तिर्नैपर्छ,’ उनले भनिन्, ‘हाम्रो गुनासो कसले सुन्ने रु’ पानी नआएको विषयमा स्थानीय जनप्रतिनिधिसँग समेत गुनासो गरेको उनले बताइन् ।

श्रेष्ठ र पाठकको धारामा मात्र नभएर प्यूठान नगरपालिका–८, ७, ४, ३ र २ वडामा वितरण गरिएका १ हजार ६ सयभन्दा बढी उपभोक्ताका धारामा अहिले नियमित पानी आउन छाडेको छ । बिजुवार, टारी र जुम्री क्षेत्रका स्थानीयले उपभोक्ता समितिका पदाधिकारीलाई बोलाएर पानी नआएको विषयमा सामूहिक गुनासो गरेको टारीका सुरेन्द्र सुवेदीले बताए । आयोजना निर्माण गर्दा दिगोपनाबारे नसोचिएका कारण उपभोक्ताले दुःख पाउने गरेको सुवेदीको आरोप छ । ‘करोडौंको योजना बन्यो भनेर पुराना आयोजनाको मर्मत गरिएन,’ उनले भने, ‘अहिले आयोजनाले धोका दिंदा पानीको धेरै दुःख पाइयो ।’ कान्तिपुर दैनिक

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस