शौचालय अभावमा

बाँके । हिन्दू र मुस्लिम समुदायको आस्थाको धरोहरको रूपमा रहेको मजारमा शौचालय अभाव रहेको छ । यहाँ नेपाली मात्र होइनन् भारतीय नागरिकसमेत दर्शनका लागि आउने गरेका छन् ।

मजारका पुजारी नजिर मोहम्मदका अनुसार सरकारले उत्कृष्ट १०० नयाँ पर्यटकीय गन्तव्यको सूचीमा राखेको मजारमा भौतिक पूर्वाधार अभावका कारण पूजापाठ गर्न आउने पर्यटकले सास्ती भोग्नुपरेको छ ।

यहाँ आउने पर्यटक जङ्गलमा शौच गर्न बाध्य छन् । नेपालगञ्जबाट आठ किलोमिटर पूर्वमा रहेको मजारमा नेपाली मात्र होइनन् भारतीय हिन्दू र इस्लाम धर्मावलम्बीसमेत पूजापाठ गर्न आउने गरेका छन् ।

पुजारी मोहम्मद शौचालय नहुँदा भक्तजन र पुजारी नजिकको जङ्गलमा शौच गर्दै आएको बताए । उनले सरकार र विभिन्न सङ्घसंस्थाले सहयोग गर्ने आश्वासन दिए पनि काम नभएको बताए । मजारमा आउने भक्तजनका लागि ओत लाग्ने ठाउँसमेत छैन । “पानी पर्नासाथ रुखको ओत लाग्नु पर्छ”, उनले भने, “मजारमा पिउने पानीको पनि समस्या छ ।”

धार्मिक पर्यटकीय गन्तव्यको रुपमा सूचीकृत भएपछि मजारलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गत वर्ष रु २५ लाख बजेट उपलब्ध गराएको थियो । सो रकम पर्याप्त नभएको पुजारी मोहम्मदले बताए । रासस

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस