प्रदेशका अन्य जिल्लाको तुलनामा प्यूठान पछाडि

प्युठान। विकास निर्माणमा प्रदेशका अन्य जिल्लाको तुलनामा प्यूठान पछाडि छ । वैदेशिक रोजगारीमा जानेहरूले बिजुवार, जुम्री, बाग्दुलगायतका स्थानमा घडेरीको कारोबार गरेकाले बस्ती मात्रै विकास भएको हो ।

प्यूठानको झिमरुक फाँटमा बढ्दो बस्ती

वैदेशिक रोजगारीको कमाइले जग्गा र घर खरिद गरेपछि त्यहाँ मानवीय चाप बढेकको छ । बस्ती विकासले ‘मानो रोपी मुरी फल्ने’ झिमरुक फाँट मासेर कंक्रिटका घरले भरिदैं छन् । नेता जन्माउने जिल्ला भनेर प्यूठानको परिचय छ । प्रायस् सबै दलका नेताको पहुँच केन्द्रीय राजनीतिमै छ् । यहाँका नेताहरू राष्ट्रिय दलका प्रमुखदेखि प्रभावशाली पदसम्म छन् । पञ्चायतदेखि गणतन्त्रसम्म आग्इपुग्दा प्यूठानी नेताको राजनीतिक प्रभाव उच्च छ । तर, जिल्लाको विकास भने न्यून छ ।

जिल्ला भित्रने मुख्य प्रवेश द्वार भालुबाङ–प्यूठान सडक २०६५ सालमा कालोपत्रे गरिएको थियो । अझै सिंगल लेनकै छ । साँघुरो सडकमा सवारी चापले प्यूठानीले हैरानी ब्यहोरिरहेका छन् । दुर्घटना यत्तिकै भइरहन्छ । स्थानीय तहले बजेट जति सडकमा बिनियोजन गरेर हिउँदमा ६ महिना चल्ने सडक बनाएका छन् । यी सडकअन्तर्गतका खोलामा पुल नहुँदा वर्षाभर सडक अवरुद्ध हुन्छ । प्यूठान नगरपालिकाले बिजुवारको मित्रमणि चोकदेखि प्रशासनिक भवनसम्म र सरुमारानी गाउँपालिकाले दरभानमा ४र५ सय मिटरबाहेक कुनै पनि स्थानीय तहले सडक कालोपत्रे गरेका छैनन् ।

प्रसिद्ध पर्यटकीय तीर्थस्थल स्वर्गद्वारी पुग्ने सडक अझैसम्म कालोपत्रे भएको छैन । त्यहाँ पुग्न तीर्थयात्रीलाई निकै सास्ती हुन्छ । स्थानीय तहले सडक मर्मत गर्न सामान्य चासो देखाएपनि प्रदेश र संघीय सरकारले गुरुयोजना बनाउन सकेका छैनन् । नेतै नेताको जिल्ला भएपनि विकास पाउन जिल्लाबासीलाई चुनौती छ । यस्तै नौमुरे बहुउद्देश्यीय जलविद्युत् परियोजना निर्माण गर्ने चर्चा निकै वर्षदेखि सुनिए पनि काम थालिएको छैन । यसको अझै डीपीआर पूरा भएको छैन । संघीयता कार्यान्वयन भएर जनप्रनिधिहरू आएपछि भएका भौतिक परिवर्तन अधिकांश निर्माणाधीन अवस्थामा मात्र छन् ।

बाग्दुला–भीमगिठे सडक पनि बनेन
जिल्लावासीले महत्वकासाथ हेरेको बागदुला–भीमगिठे सडकको सुरु भएको छैन । प्यूठान जिल्लामा निर्माण हुन थालेको एउटा मात्र सडक आयोजनाको काम सुरु नहुँदा जिल्लावासी चिन्तित छन् । भारतीय एक्जिम बैंकमार्फत भारत सरकारको ऋण सहयोगमा प्यूठानको बाग्दुलादेखि बागलुङको भीमगिठेसम्म ७३ दशमलव ६ किमिको दूरी कालोपत्रे गर्ने भनेर तयारी भएको थियो । २ अर्ब ३५ करोड रुपैयाँ लागतमा योजना निर्माणका लागि ठेक्का भएर पनि काम भएको छैन ।

निर्माण कम्पनी बैकको कालोसूचीमा परेको भन्दै सडक अन्योलमा छ । प्यूठान तर्फको बाग्दुलादेखि अर्खासम्म ट्रयाक खोलिएको सडकलाई ९ मिटर चौडा बनाएर ७ मिटर कालोपत्रे गरिने गरी सडक बनाउन लागिएको थियो ।

यो सडकसँगै ठेक्का भएको लमही–घोराही–तुल्सीपुर र चन्दौटा–कृष्णनगर सडकमा काम अगाडि बढिसक्दा प्यूठानको सडक रोकिनु नेताको भूमिका नपुगेको गौमुखी गाउँपालिका अध्यक्ष विष्णुकुमार गिरी बताउँछन् । ‘सडक आयोजनाअन्तर्गत पर्‍यो भनेर हामीले यो सडकमा बजेट विनियोजन गरेनौं,’ उनीले भने, ‘अहिले सडकको अवस्था बेहाल छ ।’ यो सडक क्षेत्र पर्ने झिमरुक गाउँपालिका र प्यूठान नगरपालिकाले समेत बजेट विनियोजन गरेका छैनन् । बर्खामा हिलो र हिउँदमा धूलोले उत्तरी प्यूठानवासी हैरान छन् ।

ऐतिहासिक स्थल र प्राकृतिक स्रोत
पहाडी जिल्ला भएर पनि प्यूठानको हावापानी र वातावरणमा विविधता छ । जिल्लाको दुई तिरबाट झिरुक र माडी नदी बगेको छ । नदिले बनाएका समथर फाँटले जिल्लाको सौन्दर्य भिन्दै बनाएको छ । यिनै नदीलाई आधार बनाएर जिल्लाको विकास गर्न सकिन्छ । बाह्रैमास सिंचाइ हुने झिमरुक फाँटमा आधुनिक प्रविधिमार्फत व्यावसायिक तरकारी खेती गर्न सकिन्छ । स्वर्गद्वारी, ऐतिहासिक स्थल भित्रीकोट दरबार, नौबहिनी, गौमुखी, ऐरावती ओखरकोट, मल्लरानी, कालिका मन्दिर, लिस्ने लेक, झुलेनी, तुसारा स्नाथान, झाँक्रीढुंगाजस्ता ऐतिहासिक पुरातात्त्विक पौराणिक मठमन्दिरलाई आधार बनाएर धार्मिक र प्राकृतिक दृश्य अवलोकनका लागि पर्यटन भित्र्याउन सकिन्छ ।

ती सबैलाई जोड्न पदमार्गका अवधारणा ल्याउन सकिने भए पनि यसमा ध्यान खासै गएको पाईंदैन । ऐतिहासिक स्थलहरूमा स्थानीय तहहरूले थोरैथोरै बजेटले केही काम गरे पनि केन्द्र र प्रदेश सरकारले उल्खेनीय बजेट बिनियोजन गरेर कुनै काम थालिएको छैन ।

स्वर्गद्वारीमा गाई आरक्षण बनाउने, नौमुरेमा बाँध बाँधेर विद्युत् निकाल्ने र झिमरुक क्षेत्रबाट बिजुवारसम्म र माडी क्षेत्रबाट भिंगृसम्म जलयात्रा गर्ने, चर्चा निर्वाचनका बेला उठ्ने विषयले त्यसपछि चर्चा पाउँदैन । स्वर्गद्वारी केवलकारका कुरासमेत कुरामै सीमित छन् । जिल्लामा दुई ठूला प्राविधिक क्याम्पस बनाउने, आधुनिक बसपार्क, चाल्नेटारमा हवाई मैदान, बिजुवारमा आधुनिक मिट कम्प्लेक्सजस्ता योजनाको निर्वाचनको बेला मात्र चर्चा भए । तर, ती योजनाका फाइल अहिले कतै अगाडि बढेको नदेखिएको जनज्योति सामुदायिक विकास केन्द्रका अध्यक्ष सञ्जय रिजालले बताए ।

प्यूठानको आर्थिक, सामाजिक, सांस्कृतिक, भौतिक विकासका लागि कनिका छरे जस्तो प्रदेश सरकारले स्थानीय तहमा बजेट छर्नु नै गल्ती भएको रिजालको भनाइ छ । ‘कनिका छरेजस्तो बजेट छर्ने होइन । आवश्यकता अनुसार बजेट दिने हो,’ उनले भने, ‘तलबाट योजना माग्ने हो । त्यही योजना अनुसार बजेट दिने हो । यो सबै बजेट दुरुपयोग गर्नका लागि मात्र छरिएको जस्तो देखिएको छ ।’ त्यस्तो प्रबृत्तिले विकास नहुने उनले बताए ।

पहिल्यैदेखि प्यूठान कम्युनिस्टको गढको रूपमा रह्यो । जिल्लामा कम्युनिस्ट नेताहरू धेरै जन्मिए । मोहनविक्रम सिंह, मोहन वैद्य, बामदेब गौतम, मणि थापा, कृष्णध्यज खड्का, लिलामणि पोख्रेल, सूर्य थापा, नवराज सुवेदीलगायत नेताहरू प्यूठानकै हुन् । काग्रेसबाट पूर्व योजना आयोगका उपाध्यक्ष गोविन्दराज पोखरेल छन् ।  नेता भए पनि जिल्लामा विकास निर्माणका योजना ल्याउन भूमिका नखेलेको गुनासो प्यूठानवासीको छ ।कान्तिपुर दैनिक

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस