प्रदेश ५ को वर्चस्व

काठमाडौं । प्रदेश ५ ले २० स्वर्ण, २० रजत र १० कांस्य जित्दै ११औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा मंगलबार टिम च्याम्पियन बनेको छ। विभिन्न ६ खेल समावेश प्रतियोगिता समग्रमा टिम च्याम्पियन बनेको हो।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगितामा १३ स्वर्णका साथ प्रदेश १ दोस्रो तथा १२ स्वर्णका साथ सुदूरपश्चिम प्रदेश तेस्रो भए।

प्रतियोगितामा ४ नयाँ जुनियर राष्ट्रिय कीर्तिमान बने। त्यसमा पनि प्रदेशकै वर्चस्व रह्यो। चारै कीर्तिमान प्रदेश ५ का खेलाडीले बनाए। छात्रको ४ गुणा ४ सय मिटर रिलेमा सिमान पाण्डे, लेखनाथ महर, वेदबहादुर ओली र श्रवण केवतले कीर्तिमान बनाए। सोही प्रतिस्पर्धाको छात्रामा अरुणा रिजाल, पूर्णिमा खड्का, पूजा चौधरी र करुणा रिजालले कीर्तिमान रचे।

त्यस्तै छात्राको सटपुटमा संगीता अधिकारी तथा ४ सय मिटर दौडमा अरुणा रिजालले कीर्तिमान स्थापित गरे। प्रत्येक कीर्तिमानका लागि १० हजार नगद पुरस्कार प्रदान गरियो।

एथलेटिक्स, भलिबल, कराते, तेक्वान्दो, उसु र कबड्डी समावेश प्रतियोगिताका विजेतालाई राखेपका उपाध्यक्ष पीताम्बर तिम्सिना लगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे।

व्यक्तिगत स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः ५ हजार, ४ हजार र ३ हजार नगद पुरस्कार पाए। त्यस्तै टिममा पहिलो हुनेले २ हजार ५ सय, दोस्रोले २ हजार र तेस्रोले १ हजार ५ सय नगद पुरस्कार हासिल गरे ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस