न लगानी न पूर्वाधार खेलकूदमा

रुकुम । रुकुमपूर्वमा भौतिक पूर्वाधार र लगानीको अभावले  खेलकूद क्षेत्रले फड्को मार्न सकेको छैन ।

नियमितरुपमा जिल्लामा कुनै प्रकारका ठूला खेलकूद प्रतियोगिता नहुनु, नियमित प्रशिक्षण नहुनुले नयाँ खेलाडी उत्पादन हुने र खेल्ने अवसरबाट समेत वञ्चित हुनुपरेको छ । जिल्लाको खेलकूद भलिबल र फुटबलमै सीमित रहेको छ ।

सानो चौर नेट र बल भयो भने सजिलै खेल्न सकिने भलिबल रुकुमपूर्वमा धेरै पहिलेदेखि खेलिँदै आएको छ । पछिल्लो केही वर्षयता जिल्लामा वार्षिकरुपमा रुकुम कप फुटबल प्रतियोगिता सञ्चालन हुँदै आएको छ ।

फुटबलको लहर बढे पनि भलिबलको लोकप्रियतामा कमी भने आएको छैन । विद्यालय र क्लबले आयोजना गर्ने प्रतियोगिताले जिल्लाको भलिबल धानेको छ । क्रिकेट, कबड्डी, टेबलटेनिस, ब्याडमिन्टन, एथ्लेटिक्सलगायतका खेलकूद सञ्चालन नहुँदा यी खेलका खेलाडी जिल्लामा प्रायः शून्य छन् ।

देश सङ्घयतामा गएसँगै रुकुम जिल्ला टुक्रिएर दुई वटा जिल्ला बनिसकेपछि रुकुमपूर्वमा खेलकूद विकास समिति गठन गरी सबै काम शून्यबाट शुरु गरिएको जिल्ला खेलकूद विकास समितिका अध्यक्ष हरिबहादुर थापाले बताए ।

जिल्ला खेलकूद विकास समितिसँग पर्याप्त बजेट र गाउँसम्म लुकेका प्रतिभा खोज्नसक्ने स्थिति नभएको जिल्ला खेलकूद विकास समितिका कोषाध्यक्ष नामेन्द्र सुनारले बताए । प्रतिभावान् खेलाडी छनोट गर्नसके मात्रै लुकेका प्रतिभा बाहिर आउनसक्ने एकपटक राष्ट्रिय खेल खेलिसकेका एथ्लेटिक्स खेलाडी प्रकाश बस्नेतले बताए ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस