सडक पक्की गर्न अलकत्र अभाव

अमृता अनमोल

बुटवल – अलकत्र अभावले देवदह नगरपालिका गणेशपुरबाट जनभावना मावि जाने ६ सय ५० मिटर सडक स्तरोन्नति रोकिएको छ । पुसबाट सडक स्तरोन्नतिको काम सुरु भएको सडकमा डेढ महिनादेखि काम रोकिएको हो ।

व्यवसायीले बाटो बन्द गरेर राखेका छन् । ठेकेदार कम्पनी बाटाजु कन्स्ट्रक्सनका सञ्चालक राजन ज्ञवालीले बजारमा अलकत्रा अर्थात् बिटुमिन नपाउँदा सडक पक्की गर्न नसकेको बताए । ‘सडकको सव वेस, वेस र प्राइम कोर्ट सकिएको छ । करिब एक महिनादेखि अलकत्र खोजीमा छु,’ उनले भने, ‘तर, कतै नपाएकाले पिच गर्न सकेको छैन ।

’सैनामैना नगरपालिकाको मुर्गिया–झारबैरा–खकनपुर सडक पक्की गर्न भन्दै बाटो नै बन्द गरेको ३ साता बढी भयो । सैनामैनाकै पुष्पनगर–गंगानगर सडक पनि पक्की गर्न भन्दै सडकमा गिट्टी बिछ्याइएको छ ।

तर, पक्की सुरु भएको छैन । सडक निर्माणको ठेक्का लिएको भगवती कन्स्ट्रक्सनले गत मंसिरदेखि काम थालेको थियो । ‘बजारमा अलकत्र पाइएन,’ सञ्चालक जीवन कक्षपतिले भने, ‘यसैले एक महिनायता काम ठप्प छ ।’अलकत्र नपाउँदा जिल्ला तथा प्रदेशस्तरीय कार्यालयबाट संचालित २ सय सडक अलपत्र छन् ।

नगर र गाउँपालिकाका साना सडकसमेत जोड्दा यो संख्या तेब्बर पुग्ने लुम्बिनी निर्माण व्यवसायी संघका अध्यक्ष मोहनलाल जोशीले बताए । सडक पक्की गर्न नपाउँदा सडकमा अहिलेसम्म निर्माण गरेका संरचना बाढीले बगाउनेसम्भावना बढेको उनले गुनासो गरे ।निर्माण व्यवसायी संघ प्रदेश ५ का अनुसार यो प्रदेशमा निर्माणाधीन सडक पक्की गर्न तत्काल ५ हजार ट्रक अलकत्र आवश्यक छ । यो क्षेत्रमा अधिकांश अलकत्र भारतीय बजार भागलपुरबाट आउने गर्छ ।

विटुमिन कम्पनी स्तरोन्नति गर्न लागेको भन्दै डेढ महिनायता त्यहाँबाट अलकत्र आएको छैन । तेस्रो मुलुकबाट भारत हुँदै पूर्वी नाकाबाट आउने अलकत्र पनि नक्कली भन्दै सीमा क्षेत्रमा रोकिएको छ । एक स्क्वायर मिटर सडक पक्की गर्न करिब साढे ३ लिटर अलकत्र आवश्यक पर्छ । तर, यो क्षेत्रका कुनै पनि व्यवसायीसँग स्टक अलकत्र नभएको संघले जनाएको छ ।

अलकत्रसँगै मट्टीतेलसमेत आयात रोकिएको छ । कक्षपतिले अलकत्रको विकल्प खोज्न सरकारी निकायलाई ध्यानाकर्षण गराए पनि पहल नभएको बताए ।‘जिल्लाले प्रदेश र प्रदेशले संघलाई जानकारी गराएको भन्छन् । तर, निर्माणमा समय तोक्नेले आवश्यक कच्चा पदार्थको अभाव हुँदा कसरी ल्याउने भन्नेमा सहजीकरण गर्दैनन्,’ उनले भने, ‘यसले अन्तिम चरणमा पुगेका सडक शून्यमा झर्ने अवस्था आएको छ ।’

कान्तिपुरबाट 

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस