कृषि मेला अवसर पनि हुन सक्छ

रोल्पा । नेपाल कृषि प्रधान देश हो । त्यही अन्तरगत रोल्पा जिल्ला पनि पर्छ । रोल्पा पनि कृषि क्षेत्रमा राम्रो सम्भावना बोकेको जिल्ला हो । कृषि क्षेत्रमा राम्रो गरी गाउँ घरमै स्वरोजगार बनेका कयौं उदाहरण पनि रोल्पामा छन ।

जिल्लामा रहेको रोल्पा नगरपालिकाले १० माघमा कृषि मेला तथा औद्योगिक प्रदर्शनीको आयोजना गर्यो । कृषिमा व्यवसायीकरण, आकर्षण र प्रेरणा दिने उद्देश्यले उक्त मेलाको आयोजना गरेको हो ।

कृषि मेला तथा औद्योगिक प्रदर्शनीमा अन्नबाली, फलफूल, तरकारी, खाद्यान्न, कुखुरा, खसी, बाख्रा, स्थानीय स्तरमा उत्पादन गरिएका कृषि औजार र अन्य उत्पादन प्रदर्शनीनीमा राखिएको थियो । कृषि क्षेत्रका आधुनिकिकरण प्रविधिहरु पनि प्रदर्शनीमा राखीएको थियो ।

मेलाको अवसरमा बोल्दै प्रदेश पाँचका सांसद दिपेन्द्र पुनले समृद्ध नेपाल बनाउनको लागि मुख्य आधारनै कृषि भएको बताए । त्यसका लागि प्रदेश पाँच सरकारले कृषिमा विभिन्न योजना बनाइरहेको बताए । कृषि मेलामा आएका सबैलाई कृषि पेशामा लाग्न र विदेशमा बगाउने पसिना आफ्नै बारीमा बगाएर समृद्धिको यात्रा तय गर्न सुझाए । कुरा भन्दा पनि कामको शुरुवात गर्न आग्रह गरे ।

कृषि क्षेत्रमा लाग्नु पर्छ भनेर भाषणमा र अर्कालाई भने जस्तो पक्कै छैन । कृषि क्षेत्रमा आवश्यकता अनुसार खेतीपातीका लागि पूर्वाधार सुविधा छैन ।

खेती योग्य जमिनमा सिंचाइ, मल, वीऊ जस्ता कुरामा अहिले पनि जिल्लामा राम्रो सुविधा छैन । कृषि क्षेत्रमा आधुनिकिकरणले मात्रै कृषिमा व्यवसायीकरण हुनेमा दुई मत छैन । उत्पादन भएको कृषि उपज विक्रि वितरण तथा निर्यात गर्नको लागि अहिले पनि कृषहरुलाई यातायातको सहज पहुँच छैन । कृषिबाटै समृद्धि खोज्ने हो भने यस क्षेत्रमा दिर्घकालीन हुने गरी लगानी गरे मात्रै समृद्धिको नाराले सार्थकता पाउने छ र कृषि आर्थिक स्रोत बन्ने छ । कृषकहरुले आफैले ठुलो मात्रामा लगानी गर्न सक्ने क्षमता राख्दैनन् । कृषकरुलाई लगानी डुब्ने डर सधै भैरहन्छ ।

ठुलो दुःख, मेहनत गरेर उत्पादन भएको कृषि उपजले न्युनतम मुल्य समेत नपाउँदा किसानमा निराशा आउने गरेको छ । भने कती कृषि व्यवसायबाट प्लायन हुनुपर्ने अवस्था पनि जिल्लामा छ । कृषिजन्य सामाग्री सञ्चय गर्ने कतै पनि ठाउँहरु छैनन् ।

उत्पादन भएको कृषि उपजले मुल्य नपाएको बेलामा सञ्चय गरेर राख्ने व्यवस्था भए मात्रै पनि कृषकहरुलाई ठुलो फाइदा पुग्ने देखिन्छ । किनभने मुल्य नपाएको बेलामा सञ्चय गरेर राखेर उक्त वस्तुको बजार मुल्य राम्रो भएको बेलामा विक्रि वितरण गर्ने व्यवस्था कृषकहरुलाई हुन जरुरी छ ।

ग्रामीण क्षेत्रमा किसानले उत्पादन गरेको समाग्री कच्चा फसलका रुपमा हुन्छ । त्यसलाई किसानले आवश्यकता अनुसार प्रशोधन तथा स्तर निर्धारण गरी बेच्न सके बढी मुल्य पाउने सम्भावना पनि उत्तिकै हुन्छ । त्यसका लागि उत्पादन भएको सामाग्री तत्काल बेच्नुपर्ने बाध्यता हटाउनको लागि प्रशोधन उपकरण किसान समक्ष पुग्न आवश्यक रहेको छ ।

कृषकहरुको उन्नती कृषि विकास बिना सम्भावना छैन । जिल्लामा सिंचाइको सुविधा नहुँदा बेमौसी खेती गर्न किसानहरुलाई गह्रो भैरहेको छ । उत्पादनशिल माटो भएपनि सिंचाइ नहुँदा कती जमिन बाझै रहेका छन ।

कृषिमा अनिश्चित हुन्छ । कहिलेकाही किसानले सोचे भन्दा पनि धेरै उत्पादन हुन्छ भने कहिले आगामी दिनका लागि आवश्यक पर्ने वीऊहरुको स्रोत समेत मासीन्छ । किसानले संकटका समयमा पनि खेतीपाती गर्नुपर्ने हुन्छ । सिंचाइ सुविधा पर्याप्त मात्रामा नहुँदा किसानहरु आकाशे पानीको भरमा मौसमी खेती गर्न बाध्य छन ।

किसानलाई जोखिमपुर्ण अवस्थामा बाली लगाउन पर्ने हुन्छ । किसानलाई जोखिमबाट थोरै भएपनि राहत पाउनको लागि बाली बीमा अनिवार्य छ । तर जिल्लामा बाली बीमाको राम्रो पहुँच, सहजता छैन ।

रोल्पा नगरपालिकाले आायोना गरेको कृषि मेलालाई अवसरका रुपमा लिन पनि सकिन्छ । किन भने यसले नगरपालिका भित्रका कृषकहरुलाई जमघट हुने अवसर जुर्याइदियो । कृषकहरु एकआपसमा आफ्ना अनुभव साटासाट गर्ने अवसर पाए । साथै कृषि क्षेत्रभन्दा बाहिर रहेकाहरुलाई पनि कृषिमा लाग्न प्रेरणा दिन सक्छ ।

साथै सांसदको समृद्ध नेपाल बनाउनका लागि कृषि नै आधार भएको भनाइले पनि कृषिमा लाग्ने हौसला दिन सक्छ ।
मेलामा प्रदर्शनीमा राखीएका कृषि सामाग्रीहरुको मुल्याकंन गर्दै सम्मान समेत गरेको छ । यसले पनि कृषकहरुलाई प्रतिस्पर्धामा जानको लागि थप आकर्षण बढाउने छ ।

ठुलो मेलाको आयोजना मात्र नभइ सानातिना कार्यक्रमको आयोजना गरी किसानलाई सम्मान तथा प्रोत्साहन गर्न आवश्यक रहेको छ । मेलामा आफ्ना उत्पादन प्रदर्शनीमा लिएका कृषकहरु पनि हर्षितनै देखिन्थे । यसले पनि कृषकहरुलाई थप कृषि पेशामा लाग्न प्रेरीत गरेको छ ।

कृषकहरुको सधै एउटै गुनासो हुन्छ कृषकलाई त कसैले पनि कहीकतै बोलाउदैनन् भन्ने । तर त्यो कृषकहरुको गुनासोलाई नगरपालिकाले सम्वोधन गरेको छ । कृषि पेशामा लाग्ने हो भने गाउँघरमै रोजगारी पाइन्छ भन्ने उदाहराण पनि रोल्पामा देख्न सकिन्छ । कृषि अर्थतन्त्रको आधार समेत हो ।

कृषकहरुलाई प्रविधियुक्त तालिम तथा आधुनिकिकरण प्रविधिको पनि आवश्यक रहेको छ । परम्परागत शैलिमा भन्दा पनि आधुनिक शैलिमा खेती गर्दा उत्पादन बढ्ने विज्ञको सुझाव छ । आधुनिकिकरण भने जस्तो छैन ।

किसान ठुला र महंगा किसिमका प्रविधि किन्न चाहदैनन् । किसानलाई लगानी जोखिमा पर्ने सधै डर र पर्याप्त मात्रामा आर्थिक श्रोत हुदैन । उनीहरुलाई त्यसतर्फ आकर्षण बढाउनको लागि सम्बन्धीत निकायलेनै नजर लगाउनु पर्ने देखिन्छ ।

कृषि उत्पादनको लागि बीउ, मल, औषधी तथा कतीपय अवस्थामा प्रविधिक सेवाको पनि आवश्यकता हुन्छ । सम्भाव्य क्षेत्रकै पहिचान नगरी जथाभावी रुपमा किसानका नामका अर्कैलाई प्रविधि वितरण समेत भैरहेको छ ।

अलैंची, तरकारी, सुन्तला उत्पादनको पकेट क्षेत्रका रुपमा विकास गरिरहेको रोल्पा नगरपालिका प्रमुख पुर्ण केसीले बताए । कृषि र पशु विकासका लागि २ करोड रुपैयाँ विनियोजन गरेको पनि बताए ।

पहलमान घर्ती

घर्ती रोल्पाका संवाददाता हुन् ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस