दाइजो प्रथामा जेलिएको मधेश

कपिलवस्तु  । माघ महिना विहेको लगनको महिना गाउँघरमा उमेर पुगेका युवा-युवतीहरुको जोडी मिलाउने चर्चा परिचर्चा । चोक चौराहामा चिसो छल्न बालिएको घुरको आगो वरीपरि आगो ताप्दै होस वा चिया पसल चर्चा विहेवारी कै छ । कस्को छोराको विहे को संग हुदै छ , छोरीको विहेमा केटा पक्षले यति उति दाइजो मागेको छ रे, गाइगुई, खासखुस कुरा, खेतबारी मेलापाखा जताततै अहिले चर्चा विहेवारीकै छ ।

कपिलवस्तुको चोक चौराहामा पनि विवाहको चर्चा बढेको छ । आफ्नो छोरी छोराको विवाहका लागि जोडी खोज्ने क्रम बढेको छ । धेरै जसो समुदायमा उमेर पुगेको छोराको लागी सुहाउदो ,शुसिल पढेलेखेकी केटी खोज्ने चलन भए पनि मधेशमा केटी पक्षले छोरीको लागी केटा खोज्ने चलन रहेको छ । उमेर पुगेको छोरीको विवाह गर्नका लागि अहीले अभिभावकहरु केटाको खोजीमा रहेको भेटिन्छन ।

छोरीको विवाह गर्न मधेशमा अझै पनि फलामको चिउरा चपाउनु जस्तै छ । आधुनिकताले जति नै काँचुली फेरी पनि भाषणमा जति भट्याए पनि छोरीको विवाह संग जोडिएको दाइजो मधेशमा कोखको घाँउ भएको छ जसको उपचार अझै भएको छैन बरु अझै बल्झिएको छ ।

जिल्लाको महाराजगंज नगरपालिकाको गैडहवा चोकमा एक चिया पसलमा पनि विवाह कै चर्चा थियो म पुग्दा । चियाको प्याला संगै त्यहि चिया पिउदै गरेको स्थानियहरुको कुराकानीमा मेरो ध्यान तानियो । उनीहरुको कुराकानीको गाँठी कुरा अलिबेर पछि मैले बुझें ती मध्ये एक जना रहेछन छोरीका बुबा उनी भन्दै थिए “लड्की के उमेर पहुँच गय, जहाँ जवा वहा १० लाख से कम कय बात नई करत हैं, अब कैसे होइ लड्की के सादी” मलाई यो भनाईले भाउन्न बनायो । छोरीको विहेको लागी १० लाख बढि बोकेर केटाको घर जानु पर्दो रहेछ । केटा पक्षले उसको छोरीसंग विहेको लागी १० लाख मागेको रहेको छ । मैले सोचें छोरी बरदान की अभिशाप ।

यो त एउटा उदाहरण मात्र हो । मधेशमा लगनको महिनामा धेरै छोरीका अभिभावको खेतबारी हुन्छ । देहातमा केटा पक्षलाई केटि पक्षले ठूलो रकम दाइजोको नाम तिर्नु पर्छ । दाइजो लेनदेन विषय के कति भन्ने कुरा विवाह अगाडी नै तोकिन्छ । गाउँकै ठूला बडा भन्नेहरुले दाइजोको रकम तोक्ने गरेको स्थानीयहरु बताउछ । मोलमोलाइ हुन्छ, केटाको पढाइलेखाई के कति छ सोही अनुसार केटी पक्षले दाइजो स्वरुप रकम दिनु पर्ने चलन मधेशमा छ ।

दाइजो मोलमोलाईको पनि तराइमा अघोषित मापदण्ड रहेको छ । मापदण्ड अनुसार केटा पक्षले बुहारी भित्राउछन, केटी पक्षले डोली अन्माउछन । मधेशमा विवाहको १५ दिन अगाडी तिलक कार्यक्रम हुन्छ , केटि पक्ष केटाको घरमा रसम लिएर जान्छन । खासमा रसम भनेकै दाइजो वापत केटि पक्षले केटा पक्षलाई बुझाउनु पर्ने रकम रहेको त्रियोगीनारायण कुर्मीले बताए । तिलकमा दाइजो लेनदेन भएन भने विवाह नै रोकिने उनले बताए ।

दाइजोको मापदण्ड अनुसार केटाको भागमा उसको पैतृक सम्पति मध्ये ५ विगाहा उसको भागमा पर्छ भने दाइजोको मुल्य ५ लाख भारति रुपैया, मोटरसाइकल, अन्य गरगहना दाइजो तोकिन्छ । सो भन्दा बढि नै जग्गाजमिन छ भने दाइजोको अनुपात पनि सोहि अनुसार बढ्ने स्थानियहरु बताउछन । यस्तै केटा पढे लेखेको छ भने १० लाखबाट दाइजो रकम सुरुवात हुने जानकारहरु बताउछन । संगै केटाले पढाइ गर्दा लागेको सम्पूर्ण खर्च समेत केटि पक्षले बुझाउनु पर्ने चलन रहेको छ ।

जिल्लाको कृष्णनगर, बहादुरगंज, महाराजगंज, तौलिहवाका नाम नबताउने शर्त केहि गन्यमान्य ,भद्र भलादी भनेर पहिचान बनाएका अगुवा नेताहरुले समेत दाइजो लिएको पाइएको छ । खास गरी बढि दाइजो लिनेहरुमा मधेशका ब्राम्हण, कुर्मि, यादव, सिंह,कशौधन,बनियाँ लगायतका जातिको नाम अग्र स्थानमा रहेको पाइन्छ ।

दाइजो दिने मामलामा केटि पक्षको पनि समाजमा आफ्नै फरक किसिमको रवाफ देखिन्छ । तराइका जमिन्दारहरुले आफ्ना छोरीको विहे बराबर हैसियतको केटा पक्ष संग गराउनका लागी पनि ठूलो रकम दाइजोमा दिने गरेका छन । कतिपय जिमिन्दारले आफ्नो बराबरको परिवार नपाएर छोरीको विहे नै नभएको पनि मधेशमा कैयौ उदाहरण भेट्न सकिन्छ ।

शिवराज न.पा. ६ का रन्जित सिंह चौधरीले पनि यहि फागुनमा विहे गर्दै छन । आफुले केटि पक्ष संग दाइजो भनेर केहि नमागेको उनले दावी गरे । म आफैमा सक्षम छु, दाइजो प्रथा मधेशको रोग हो, यसले धेरै अभिभावलाई पिरोलेको छ । दाइजो प्रथाको अन्त्य गर्न युवा पिडि लाग्नु पर्ने चौधरीले बताए । सिद्धार्थ क्याम्पस बुङचीमा स्नातक तह अध्ययनरत कसौधन थरकी एक युवतीले आफ्नो नाम नबताउने सर्तमा आफ्नो विवाहको लागी पनि १० देखि १५ लाख सम्म केटा पक्षले मागेको बताइन । उनले भनिन “अहिले त चार पाग्रे अनिवार्य छ, केटा डाक्टर, इन्जिनियर हो भने त २५ लाख, ३० लाख दाइजो माग्छन” उनले भनिन । मधेशी समुदायमा प्रेम विवाहालाई मान्यता नदिनुले दाइजो प्रथा मौलाउदै गएको उनले बताईन ।

मधेशी समुदायमा रहेको दाइजो प्रथा ठूलाबडाले सानको रुपमा लिने गरेको संघिय समाजवादी फोरम शिवराज नगर अध्यक्ष कृष्ण कुमार चौधरीले बताए । “जमिनदारले आफ्नो सान सौकत देखाउन दाइजो लिने र दिने गर्दा मध्यम तथा निम्न परिवारलाई यसले थिचेको छ” चौधरीले भने । मधेशी समुदायमा विवाहको समयमा भोज भतेर पार्टि सम्पूर्ण खर्च केटी पक्षले उठाउनु पर्ने साथै केटा पक्षले मागे जति दाइजो दिनु पर्ने अघोषित नियम रहेको समेत उनले उल्लेख गरे ।

कानुनले दाइजो लिनु दिनु अपराध हो भनेर उल्लेख गरेको भए पनि कान्र्यान्वन फितलो हुदाँ तराइमा दाइजो प्रथाले जरा गाडेको महिला अधिकार कर्मि मिना परियारले बताइन । दाइजो प्रथाले गर्दा अहिले समाजमा विभिन्न महिला माथी हिसांहरु हुने गरेको परियारले बताइन ।“ झाँगिदै गएको दाइजो प्रथाले बालविवाह, महिला हिंसा जस्ता अपराधहरु हुने गरेको छ” परियारले भनिन । दाइजो प्रथालाई निमुर्ल पार्न छोरी बचाउ, छोरी पढाउ अभियान चलाउनु पर्ने, कानुनलाई माथीबाटै कडाइ साथ कार्यान्वय गर्नु उनले बताइन ।

दाइजो प्रथालाई न्यूनिकरण गर्न मधेशमा युवाहरु आफै जागरुक हुन जरुरी देखिन्छ । पढेलेखेका युवा पुस्ताले दाइजो नलिने शर्तमा विवाह गर्नु पर्दछ । यसको सुरुवात जो कोही जहाँबाट गरे पनि हुन्छ । दाइजो दिने नै मन भए केटि पक्षले छोरीलाई सोही बराबराको छोरी कै नाम अंश दिनु पर्छ । नयाँ कार्यको थालनी अरु कसैले गर्ला भनेर पर्खनु भन्दा मधेशी युवा आफै सुरुवात गर्नु पर्ने देखिन्छ ।

दिपक के.सी.

के.सी. कपिलवस्तुका संवाददाता हुन् ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस