नवलपरासीमा विद्युत समस्या

नवलपरासी । मंगलबार बिहान परेको हावाहुरी,पानीसँगै परेको चट्याङले नवलपुरको प्रगतिनगर सवस्टेशनमा रहेको ट्रान्सफर्मरमा क्षति पुगेपछि सबैजसो ठाउँमा विद्युत सेवा अवरुद्ध भएको छ ।

हिजो पत्रकार सम्मेलन गरेर नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र, कावासोतिले औद्योगिक क्षेत्रमा ७ देखि १० दिनसम्म विद्युत सेवा ठप्प हुने जनाएको छ ।

वितरण केन्द्र कावासोतीका प्रमुख राजिवकुमार शर्माले चट्याङले ट्रान्सफर्मरमा क्षति पुगेपछि नवलपुरका गैंडाकोट, देवचुली, कावासोती, चोरमारालगायतका स्थानमा रहेका औद्योगिक कलकारखानामा १० दिनसम्म पूर्ण रुपमा विद्युत सेवा अवरुद्व हुने भएको जानकारी दिए।

ट्रान्सफर्मर मर्मतका लागि बुटवल र काठमाडौंबाट समेत प्राविधिक ल्याएर मर्मतका लागि प्रयास गरेपनि सफल नभएपछि विद्युत सेवा पहिल्यैकै अवस्थामा सञ्चालन्मा आउन लामो समय लाग्ने भएको हो ।

ट्रान्सर्फमर नयाँ फेर्नुपर्ने भएकाले विद्युत आपूर्ति सुचारु हुन ७ देखि १० दिनसम्म लाग्न सक्ने प्रमुख शर्माले बताए ।

तत्कालका लागि गैंडाकोटदेखि प्रगतिनगरसम्म भरतपुरबाट अस्थायी लाईन जोडेर प्रत्येक क्षेत्रमा दैनिक २ हाफ लाईन पालैपालो विद्युत दिने प्रयास गरिने भएको छ ।

कावासोती, चोरमारा लगायतका क्षेत्रमा पनि बर्दघाटतर्फको अस्थायी लाइनमार्फत दैनिक २/३ घण्टाकै दरले विद्युत सेवा प्रदान गरिने छ ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस