समृद्धिको लागि नयाँ शक्ति पार्टी आवश्यक

गोरखा,  । नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले माओवादीलाई एउटै कुरा बुझाउन पाँच वर्ष लाग्ने हुनाले उनीहरुले बिस्तारै कुरा बुझ्ने बताएका छन् ।

गोरखाको पालुङटार-९, शेरा बजारमा मंगलबार बिहान आयोजित चुनावी भेटघाट कार्यक्रममा बोल्दै संयोजक डा. भट्टराईले जनयुद्धको बेला शान्ति र संविधानको लाइन बुझाउन पाँच वर्ष लागेको स्मरण गरे । ‘शान्ति र संविधानको बाटोमा जानुपर्छ भनेर कुरा बुझाउन मलाई पाँच वर्ष लाग्यो,’ उनले भने, ‘उहाँहरु कुरा त बुझ्नुहुन्छ तर ढिला गर्नुहुन्छ ।

संयोजक भट्टराईले बाहुनले सुरुमा धोती नलगाई भात खान दकस मान्ने गरेको उदाहरण दिँदै माओवादीलाई पनि त्यस्तै अप्ठेरो भएको बताए । ‘सुरुमा बाहुनले धोती नलगाई खाना खाँदैनथे,’ उनले भने, ‘त्यस्तै अहिले माओवादीलाई रुपान्तरण हुन दकस लागेको छ ।’ उनले बाहुनले अहिले सहजै लुगा लाएरै भात खाएजस्तै माओवादी पनि यही बाटोमा आउने जिकिर गरे ।

व्यवस्था फेर्ने लडाईं सकिएको भन्दै समृद्धिको लागि नयाँ शक्ति पार्टी आवश्यक रहेको बहस आफूले सुरु गरेको भन्दै संयोजक भट्टराईले माओवादी पार्टीलाई नै रुपान्तरण गरेर नयाँ पार्टी बनाउन प्रस्ताव गरेको दावी गरे ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफूसँगको भेटमा बाबुरामले लिएको बाटो ठिक र जाने त्यहीँ नै हो भन्ने गरेको जिकिर गरे । ‘मेरो अप्रेशन भएको बेला प्रचण्डजीसँग केही भेटघाट भए, उहाँ एक्लै हुँदा खुलेर कुरा गर्नुहुन्छ,’ उनले भने, ‘तपाईंले लिएको बाटो ठिक छ, जाने त्यहीँ हो भन्नुहुन्छ तर जब बाहिर निस्कनुहुन्छ, बाबुरामले बाटो बिरायो भन्न थाल्नुहुन्छ ।’

एमालेसँग एकताको कुरा गरेको माओवादी भित्रभित्रै गलिसकेको उनले जिकिर गरे । ‘मेरो माओवादी साथीहरुसँग पनि कुरा भइरहेको छ,’ उनले भने, ‘उहाँहरु भित्रभित्रै गलिसक्नुभएको छ । बिस्तारै कुरा बुझ्नुहुन्छ र बाटो यही हो भनेर उहाँहरुलाई हामीसँग आउनुहुन्छ भन्ने मेरो विश्वास छ ।’

उनले एक फरक प्रसंगमा बिपीले जीवनमा तीनपटक हतियार उठाएको स्मरण गरे । ‘हो मैले निरंकुश व्यवस्थाको विरुद्ध र लोकतन्त्रको पक्षमा मैले हतियार उठाएकै हो, मैले नै आह्वान गरेको हो’, बिपीको भनाईं स्मरण गर्दै उनले भने, ‘मैले आफैं हतियार त चलाइनँ तर नेतृत्व गरेको हिसाबले मैले त्यसको नैतिक जिम्मा लिनुपर्छ, म लिन्छु ।’ उनले आफूले पनि बिपीबाट प्रेरित भएर त्यही भन्ने गरेको र जनयुद्धका राम्रा र नराम्रा दुवै पक्षको जिम्मा लिने बताए ।

मनमोहनको पाला व्यवस्था गरिएको वृद्धभत्ता ०६५ सालसम्म उही नै रहेकोमा आफूले बढाएको र ७५ वर्षबाट ७० वर्ष उमेरमा झारेको पनि उनले स्मरण गरे । ‘मैले वृद्धभत्ता बढाएँ र उमेर पनि ७५ बाट ७० वर्षमा झारेँ,’ उनले भने, ‘अर्को वर्ष ६५ वर्षमा झार्ने मेरो योजना थियो, तर म पदबाट बाहिरिनुपर्‍यो ।’ अहिले दिइने गरेको भत्ता पर्याप्त नभएको र वृद्धवृद्धालाई न्यूनतम् जीवनयापन गर्न आवश्यक रकम दिनुपर्नेमा उनले जोड दिए ।

साझा पोष्ट बाट ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस