पहिलो पल्ट काँग्रेस र राजपा बीच गठबन्धन

काठमाडौं । नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टी राजपा बीच गठबन्धन बन्ने भएको छ ।
साझा मुद्दामा सदनदेखि सडकसम्म एउटै मोर्चा बनाएर संंघर्ष गर्ने भन्दै दुई दलबीच सहमति भएको छ ।

असार २० गते काँग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा भएको दुई दलबीचको छलफलले साझा मुद्दा बनाएर सदन र सडकको संघर्ष अगाडि बढाउने सहमति भएको बताइएको छ ।

राजपा नेपालका अध्यक्षमण्डलका संयोजक अनिल झाले साझा मुद्दा र एजेण्डामा मिलेर संघर्ष गर्ने विषयमा काँग्रेससँग छलफल भएको स्वीकार गर्नुभयो ।

‘सरकारमा रहेका दलहरुले राजपा नेपालले उठाएको मुद्दालाई वेवास्ता गरेको छ। जो प्रतिपक्षमा छ उसले साथ दिन्छ भने गठबन्धन बन्छ’ उहाले भन्नुभयो, ‘सरकारमा रहेका दलले सेना परिचालन, मिडियासम्बन्धी विधेयकान राम्रो व्यवहार देखाएको छैन । लोकसेवा आयोगको विषयमा केही बोलिरहेको छैन ।’

सोहीअनुसार हिजो मंगलवार सर्लाही घटनाको विषयमा काँग्रेस र राजपाले एकसाथ सदन अवरुद्ध पारेको संयोजक झाले बताउनु भयो। यस्तै आज बुधबार पनि बैठकको सुरुमा नै कांग्रेस र राजपाका सांसदहरुले उभिएर विरोध जनाएका थिए ।

सचिव योगीले नाराबाजी कै बीचमा राष्ट्रियसभाबाट प्राप्त सन्देश पढेर सुनाउनु भएको थियो । कांग्रेस र राजपाले सर्लाही घटनाको छानविन गर्न संसदीय छानविन समिति गठन गर्न माग गर्दै आएका छन् ।

सत्तारुढ दल समाजवादी पार्टी, नेपालसँग एकीकरणका लागि वार्ता चलिरहेको बेला राजपा नेपाल र काँग्रेस नजिक हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

समाजवादी पार्टी सरकारमा भएपनि राजपा नेपाललाई कुनै प्रकारको सहयोग भएको छैन । राजपा नेपालले उठाउँदै आएको मागबारे सरकारप्रति फोरम नेपालले दवाव बढाउनुपर्ने भएपनि चुपचाप बसिरहेको राजपा नेपालले निष्कर्ष निकालेको छ ।

राजपा नेपालका एक नेताले भने, ‘समाजवादी पार्टी,सरकार छाड्ने मनस्थितिमा छैन । तर, सरकारमा भएर पनि संविधान संशोधन, लाल आयोगको प्रतिवेदन, रेशम चौधरीको मुद्दा, आन्दोलनकारीमाथिको मुद्दा फिर्ता लगायतका विषयमा सरकारमाथि दवाव बनाउनुपर्ने पर्ने हो । त्यो पनि गर्न सकेको छैन । आफू सरकारमा बस्ने अनि राजपा नेपालसँग एकीकरण गर्ने भनि हल्ला गरेर अल्झाएर राखेको छ ।’

सोही बैठकले काँग्रेससँगको सहकार्यलाई निरन्तरता दिँदै अगाडि बढ्नुपर्ने निष्कर्ष निकालेको बताइएको छ ।

राजपा नेपालले कम्युनिस्ट पार्टीसँग सहकार्य गरेर यसअघि गठबन्धन बनाएको भएपनि काँग्रेससँग भने कहिल्यै गठनन्धन बनाएको थिएन।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस