मञ्चमै कालोझण्डा देखाएपछि रोकिए प्रधानमन्त्री

बुटवल । जितगढी किल्ला महोत्सवको उद्घाटन गर्न हिजो (शनिबार) बुटवल आएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाइएको छ । जितगढी महोत्सव उदघाटन समारोहलाई सम्बोधन गर्न सुरु गरेलगत्तै एक जना व्यक्तिले दर्शक दिर्घाबाट अगाडि बढ्दै कालो झण्डा देखाएका थिए।

इलाका प्रहरी कार्यायल बुटवलका डिएसपी डिलबहादुर मल्लले कालो झण्डा देखाउने ती व्यक्ति बुटवल ११ मजुवाका रुद्रमणी घिमिरे रहेको बताए। घिमिरेलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान सुरु गरिएको छ।

जितगढी किल्ला एउटा गढी भएकाले यसको सुरक्षाको मुल नेतृत्व नेपाली सेनाले गरेको प्रहरीले जनाएको छ। सुरक्षाकै कारण देखाउदै पत्रकारहरुलाई समेत मञ्चदेखि टाढै राखिएको थियो।

तीन तहको सुरक्षा व्यवस्था गरिएको भनिएको कार्यक्रममा घिमिरेले ‘मेरो देश प्राण भन्दा प्यारो छ, उजिर सिंह जिन्दाबाद’ भन्ने नारा लगाउँदै मञ्चको अगाडि बढेर कालो झण्डा देखाएका थिए।

कालो झण्डा लिएर घिमिरे अगाडि बढेपछि प्रधानमन्त्री केहीबेर रोकिए। तत्काल प्रहरीले ती व्यक्तिलाई पक्राउ गरेपछि प्रधानमन्त्री ओली मुसुक्क हाँस्दै ‘कसैले उहाँलाई पठायो होला, केही छैन’ भन्दै फेरि भाषण सुरु गरेका थिए।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस