‘सरकारप्रति जनताको विश्वास घट्दो’

पोखरा । सरकारप्रति जनताको विश्वास घट्दै गइरहेको कांग्रेस सभापति शेरबहादुर देउवाले बताएका छन। उनले एक वर्षमा पनि सरकारले सोचेजति काम गर्न नसकेकाले जनताले विश्वास गर्न नसकेको बताए।

देउवाले कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ सार्दीखोलामा कांग्रेस वडा एकाइ समितिले निर्माण गरेको बिपी स्मृति भवनको शुक्रबार उद्घाटन गर्दै सरकारले जनताको मन जित्न नसकेको बताए।

बालुवाटारको जग्गा किनबेच भएकोे विषयलाई गम्भीर रुपमा लिएको उनले बताए । सभापति देउवाले कर र भ्रष्टाचार बढाएको सरकारले बलात्कारीसमेत लुकाएको आरोप पनि लगाए।

सार्दीखोलामा निर्माण गरिएको बिपी स्मृति भवनले अन्य जिल्लालाई पनि भवन निर्माणका लागि उत्साहित बनाउने विश्वास उनले व्यक्त गरे। कांग्रेस केन्द्रीय सदस्य अर्जुन जोशीले आन्दोलनको नेतृत्व गरेको, संविधान बनाएको र तीन तहको निर्वाचन गराएको कांग्रेस कमजोर नरहेको बताए।

अर्का केन्द्रीय सदस्य धनराज गुरुङले सबै मिलेर मात्र राष्ट्रियता बलियो बनाउन सकिने उल्लेख गरे। उनले मिठो कुरा बाँडेको र मिठो सपना देखाएको कम्युनिस्ट सरकारले केही गर्न नसकेको टिप्पणी गरे।

कास्की सभापति कृष्ण केसीले सरकारका कारण ज्यादती, मनोमानी र अराजकता बढेकाले भोट दिएका जनतासमेत वाक्क भएको बताए। कार्यक्रममा भवन निर्माणका लागि आर्थिक सहयोग गरेकालाई सम्मान गरिएको थियो।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस