अनुगमन नगरेरै सम्पन्न हुन्छन् योजना

रोल्पा । रोल्पालगायत पाँच नम्बर प्रदेशका आधा दर्जन जिल्ला हेर्ने गरी दाङको लमहीमा स्थापना गरिएको ‘जनतासँग तटबन्धन’ फिल्ड कार्यालयका योजनाहरू कार्यकर्तालाई पाल्नका लागि प्रयोग भएको गुनासो सुनिन थालेको छ।

यो आर्थिक वर्षमा रोल्पाभित्र डेढ दर्जनभन्दा बढी स्थानमा करिब आठ करोड रकम खर्च गरी तटबन्धन गरिएको छ। आवश्यकता पहिचान नगरी उर्जा तथा जलस्रोत मन्त्रालयबाट सोझै स्थान, योजना र रकम विनियोजन भएको कार्यालयले जनाएको छ। उपभोक्ता समितिमार्फत सम्पन्न हुँदै गरेका र सम्पन्न भएका योजनाहरू प्राविधिकले एक पटक हेरेर ठाउँ नापेपछि कार्यालयबाट कोही फर्केर आउने गरेका छैनन्।

अनुगमनबिना पास भइरहेका कतिपय योजनामा ठूलो रकमको चलखेल भइरहेको स्थानीयको गुनासो छ। ‘यो जिविसको कार्यक्रम होइन, त्यसैले जनप्रतिनिधिको अनुगमनको जरुरी छैन। हाम्रा प्राविधिकले हेरेपछि भइहाल्छ,’ जनतासँग तटबन्धन कार्यालयका डिभिजन प्रमुख हिमाल पौडेलले भने ‘सामान्य २५÷३० लाखका साना योजना हुन्। अहिले हामी सबै व्यस्त छौं। सधैं गएर काम हेर्न भ्याइँदैन नि।

मन्त्रालयले नै टुक्रे योजना मात्र पठाउँछ। जालीभित्र के भर्छन् भनेर सबै हेर्न कहाँ भ्याइन्छ।’ उनका अनुसार मन्त्रालयले माथिबाट योजना जबर्जस्ती पठाएका कारण कार्यक्रम सम्पन्न गर्न गाह्रो भएको हो।- नागरिक समाचार

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस