राजनीतिक दस्तावेजमा नेकपाको सहमति

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी(नेकपा)ले एक वर्षदेखि थाती राखेको राजनीतिक दस्तावेजमा सहमति जुटाएको छ । प्रधानमन्त्री निवासमा नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आइतबार भएको छलफलबाट दस्तावेजमा सहमति जुटेको हो ।

अध्यक्ष प्रचण्डले राजनीतिक दस्तावेजमा सहमति भएको र सोमबार नै प्रकाशनमा समेत जाने जानकारी दिनुभएको छ ।

नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी सङ्गठनको एकता महाधिवेशनलाई आइतबार सम्बोधन गर्दै उहाँले भन्नुभयो, “एउटा ठूलो काम हामीले आज पूरा गरेका छौँ । एक वर्षदेखि पूर्ण रूपले सहमति भएर पनि प्रकाशनमा नआएको राजनीतिक प्रतिवेदन टुङ्ग्याएका छौँ र भोलि प्रकाशनमा जाँदै छ । ”

उहाँले भन्नुभयो, “राजनीतिक प्रतिवेदन नहुँदा पार्टीको विचार, सिद्धान्त, सङ्गठनात्मक नीति र विधि कुन आधिकारिक हो, कुन नेताले के भनेको हो, कुन पार्टीको लाइन हो, कुन होइन त्यसमा ‘कन्फ्युज’ थियो । त्यो ‘कन्फ्युजन’ हटेको छ । ” उहाँले राजनीतिक दस्तावेज प्रकाशन भएर सबैको हातहातमा जाने बताउँदै सबैले अध्ययन गरेपछि आएको प्रतिक्रियाका आधारमा पुनः सच्याउन सकिने धारणा राख्नुभयो ।-गोरखापत्र दैनिक

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस