१ करोड ६५ लाख भाडा तिरेर राष्ट्रपति भण्डारी चीन जाने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणमा राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज चार्टर्ड गरिने भएको छ । निगमको एयरबस ३२० जहाजमा राष्ट्रपति चीन जाने निश्चित भएको हो । यो एक सय ५८ सिटे जहाज हो ।

यही ११ वैशाखदेखि सुरु हुने भ्रमणका लागि जहाज पठाउने विषयमा आवश्यक तयारी गरिरहेको निगमका सहप्रवक्ता नवराज कोइरालाले जानकारी दिए । उनले भने ‘भिभिआइपी उडान भएकाले त्यसको प्रक्रियाअनुसार हामीले तयारी गरिरहेका छौँ ।’

परराष्ट्र मन्त्रालयको समन्वयमा जहाज पठाउन लागेको निगमले जनाएको छ । भिभिआइपी उडानमा वरिष्ठ क्याप्टेनसहितको पाइलटको टोली र क्याबिन क्रुको टोली पठाउने तयारी निगमले गरेको छ ।

निगमका अनुसार राष्ट्रपतिको भ्रमणको पहिलो दिन काठमाडौँबाट सियानसम्मको उडान हुने छ । त्यसैगरी, सियानबाट राष्ट्रपतिलाई बेइजिङमा छोडेपछि जहाज काठमाडौ फर्कने तालिका रहेको निगमले जनाएको छ । त्यस्तै, उनलाई लिन फेरि जहाज जानेछ ।

तिन दिने चार्टर्ड उडानको लागत १ लाख ५० हजार अमेरिकी डलर अर्थात करिव १ करोड ६५ लाख रुपैयाँ हुने निगमका एक अधिकारीले जानकारी दिए । यो रकम सरकारले निगमलाई दिने पनि ती अधिकारीले बताए । -नयाँ पत्रिका

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस