पाटन संयुक्त क्याम्पसको ५१ रोपनी जग्गामा व्यक्तिको दाबी

काठमाडौं  । महँगा सरकारी जग्गा व्यक्तिको नाममा ल्याउन भूमाफिया सक्रिय छन । ललितपुरको पाटन संयुक्त क्याम्पसकै ५१ रोपनी जग्गा व्यक्तिले आफ्नो दाबी गरेर मुद्दा दायर गरेका छन ।

त्यस्तै गोठाटारमा रहेको १४ रोपनी १२ आना सार्वजनिक जग्गा पनि व्यक्तिले दाबी गरेर मुद्दा दायर गरिएको छ । एक गुठीले समेत सो जग्गा आफ्नो मातहत ल्याउने प्रयास गरिरहेको छ । भक्तपुरको सुडालमा रहेको ७१ रोपनी सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गर्न एउटा समूह नै योजनाबद्ध रूपमा लागेको छ ।

प्रहरीकै जग्गामा समेत भूमाफियाले आँखा लगाएका छन । काभ्रेको पनौतीमा तालिम केन्द्र बनाउन सरकारले प्रहरीलाई दिने निर्णय गरेको २७ रोपनी जग्गा दर्ता गर्न छुटेको दाबी गर्दै स्थानीय सर्वोच्चसम्म पुगेका छन ।

त्यस्तै चाबहिलको ओम अस्पतालपछाडि धोबीखोला किनारको सात रोपनी जग्गाको मुद्दा पनि सर्वोच्चमा छ । सर्वोच्चले त्यहाँ एक व्यक्तिले बनाएको घरले चर्चेको जग्गाबाहेक अरू सार्वजनिक हुने फैसला गरेको छ । ती व्यक्तिले बाँकी जग्गा पनि आफ्नो हुनुपर्ने भन्दै मुद्दा हालेका छन । त्यस्तै, कपिलवस्तुको वाणगंगा नदी किनारको ८९ बिघा जग्गासमेत व्यक्तिको नाममा दर्ता गर्न मुद्दा दायर गरिएको छ ।

नवलपरासीको कावासोतीमा १९ बिघा, महोत्तरीको बर्दिबासमा १९ बिघा र तनहुँमा ३६ रोपनी सार्वजनिक जग्गा दाबी गरी व्यक्तिहरूले मुद्दा दायर गरेका छन । -नयाँ पत्रिका

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस