राष्ट्रपति भण्डारीले चीनको राजकीय भ्रमण गर्ने

बेइजिङ  । राष्ट्रपति विद्यादेवी भण्डारीले ११ वैशाखदेखि चीनको राजकीय भ्रमण गर्ने भएकी छिन । यो नेपाली राष्ट्रपतिले गर्ने चीनको पहिलो राजकीय भ्रमण हुनेछ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लु काङले शुक्रबार बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति भण्डारीको भ्रमण राजकीय हुने जानकारी गराएका हुन ।

परराष्ट्र मन्त्रालयले पनि शुक्रबार विज्ञप्ति जारी गर्दै राष्ट्रपति भण्डारीले चिनियाँ समकक्षी सी जिनपिङको निमन्त्रणामा ११ देखि १९ वैशाखसम्म चीनको राजकीय भ्रमण गर्ने जनाएको छ ।

भ्रमणका क्रममा राष्ट्रपति भण्डारी १२ देखि १४ वैशाखसम्म चीनको राजधानी बेइजिङमा हुने बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई)को सम्मेलनमा सहभागी हुने छिन ।

चिनियाँ राष्ट्रपति सीले राष्ट्रपति भण्डारीको सम्मानमा रात्रिभोज पनि दिनेछन । सम्मेलनमा ३७ देशका राष्ट्र तथा सरकार प्रमुख सहभागी हुने चिनियाँ विदेश मन्त्रालयले जनाएको छ ।

राष्ट्रपति भण्डारीले नेतृत्व गर्ने भ्रमणदलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलसहितका अधिकारी रहने परराष्ट्र मन्त्रालयले जनाएको छ । -नयाँ पत्रिका

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस