नजिकिँदै संसद्को बर्खे अधिवेशन

काठमाडौं । संसद्को बर्खे अधिवेशन आह्वान गर्ने समय नजिकिँदै जाँदा कानुन मन्त्रालयले नयाँ कानुनका लागि सहमति दिने क्रम जारी राखेको छ। वैशाख २० गतेपछि बस्ने गरी बर्खे अधिवेशन आह्वान हुन लागेको छ। अधिवेशन बोलाउने बेलासम्म २२ वटा विधेयकमा सहमति दिइसक्ने कानुन मन्त्रालयले जनाएको छ। हिउँदे अधिवेशनमा संसद्मा प्रस्तुत ३२ विधेयक विचाराधीन अवस्थामा छन।

संविधानको धारा २३४ बमोजिम संघ, प्रदेश र स्थानीय तहबीच समन्वयसम्बन्धी विधेयकले बुधबार संसद् सचिवालयमा प्रवेश पाएको छ। यसलाई राष्ट्रिय सभामा दर्ता गर्ने तयारी गरिए पनि दर्ता भने भएको छैन। यो विधेयकमा प्रधानमन्त्रीको अध्यक्षतामा मुख्यमन्त्रीसहित स्थानीय तहका प्रतिनिधि सदस्य रहेको परिषद् गठन गर्न प्रस्ताव गरिएको छ। परिषद्ले प्रदेश र स्थानीय तहको बजेटसम्बन्धी छलफल गर्ने छ।

प्रदेश र स्थानीय तहलाई आवश्यक बजेटमाथि छलफल गरी यसले सुझाव दिनेछ। साझा सूचीका सबै कानुनलाई बर्खे अधिवेशनबाट पारित गर्ने तयारी भएको कानुनमन्त्री भानुभक्त ढकालले बताए। -नागरिक दैनिक

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस