आज नेपाल भ्रमण वर्ष २०२० को ‘सफ्ट लन्चिङ’

पोखरा । नेपाल सरकारले घोषणा गरेको ‘नेपाल भ्रमण वर्ष २०२०’ को ‘सफ्ट लन्चिङ’ आज पर्यटकीय नगरी पोखरामा हुँदै छ । फेवाताल किनारमा एक कार्यक्रममार्फत भ्रमण वर्ष सुरु हुनेछ ।

नयाँ वर्ष ०७६ को पूर्वसन्ध्यामा सरकारले भ्रमण वर्षको सुरुवात गर्न लागेको हो । पोखराको फेवातालस्थित कोमागाने पार्कमा शनिबार साँझ पाँच बजे विशेष कार्यक्रम गरी भ्रमण वर्ष सुरु हुने नेपाल भ्रमण वर्ष २०२० कार्यक्रम कार्यान्वयन समितिका सदस्य एवं नेपाल पर्यटन बोर्डका सदस्य विप्लव पौडेलले जानकारी दिए । उद्घाटनअघि पोखराको बिरौटाचोक, रत्नचोक र बाराहीचोकबाट विभिन्न झाँकीसहित र्‍याली निकालिने पनि उनले जनाए ।

कार्यक्रमको आयोजना संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गरेको छ । मन्त्रालयले विभिन्न स्थानीय संघसंस्थासँग मिलेर कार्यक्रमलाई भव्य बनाउने तयारी भएको पनि पौडेलले बताए । पोखराबाट भ्रमण वर्ष सुरु हुँदा यसलाई पर्यटकीय राजधानी बनाउने अभियानमा टेवा पुग्ने उनको भनाइ छ । -नयाँ पत्रिका

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस