जनजाति संग्रहालय विवादमा

बुटवल । बुटवलको हिलपार्कमा दुई करोड लागतमा बन्ने भनिएको जनजाति संग्रहालय विवादमा परेको छ । संग्रहालय निर्माणका लागि मुख्य सरोकारवाला निकाय नेपाल आदिवासी जनजाति महासंघ रुपन्देहीसंग कुनै सहमति र सहकार्य नगरी व्यवसायिक उद्देश्यबाट मात्रै प्रेरित भएको भन्दै जिल्लामा क्रियाशील ११ वटा आदिवासी जनजातिका संस्थाहरु संग्रहालय निर्माण प्रकृयाबाट अलग्गिएको घोषणा गरेका छन् ।
जनजाति संग्रहालय बनाउन हङकङमा रहेका आदिवासी जनजाति नेपालीहरुले संकलन गरेको ४७ लाख रुपैयां चार दिनअघि बुटवल हिलपार्क परिषदलाई हस्तान्तरण गरिएसंगै विवाद सतहमा आएको हो ।
आदिवासी जनजाति महासंघ रुपन्देही र त्यस मातहतका १० वटा आदिवासी जनजाति संस्थाले आदिवासी जनजाति संग्रहालय नामाकरण गरी निर्माण गरिनुपर्नेमा नियोजित रुपमा आदिवासी शब्द हटाइएको, संग्रहालय निर्माण, निर्माणपछि स्वामित्व, संचालन तथा त्यसबाट प्राप्त हुने आम्दानीमा आदिवासी जनजाति महासंघको भूमिका, जिम्मेवारी केही पनि स्पष्ट नपारी बाइपास गरेर बुटवल हिलपार्क परिषद एकलौटी ढंगले अघि बढेकाले आफूहरुले विमति जनाई अलग्गिनुपरेको महासंघका अध्यक्ष दलबहादुर छन्त्यालले बताए । ‘आदिवासी जनजाति संग्रहालय बनाउने माग र योजना जस्ले अगाडि सा¥यो,उही संस्थालाई बाइपास गरी केवल व्यवसायिक उद्देश्य राखेर हिलपार्क परिषद अघि बढेकोमा हाम्रो विमति छ’–अध्यक्ष छन्त्यालले भने–‘मुख्य सरोकारवाला संस्थासंग अर्थपूर्ण र तात्विक सहकार्य नगरी बनाइने संग्रहालय सांच्चिकै आदिवासी जनजातिको विविधतालाई झल्काउने हुन्छ भन्नेमा विश्वास गर्न सकिन्न ।’ संग्रहालय निर्माणका लागि १० वर्ष अघि लक्षित वर्ग (आदिवासी जनजाति ) का लागि तत्कालीन जिल्ला विकास समिति, बुटवल नगरपालिकाले गरी १० लाख रुपैयां विनियोजन गरी बुटवल उपमहानगरपालिका वडा नंं ७ हिलपार्कको करिब एक कठ्ठा जग्गामा फाउण्डेसन निर्माण र रिटेनिङ वाल लगाउने काम भएपनि त्यसयता वजेट अभावमा अरु काम हुन सकेको छैन । संग्रहालय निर्माणका लागि छुट्टाइएको जग्गा हिलपार्क परिषदको नभई लक्ष्मी र शिवनगर सामुदायिक वनको भएकाले परिषदले संग्रहालय निर्माणमा एकलौटी नेतृत्व र स्वामित्व लिन खोज्नु जायज र न्यायोचित नभएको नेपाल मगर संघ रुपन्देहीकी अध्यक्ष गीता सारु मगरले बताइन् । ‘जनजाति संग्रहालय निर्माणको नेतृत्व आदिवासी जनजाति महासंघले गर्दा बढी न्यायपूर्ण र स्वभाविक हुन्छ भन्ने हाम्रो मान्यता हो’–सारुले भनिन्–‘संग्रहालय बन्नु ठूलो कुरा होइन, मुख्य सरोकारवाला समुदायको संस्थागत सहभागिता र सहकार्य महत्वपूर्ण हो,त्यसो हुन नसके समस्या आउन सक्छ ।’ आदिवासी जनजाति समुदायका हरेक पक्षको संरक्षण,सम्बद्र्धनका लागि पैरवी गर्ने आधिकारिक संस्था आदिवासी जनजाति महासंघ हुंदाहुंदै उसको अनुमति र सहमति विना जनजातिको नाम भजाएर केही व्यक्तिको अगुवाईमा देश विदेशमा आर्थिक संकलन उठाइएकोप्रति गम्भीर ध्यानाकर्षण जनाउंदै अब आइन्दा रकम नउठाउन र नदिन महासंघले आग्रह गरेको छ । ‘जनजातिको नाममा अरु कुनै संस्थाले रकम उठाउंदै हिंडेकोमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ यसको घोर भत्र्सना गर्दछौं’–महासंघले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ–‘अब उप्राप्त महासंघको आधिकारिक निर्णयविना कुनै पनि नाममा आर्थिक सहयोग नउठाउन र नदिन सम्बन्धित सबैमा अपील गर्दछौं ।’ संग्रहालय निर्माण प्रकृयामा विमति जनाउंदै अलग्गिने संस्थाहरुमा नेपाल आदिवासी जनजाति महासंघ, नेपाल मगर संघ,तमु ह्युल छोंज धिं, थारु कल्याणकारिणी सभा, नेपाल छन्त्याल संघ, नेपाल तामाङ घेदुङ संघ, थकाली सेवा समिति,भुजेल सेवा समाज, नेवा पुचः, कुसबडिया उत्थान संघ,कुमाल सुधार समिति र किंरात राई यायोक्खा रहेका छन् । बुटवल हिलपार्क सहयोग समितिको नाममा हङकङमा संकलन गरिएको ४७ लाख रुपैयांको चेक यही जेठ २६ गते बुटवल हिलपार्क परिषद्का अध्यक्ष भिम तुलाचनलाई बुटवल हिलपार्क सहयोग समिति हङकङका संयोजक हेमराज थापा लगायतको समूहले हस्तान्तरण गरेको थियो ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस