चाडपर्वमा यातायात व्यवस्थित गर्दै प्रदेश सरकार

  • प्रदेशस्तरीय सार्वजनिक यातायात व्यवस्था अनुगमन समिति गठन
  • बुटवल ।प्रदेश ५ सरकारले चाडपर्वको समयमा यात्रुलाई सहज बनाउने गरी यातायातको व्यवस्थापन गर्ने भएको छ । यातायातलाई व्यवस्थित बनाउन प्रदेशस्तरीय सार्वजनिक यातायात व्यवस्था अनुगमन समिति गठन गरिसकेको छ भने सो समितिमार्फत अन्य तयारी भइरहेको छ ।

    प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले सुरक्षा निकाय, सडक तथा यातायातसँग सम्बन्धित सरकारी निकायदेखि यातायात व्यवसायीसँग परामर्श गरी आवश्यक व्यवस्थापनमा जुटेको हो । बुधबारको बैठकले प्रदेशस्तरीय सार्वजनिक यातायात व्यवस्था अनुगमन समिति गठन गर्नुका साथै विभिन्न महत्वपूर्ण निर्णयसमेत गरेको छ ।

    बैठकले सडकको निर्माण, मर्मतसम्भार तथा सुधार कार्यलाई निरन्तरता दिने र आउँदै गरेको विजयादशमीलगायतका चाडपर्वमा यातायात सेवा सञ्चालनलाई प्रभावकारी बनाएर सेवाग्राही तथा सवारीमैत्री वातावरण कायम राख्ने, सडक आवागमनलाई सुरक्षित र सहज बनाउन सम्बन्धित सबैले पहल गर्ने निर्णय गरेको छ ।

    तोकिएको भाडादरमा अग्रिम टिकट बुकिङको व्यवस्था तथा यातायातका साधनको सहज उपलब्धताका लागि यातायात व्यवसायीहरूले प्रतिबद्धता व्यक्त गरेका छन् । बैठकले भारतसँग जोडिएका नाकाहरूबाट चाडपर्व मनाउन आउने यात्रुलाई सुरक्षित र सहज यात्राको वातावरण तयार गर्न अन्तरसीमा समन्वयका लागि सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूबाट व्यवस्थापन गर्ने निर्णयसमेत गरेको छ ।

    विजयादशमीको दिन यातायात सेवा सञ्चालनको व्यवस्था गर्ने यातायात व्यवसायीहरूबाट प्रतिबद्धता व्यक्त गरिएको बैठकले यातायात व्यवस्था कार्यालय र सेवा कार्यालयहरूलाई आ–आफ्नो कार्यक्षेत्रभित्र सरोकारवालाहरूसमेतको प्रतिनिधित्व हुने गरी यात्रु सहायता कक्ष सञ्चालन तथा अनुगमन संयन्त्र निर्माण गरी सार्वजनिक यातायात सञ्चालनको प्रभावकारी व्यवस्थापन गर्न निर्देशन दिने निर्णय गरेको छ ।

    कुनै पनि कारणले सडक अवरुद्ध हुनुहुँदैन : मन्त्री चौधरी
    भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले उपस्थित सरोकारवालाहरूसँग अहिलेको अवस्थाबारे जिज्ञासा राखेका थिए । सडकको अवस्थादेखि सुरक्षा प्रबन्धका बारेमा सरोकारवालाहरूले बैठकमा जानकारी गराएका थिए । सरकारका प्रवक्तासमेत रहेका भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले चाडपर्वको समयमा पहिरो, खाल्टाखुल्टी अथवा कुनै पनि कारणले सवारीसाधन रोकिने अवस्था आउन नदिन अहिल्यैदेखि सरोकारवाला निकाय सचेत भएर लाग्न निर्देशन दिएका छन् ।

    चौधरीले दुर्घटना हुन नदिने गरी यातायात सञ्चालनको प्रबन्ध मिलाउन सबैको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्दै अहिल्यैदेखि प्रहरीसहित सबै निकाय लागिपरेमा चाडपर्वका समयमा यात्रुहरू लुटिनेदेखि अन्य समस्या आउन सक्नेतर्फ सचेत रहन सम्बन्धित सबैको ध्यानाकर्षण गराए । कार्यक्रममा प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले दुर्घटना हुन नदिनेदेखि शान्तिसुरक्षाको व्यवस्था मिलाउन प्रदेश सरकार लागिपरेको बताए ।

    प्रदेश प्रहरी कार्यालयका डिआइजी सुरेशविक्रम शाहले चाडपर्वका समयमा धेरै स्रोत र साधन परिचालन गरेर शान्तिसुरक्षा कायम गर्न विशेष ध्यान दिइने बताए । उनले यातायात व्यवसायीहरूले यातायात सञ्चालन गर्दा यात्रुको विशेष ध्यान दिनुपर्ने बताए । उनले यातायातका साधनमा यात्रा गर्दा भिडभाड हुने र त्यस्तो अवस्थामा यात्रुका झोलादेखि अन्य सामान छुट्न नदिन यातायात साधनका कर्मचारीले विशेष ध्यान दिनुपर्ने बताए ।

    मनपरी भाडा लिए कारबाही गर्ने चेतावनी
    रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थ, नवलपरासीका शम्भुप्रसाद मरासिनी तथा कपिलवस्तुका गजेन्द्रबहादुर श्रेष्ठले सीमा क्षेत्रको सुरक्षा अवस्था, भारतबाट आउने नेपालीको शान्तिसुरक्षादेखि सहज यात्राका लागि आफूहरूले विशेष ध्यान दिने बताएका थिए । त्यस्तै, उनीहरूले कानुनविपरीत भाडा नलिन यातायात व्यवसायीलाई सुझाब दिँदै चाडपर्वका समयमा विगतमा पाउँदै आएको सुविधा कटौतीका काम गरेमा कानुनबमोजिम कारबाही गर्ने चेतावनी व्यवसायीहरूलाई दिएका थिए । सशस्त्र प्रहरीका डिआइजी नारायणदत्त पौडेलले प्रदेशभरका सबै जिल्लामा विशेष सुरक्षा योजना बनाएर काम गरिने बताए ।nayapartik

    बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

    प्रतिकृया दिनुहोस