मकैका परिकार बनाएर मनग्य आम्दानी

तुलसीपुर । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना(मकै सुपरजोन कार्यक्रम) लागू भएको भएको दाङको देउखुरी क्षेत्रमा एक कृषकले मकैका विभिन्न परिकार बेचेर मनग्य आम्दानी गर्न थालेका छन् । राप्ती गाउँपालिका–४ पिपरखुट्टीका गोरबहादुर कुमालले मकैको विभिन्न परिकार बेचेर आम्दानी गर्दै आएका छन् ।

उक्त परियोजनाले मकै उत्पादनका साथै त्यसका परिकार बनाउन प्रोत्साहन गरेकाले जुनकिरी कृषक समूह पिपरखुट्टीको पहलमा आफू यस कार्यमा सम्लग्न हुँदै आएको उनले बताए । “ अहिले मकैका परिकार बनाएर मनग्य आम्दानी गर्दै आएको छु”, उनले भने ‘ उक्त समूहले मलाई मकैका परिकार बनाउन सिकाएको हो ।”

कुमालले मकैबाट अहिले सुप, मोमो, पपकर्ण, केक, हलुवा, रोटी, फ्राई चाट, उसिनेको, पोलेको, फ्राई र भुटेको मकै, आटो, ढिडोलगायत परिकार बनाउने गरेका छन् । होटल तथा रेष्टुरेन्टमा पाइने परिकारभन्दा मकैको परिकार धेरै सस्तो रहेको र यसले मधुमेह, ग्याष्टिक, क्यान्सरजस्ता रोगबाट बच्न पनि यस्ता परिकार उत्तम हुनाका साथै बिकाउ पनि हुने उनले बताए ।

ती परिकार स्वास्थ्यका लागि उत्तम र स्वादिष्ट हुनेभएकाले धेरै बिक्नाका साथै दैनिक रू एक हजारसम्म कुमालले आम्दानी गर्दै आएका छन् । एक पटक मकैको परिकार खाएपछि ग्राहकहरु पटकपटक आउने गरेको समेत उनको भनाइ थियो । ग्राहकले सबैभन्दा बढी मोमो, सुप र फ्राई मन पराउने गरेका छन् ।

भारतको पञ्जावमा करीब १४ वर्ष कुकको काम गर्नुभएका कुमालले स्वदेशमै केही गर्नुपर्छ भन्ने सोचका साथ मकैका परिकार बनाएर बेच्न थाल्नुभएको हो । मकैका परिकारमात्रै बिक्री गर्ने ठूलो होटेल सञ्चालन गर्ने सोच रहेको उनले बताए । रासस

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस