डिप बोरिङ मार्फत खानेपानी वितरण सुरु

गुल्मी  । खानेपानी अभाव भएपछि जिल्ला सदरमुकाम तम्घास लगायत स्थानमा डिप बोरिङ मार्फत वितरण सुरु भएको छ । खानेपानी संकट बल्झिँदै गएपछि अहिले जिल्लाका विभिन्न स्थानमा डिप बोरिङमार्फत खानेपानी संकलन तथा वितरण थालिएको हो ।

अघिल्ला वर्षहरूमा चैतदेखि जेठसम्म तम्घासमा खानेपानी समस्या हुने गरेकोमा पछिल्ला वर्ष झन् धेरै अभाव भएपछि डिप बोरिङको संख्या बढेको हो । खानेपानी संकट भएपछि होटेल व्यवसायी, भाडाका घरमा बसेका नागरिक, अस्पताल, ठूला कार्यालय र जिल्ला कारागारमा समेत खानेपानी संकट हुने गरेको छ ।

अहिले उपल्लो तम्घासमा दुई स्थानबाट पानी तानिएको छ । यसका कारण पाँच सय २१ उपभोक्ता प्रत्यक्ष लाभान्वित भएका छन् । खानेपानीको सहज आपूर्ति र पिउनयोग्य देखिएपछि वडा ८ को बसपार्क र खानीगाउँमा पनि डिप बोरिङमार्फत खानेपानी वितरण थालिएको छ । वडा ८ सहित अन्य वडामा गरी तत्काल चार सय २२ घरधुरीमा खानेपानी व्यवस्थापन गरिएको वडाध्यक्षले बताए ।

पर्याप्त पानी हुने सदरमुकाम तम्घासमा समेत पानी अभाव हुने गरेको छ । बजारका धेरैलाई खानेपानी आपूर्ति गराउने तीनधारा, चारीखोला र चिदिचौरका खानेपानी मुहान सुक्दै गएका छन् । खानेपानी सुक्दै गएपछि रेसुंगा नगरपालिकाले बजार क्षेत्रमा ट्यांकरमार्फत खानेपानी वितरण गरेको थियो ।

रेसुंगा नगरपालिकाले ट्यांकरमार्फत नागरिकलाई प्रतिलिटर ५० पैसाका दरले खानेपानी वितरण गरेको नगरपालिकाका सूचना अधिकारी शंकरप्रसाद गौतमले बताए । अहिलेसम्म करिब एक सय ५० ट्यांकर पानी वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

खानेपानी संकट समाधान गर्न रेसुंगा नगरपालिकालाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरी तीन चरणका योजना अगाडि सारेको नगरपालिकाका मेयरले बताए । नगरपालिकाले दीर्घकालीन समाधानका रूपमा मजेङ खानेपानी योजना अगाडि बढाएको छ ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस