नेपाली युवा दुबईमा रेष्टुरेण्ट सञ्चालन गर्दै

रविन्द्र गुप्ता

भैरहवा । स्वदेशमा रोजगारीको अवसर नपाएर लाखौं नेपाली युवाहरु विदेश जान बाध्य छन् । योग्यता र क्षमता अनुसारको रोजगारी नपाएको भन्दै दैनिक रुपमा विदेशिने युवाहरुको संख्या बढ्दो छ । विभिन्न सिप सिकेका युवाहरु विदेशमा विभिन्न खालका काममा संलग्न भएर आफ्नो जीविकोपार्जन गरिरहेका छन् । विदशमै दुःख सुख गरी परिवारको खर्च समेत उनीहरुले जुटाइरहेका छन् । कतिपय सिप नसिकी विदेश गएका युवाहरुले दुःख समेत पाइरहेको खबर आइरन्छन् । कतिपयले त विदेशमै व्यवसाय समेत सञ्चालन गरिरहेका छन् ।

विदेशमै आफ्नो व्यवसाय सञ्चालन गर्ने मध्येका एक हुन् युवा मनोज जैसवाल । वैदेशिक रोजगारीको सिलसिलामा विगत १६ वर्ष देखि संयुक्त अरब इमिरेट्स (युएई) दुबईमा रहेका रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–६ का युवा मनोज जैसवालले रेष्टुरेण्ट सञ्चालनमा ल्याएका छन् । ३४ वर्षिय युवा जैसवालले ९० लाखको लगानीमा युएईको बरदुबई शहरमा रेष्टुरेण्ट सञ्चालनमा ल्याएका हुन् ।

दुबईको विभिन्न कम्पनीमा काम गरिसकेका उनले गत जुलाई ७ तारिख (असार २२ गते) देखि यास्मिन रेष्टुरेण्ट सञ्चालनमा ल्याएका छन् । आफु लामो समय देखि दुवईमा जागिर गर्दै आएको र जागिर भन्दा पनि व्यवसायतर्फ जानुपर्ने भन्ने सोच आएकोले रेष्टुरेण्ट सञ्चालन गर्ने निर्णयमा पुगेको जैसवालले बताए ।

३ वर्ष प्रिन्टिङ प्रेसमा मेशिन अपरेटर, ३ वर्ष सेल्स प्रतिनिधि र १० वर्ष ड्राइभिङ पेशामा आबद्ध जैसवालले अहिले भने व्यवसायमा हात हालेका छन् । सुरुमा जागिर गरे पनि समयको परिवर्तनसंगै व्यवसायमा हात हालेको उनले बताए ।

जागिर छोडेर व्यापार गर्ने सोच आएकाले दुबईमा नै रेष्टुरेण्ट सञ्चालनमा ल्याएको उनले बताए । स्वादिष्ट खाना, सुलभ मुल्य, स्वच्छ वातावरण र उत्कृष्ट आतित्थ्य सेवा आफुले सञ्चालन गरेको रेष्टुरेष्टको विशेषता भएको उनले बताए ।

शुक्रबार बाहेक हप्ताको ६ दिन सञ्चालन हुँदै आएको रेष्टुरेष्टमा हाल दैनिक रुपमा ५५÷६० जना ग्राहक आए पनि आगामी दिनमा ग्राहकको संख्या बढ्दै जाने अपेक्षा छ, जे होस व्यवसाय राम्रोसंग नै चलेको छ, व्यवसाय सञ्चालनमा सन्तुष्ट छु, जैसवालले भने ।

रेष्टुरेण्टमा ५ जना नेपालीले प्रत्यक्ष रोजगारी समेत पाएका छन् । श्रीमती, एक छोरा र एक छोरीसंगै उनी दुबईमा बस्दै आएका छन् । जैसवाल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट प्रवासी नेपाली एकता समाजका वरिष्ठ उपाध्यक्ष समेत हुन् ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस