बाँकेको डुडुवामा चट्याङ परेर घरमा आगजनी

बाँके । बाँकेमा बुधबार आएको हावाहुरीसँगै परेको चट्याङबाट डुडुवा गाउँपालिकामा आगलागी हुँदा ३९ घर जलेर नष्ट भएका छन् ।

डुडुवा गाउँपालिका–१ छोटी चौफेरीमा हावाहुरीसँगै परेको चट्याङका कारण एक जना स्थानीयवासी जलेर घाइते समेत भएको बाँकेका प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिनुभएको छ ।

चट्याङपछि स्थानीय रामखेलावन यादवको घरबाट आगो शुरु भएको थियो । आगलागीका कारण लत्ताकपडा, अन्नपात सबै जलेर नष्ट भएको छ ।

घटनामा घाइते भएकी १५ वर्षीया नन्की यादवलाई उपचारका लागि सीमावर्ती भारतीय बजार लगिएको डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले जानकारी दिनुभयो ।

यसैगरी बाँकेकै खजुरा गाउँपालिका वडा नं ६ सिमलघारीमा पनि  चट्याङपछि स्थानीय गोरख विकको घरमा आगलागी भएको छ ।

आगलागीबाट अन्नपात लत्ताकपडा जलेर नष्ट भएको बाँकेका प्रहरी उपरीक्षक पौडेलले जानकारी दिनुभएको छ । स्थानीय, प्रहरी र नेपालगञ्ज उपमहानगरपालिकाको दमकलको सहयोगले आगो नियन्त्रणमा लिइएको थियो ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस