‘समृद्धिको यात्रामा इन्जिनियरको भूमिका महत्वपूर्ण’

तिलोत्तमा । आर्थिक समृद्धिको यात्रामा इन्जिनियरहरुलाई पनि एकसाथ अघि बढाउन सरोकारवालाहरुले सरकार र राजनीतिक दलहरुलाई आग्रह गरेका छन । साथै उनीहरुले इन्जियनियरहरु विदेश पलायन भइरहेको अवस्थामा सरकारले उनीहरुको योगदान र भूमिकाको कदर गर्नुपर्नेमा समेत जोड दिए ।

प्रोग्रेसिभ इन्जिनियरिङ एशोसिएशन प्रदेश नम्बर पाँचले शनिबार बुटवलमा आयोजना गरेको नयाँवर्षको शुभकामना आदानप्रदान कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन ।

कार्यक्रममा बोल्दै पुर्व सांसद एवं संविधानसभा सदस्य नेत्र पन्थीले नेकपाको पार्टी एकीकरणमा भइरहेको ढिलाइले समृद्धिको यात्रा प्रभावित भएको उल्लेख गर्दै इन्जिनियरहरु देशको मेरुदण्ड भएको बताए ।

अहिले मुलुक संघीयतामा प्रवेश गर्दा पनि कर्मचारीतन्त्र त्यस अनुरुप हिंड्न नसकेको र सरकारले पनि उनीहरुलाई सही ढंगले परिचालन गर्न नसकेको भन्दै उनले इन्जिनियरहरुलाई देश विकासका लागि सकारात्मक भूमिका खेल्न सुझाव दिए ।

नेपाल इन्जिनियरिङ एशोसिएशनका सचिवालय सदस्य एन बन्जाडेले इन्जिनियरहरुको चुनावमा कतिपय ठाउँमा संगठनको आन्तरिक कमजोरीले पराजय भोग्नुपरेको भन्दै आगामी दिनमा यसको गम्भीर समीक्षा गरी संगठनलाई एकतावद्ध ढंगले अगाडि बढाउनुपर्नेमा जोड दिए ।

प्रोग्रेसिभ इन्जिनियरिङ एशोसिएशन प्रदेश नम्बर पाँचका इन्चार्ज इन्जिनियर दुजेन्द्र बस्नेतले आफ्नो संगठनले सबै इन्जिनियरहरुको हकहितका लागि काम गर्दै आएको भन्दै आगामी दिनमा संगठनलाई अझै दरिलो, मजबुत र क्रियाशिल ढंगले अघि बढाइने बताए ।

त्यस अवसरमा भिजन लुम्बिनीका अध्यक्ष जगत बहादुर पोखरेल, प्रोग्रेसिभ इन्जिनियरिङ एशोसिएशनका सचिवालय सदस्य विजय विष्ट, नेपाल विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी युनियनका प्रदेश पाँचकी अध्यक्ष कल्पना थापा, इन्जिनियरहरु लेखनाथ पाण्डे, पिएल श्रेष्ठ, रामु श्रेष्ठ, जीवन अर्याल, अरुण खनाल, छविन्द्र भट्टराई लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस