खुकुरी प्रहारबाट ३ जना गम्भीर घाइते

अर्घाखाँची । अर्घाखाँची भूमिकास्थान नगरपालिका वडा नम्बर-८ नुवाकोटमा एक व्यक्तिले खुकुरी प्रहार गर्दा श्रीमती, सासू र सालो घाइते भएका छन् ।

सोमबार राति भूमिकास्थान नगरपालिका वडा नम्बर-६, खमारीबासका २७ वर्षीय चिरन घर्तीले  ससुरालीमा  गएर खुकुरी प्रहार गर्दा तीन जना गम्भीर घाइते भएका हुन् ।

खुकुरी प्रहारबाट १८ वर्षीया श्रीमती गिता घर्ती, ४३ वर्षीया सासू भुमकला क्षेत्री र ११ वर्षीया सालो अर्जुन क्षेत्री गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिएका छन् ।

घाइते तीनै जनाको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार हुन नसकेपछि लुम्बिनी अञ्चल अस्पताल बुटबल पठाइएको थियो । बुटबलमा पनि उपचार हुन नसकेपछि तीनै जनालाई चितवनको पुरानो मेडिकल कलेजमा पठाइएको प्रहरीले बताएको छ ।

 ससुरालीमा आएका उनले परिवारमा रहेका तीनै जनालाई खुकुरी प्रहार गरेपछि फरार भएका छन् । फरार रहेका उनको खोजी भैरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिएका छन् ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस