प्यूठानका क्याम्पसहरुले अभिभावक पाएनन्

प्यूठान । प्यूठानका क्याम्पसका सञ्चालक समितिका पदाधिकारी तथा प्रध्यापकहरुले राज्यको नीतिमा भएको अस्पष्टताका कारण आफुहरुले अभिभावक नपाएको बताएका छन् ।

शनिवार स्वर्गद्धारी बहुमुखी क्याम्पसमा भएको उच्च शिक्षामा स्थानीय तहको भूमिका कार्यशालामा सहभागीहरुले केन्द्र सरकार र प्रदेश सरकारको नितिगत अष्पष्टताका कारण अभभिावकत्व बिहिन भएको गुनासो गरे ।

नेपाल सरकारले आधारभूत र माध्यमिक तहको शिक्षा सञ्चालन र व्यवस्थापनको जिम्मेवारी बहनमा स्थानीय तहलाई अधिकार दिएको छ ।

प्रदेश विश्व विद्यालय,उच्च शिक्षा र पुस्तकालय प्रदेश अधिकारको सूची–६ मा तोकिएको छ भने केन्द्रीय विश्वविद्यालय, केन्द्रीय स्तरका प्रज्ञा प्रतिष्ठान, विश्व विद्यालय मापदण्ड, नियमन र केन्द्रीय पुस्तकालय संघीय सरकारको अधिकारको अनुसूची–५ मा छ भने शिक्षा, खेलकुद र पत्रपत्रिका संघ,प्रदेश र स्थानीय सरकारको साझा सूची अनुसूची–९ मा उल्लेख छ ।

तर त्यसका लागि थप नीति तथा निर्देशिकाहरु बन्न नसक्दा संघ, प्रदेशको क्याम्पसहरुमा आनकान गर्ने स्थीती आएको क्याम्पस सञ्चालकहरुले बताएका छन् । ‘क्याम्पसहरु आर्थिक संकटमा छन्, तिन तहको सरकारको अन्योलताका कारण पनि थप जटिलता सिर्जना हुदैछ।’ स्वर्गद्धारी क्याम्पसका प्रमुख गुञ्ज बहादुर खड्काले भने– ‘सरकारले उच्च शिक्षामा प्रविधिमैत्री बनाउन र दक्ष जनशक्ति उत्पादनमा राज्यको प्रत्यक्ष लगानी अपरिहार्य रहेको छ ।’

विगत्मा शिक्षा विकास कोषबाट प्राप्त गर्दैै आएको आर्थिक सहयोग यस आ.व. देखि बन्द हुनु , विद्यार्थी संख्या कम हुंदै जानु, विद्यार्थी शुल्क न्यून हुनु, क्याम्पस संचालनका बैकल्पिक स्रोतहरु नहुनु र अभिभावक र समुदाय उच्च शिक्षा प्रति चासो कम हुनु र सरकारको उच्च शिक्षा संचालन सम्बन्धी स्पष्ट नीति नहुनु आदि समस्याहरु प्यूठानका क्यापसहरुले भोग्नु परेको छ ।

संघ र प्रदेश सरकारको उच्च शिक्षा संचालन र ब्यबस्थापनका सम्बन्धमा स्पष्ट दृष्टिकोण र लगानीका आधार नहुंदा सम्म ब्यबस्थापन र संचालनमा अभिभावकीय भूमिका निर्वाह गर्न नसक्दा क्याम्पसहरुको अवस्था कमजोर हुन पुगेको प्राध्यापक डा. शिवराज पण्डितले बताए । भैतिक पूर्वाधार र शैक्षिक उन्नयनका लागि विश्वविद्यलाय अनुदान आयोग र अन्य निकायबाट प्राप्त हुने अनुदान रकममा जगेडा कोषमा साझोदारी, प्राविधिक विषय र तह थप्न आबश्यक पर्ने रकम जम्मा गर्न संघ र प्रदेश सरकारसंग समन्वय स्थापति गर्न मध्यस्तता र विद्यार्थी कल्याणकारी कोष र छात्रवृत्ति कार्यक्रममा क्याम्पसहरुसंग साझेदारी,जिल्ला भित्र रोजगारीका अवसरहरु सिर्जना गर्नमा स्थानीय सरकारले बिशेष भूमिका खेल्नु पर्ने उनको भनाई छ ।

५ वटा क्याम्पसमा ९ सय विद्यार्थी
प्यूठान जिल्लामा अहिले ५ वटा त्रिभुवन विश्वबिद्यालयबाट सम्बन्धन प्राप्त क्याम्पस रहेको छन् । स्नात्तक र स्नाकोत्तर गरी प्यूठानका ५ क्याम्पसमा अध्ययनरत ९ सय ८७ बिद्यार्थी छन् ।

प्युठान जिल्लामा उच्च शिक्षाको अबसर प्रदान गर्ने उद्धेश्यले शिक्षाविद्, समाजसेवी, बुद्धिजीवि तथा शिक्षापे्रमीकोे सक्रियतामा स्वर्गद्वारी क्याम्पस को बि.स २०२८ सालमा स्थापना भएको थियो ।

तत्कालीन सरकारले त्रि.वि.बाट स्वीकृत नलिएको भनी ५ महिनापछि बन्द गर्ने पत्राचार गर्यो र बन्द भएको थियो । औपचारिक रुपमा त्रि.वि.ले क्याम्पस स्थापना गर्ने स्वीकृति दिएपछि वि.सं.२०३७ सालमा प्यूठान जिल्लाको पहिलो क्याम्पसको रुपमा स्वर्गद्वारी क्याम्पसको स्थापना भएको थियो । ४ क्याम्पसमा स्नातक र एक क्याम्पसमा स्नाकोत्तर सम्म मानविकी, शिक्षा र व्यवस्थापन संकायमा पठनपाठन हुने गरेको छ ।

उच्च शिक्षाको गुणस्तर बृद्धि गर्नु पर्छ : आचार्य
प्यूठानका क्याम्पसको समस्या अन्त्य गर्ने उच्च शिक्षाको गुणस्तरीयता बृद्धि गर्दै पठनपाठनमा निरन्तरता दिनु पर्ने भन्दै जिल्ला समन्वयले मध्यस्थताको भूमिका निर्वाह गर्ने जिल्ला समन्वय समिति प्यूठानका प्रमुख केशवराज आचार्यले बताए ।

‘निरन्तर रुप क्याम्पस सञ्चालनका लागि प्यूठानका सबै स्थानीय तहहरुसंग छलफल गरी एक धारणा बनाइ सहयोगको लागि योजना बनाउने छौ’ आाचार्यले भने–‘उच्च शिक्षाको प्राज्ञिक व्यक्तीहरुलाई सल्लाह सुझाव दिदैँ जिल्लाको उच्च शिक्षा सुधारमा सबैले जिम्मेवारी बोध गर्नु पर्छ ।’ शिक्षकहरुले पनि पदीय जिम्मेवारीलाई ख्याल गर्नु पर्ने उनको भनाई थियो ।

प्यूठान नगरपालिका र बिश्वविद्यालय अनुदान आयोगको सहयोग, स्वर्गद्धारी बहुमुखी क्याम्पसको आयोजना भएको कार्यक्रममा स्वर्गद्धारी क्याम्पस सञ्चालक समितिका जेष्ठ सदस्य मेघबहादुर अधिकारीको अध्यक्ष्यता, जिल्ला समन्वय समितिका प्रमुख केशवराज आचार्यको प्रमुख आतिथ्यता र प्रध्यापक नेत्रमणी आचार्यको सञ्चालनमा भएको थियो ।

प्यूठानका नौ वटै स्थानीय तहका जनप्रतिनिधी, प्रमुख प्रसासकीय अधिकृत, क्याम्पसका सञ्चालक समितिका पदाधिकारी तथा प्रमुख, राजनितिक दलका प्रमुख प्रतिनिधीको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो ।

राधिका भुसाल

भुसाल प्युठान संवाददाता हुन्।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस