तिलोत्तमाले राख्यो सडक डिभाइडरमा आकर्षक बुद्धमुर्ति

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले मुख्य सडकमा बुद्धका आकर्षक मुर्ति राख्न थालेको छ । लुम्बिनीको पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने उद्देश्यले लुम्बिनी भ्रमण वर्षको अवसर पारेर तिलोत्तमाले सिक्सलेन सडक डिभाइडरमा बुद्धमुर्ति राखेको हो ।

तिलोत्तमाको प्रवेशद्धार योगिकुटीमा स्थापना गरिएको बुद्धमुर्तिको आइतबार आयोजित एक कार्यक्रमबीच प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले अनावरण गर्नुभयो । सिक्सलेन सडक डिभाइडरको २५० देखि
३०० मिटर दुरीमा बुद्धमुर्ति राखिनेछ ।

पहिलो चरणमा सिक्सलेन निर्माण पूरा भएको मणिग्रामसम्म २२ वटा आकर्षक बुद्धमुर्ति राखिने नगरपालिकाले जनाएको छ । नगरपालिकाले चालु आर्थिक वर्षको बजेटमा सिक्सलेनमा बुद्धमूर्ति राख्ने गरी बजेट विनियोजन गरेको थियो । निर्माण सकिएसँगै कोटिहवासम्मकैं सडक डिभाइडरमा बुद्धमूर्ति राख्ने नगरपालिकाको योजना छ ।

सिक्सलेनमा हरियाली प्रवद्र्धन र नियमित सरसफाई अभियान सञ्चालन गर्दै आएको तिलोत्तमाले पर्यटकलाई आकर्षित गर्न सडकमा बुद्धमुर्ति राखेको हो ।

बुद्धमुर्ति अनावरण कार्यक्रममा बोल्दै मन्त्री गिरीले लुम्बिनीको पर्यटन प्रवद्र्धनले समग्र प्रदेशको विकासमा महत्वपूर्ण टेवा पुर्याउने भएकाले प्रदेश सरकारले यो वर्षलाई लुम्बिनी भ्रमण वर्ष घोषणा गरेको जानकारी दिनुभयो ।

लुम्बिनी भ्रमण वर्षलाई सफल बनाउन सबैले आ—आफ्नो क्षेत्रबाट योगदान गर्नुपर्नेमा जोड दिँदै मन्त्री गिरीले सडकलाई सुन्दर बनाउनेगरी तिलोत्तमाले बुद्धमुर्ति राखेकोमा सह्रना व्यक्त गर्नुभयो ।

सरसफाई र हरियाली प्रवद्र्धनका कामलाई अघि बढाएर तिलोत्तमाले रचनात्मक काम गर्दै आएको उल्लेख गर्दै मन्त्री पोखरेलले यस्ता अभियानमा नागरिक सहभागितालाई अझै बलियो बनाउन आग्रह गर्नुभयो ।

प्रदेश सरकारले अधिकतम स्वदेशी तथा विदेशी पर्यटक लुम्बिनी ल्याउने गरी लुम्बिनी भ्रमण वर्ष घोषणा गरी विभिन्न योजना बनाएको जानकारी मन्त्री गिरीले दिनुभयो ।

कार्यक्रममा तिलोत्तमा नगर प्रमुख बासुदेव घिमिरेले बुद्धमुर्ति राखिएसँगै सिक्सलेन सडकको डिभाइडरलाई आकर्षक फूलबारी बनाउने योजनाका साथ नगरपालिका अघि बढेको जानकारी दिनुभयो ।

स्थानीय बासिन्दाको साथ, सहयोगले सिक्सलेनलाई आकर्षक बनाउन विभिन्न कामहरु भैरहेको बताउँदै उहाँले बुद्धमुर्ति नगरको पहिचानका लागि पनि हुने उल्लेख गर्नुभयो ।

यस्तै नेपाल कम्युनिष्ट पार्टीका नगर अध्यक्ष मोहन चापागाईंले सिक्सलेनलाई आकर्षक बनाउन निर्माण गरिएको संरचनाको संरक्षण र राम्रो बनाउने दाहित्व स्थानीय बासिन्दाको भएको उल्लेख गर्नुभयो ।

यस्तै नेपाली कांग्रेसका नगर सभापति हरिलाल पाण्डेयले तिलोत्तमा सुन्दर, शान्त, भेदभावरहित नगरको रुपमा अघि बढ्ने विश्वास व्यक्त गर्दै यो अभियानलाई सबैले सघाउने बताउनुभयो ।

तिलोत्तमा नगर उपप्रमुख जागेश्वरी चौधरीको स्वागत तथा प्रवक्ता सुरेन्द्र श्रीको सञ्चालनमा कार्यक्रम भएको हो । सिक्सलेनमा बुद्धमुर्ति राख्ने कामको संयोजन कार्यपालिका सदस्य एच.बि. रम्तेलले गर्नुभएको छ ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस