उनै जन्ती मलामीमा: बेहुला-बेहुली बाबु आमाको अन्त्यष्टिमा

प्रेम सुनार

बुटवल । गएराती दुई बजे अघि सम्म बेहुलाको घरबाट फोनमा बाटोमा बेहुली लिएर आउँदै गरेका जन्ती संग सोधिदै थियो– कहाँ आईयो ? भनेर । जवाफमा मौरीघाट आएर खान खाँदै छौ , अब छिटै आउँछौं तयारी गर्दै गर्नु भनियो । बेहुला बेहुली पर्छिन निकै आतुर र हर्षित थिए आफन्तजन । रत्यौली पनि चल्दै थियो । बेहुलाका बाबु शाकाहारी भएकोले पुर्णतः भेज आईटम बनाईदै थियो ।

त्यसको करिब १ घण्टा पछि फोन आयो । जुन फोनले सबै आफन्तजनलाई छाँगाबाट खसे जस्तो बनायो । क्षणभरमै त्यो बिहेको त्यो रमझम र हर्ष खुशी रुवावासीमा परिणत भयो । घटना आज विहान लमही नगरपालिका ९ रिहार भन्ने स्थानमा जन्ती बोकेको स्कारपियो जिप दुर्घटनाको हो ।

दुर्घटनामा परी बाँके जिल्ला राप्ती सोनारी गाउँपालिका वडा नम्वर ९ , सम्शेरगञ्जका २७ वर्षिय बेहुला यज्ञबहादुर केसीका पिता ५३ वर्षिय मनबहादुर केसी र उनकी धर्मपत्नी ४२ वर्षिया बिमला केसी सहित ६ जनाको ज्यान गएको छ ।

यति बेला मृतकहरुको शव लमही अस्पतालमा पोष्टमार्टका लागि राखिएको र केहि बेर पछि दाहसंस्कारका लागि राप्ती नदि किनारमा लैजाने तयारी भई रहेको बेहुला परिवारका भानिज नाता पर्ने दिपक केसीले बताए ।

‘ हामी घाईते दुई जनाको उपचारमा कोहलपुर तिर छौं , केसीले भने–‘ बेहुला बेहुली बोकेको गाडी घर पुगि सक्यो भन्ने सुनेका छौं , यस्तो बेलामा बेहुली भित्राउने त कुरै भएन , अन्त्यष्टि तर्फ लागिदै छ । ’ उनले सम्शेरगञ्जमा मात्र नभई सिङ्गो बाँके र दाङ जिल्ला सम्म सन्नटा छाएको बताए ।

उनका अनुृसार चितवनको गीता नगरबाट बेहुली ल्याएर मौरीघाटमा रमाईलो गर्दै खान खाई सके पछि ८ जना सवार बेहुलाका आमा बुवा चढेको गाडी घरमा पर्छिने तयारी गर्नका लागि सबै भन्दा अगाडी लागेको थियो ।

उनका अनुसार अस्ती बेहुली लिन हिडेका के.सी परिवारका जन्तीहरु मध्ये करिब ५० जना जति बसमा र अरु चार वटा स्कारपियो गाडीमा थिए । सम्शेरगञ्ज स्थित घाईते गीता खत्रीका देवर पर्ने यामबहादुर खत्री भन्छन–‘अरु गाडीहरु पछाडी थिए , घर छिटो आएर तयारी गर्नका लागि उहाँहरुको गाडी अगाडी हिडेको थियो ।’

मृतकका भानिज पर्ने के.सीका अनुसार नारायणघाटबाट त्यहाँका चर्चित बाजा लिएर चितवनको गितानगर स्थित बेहुलीको घर पुगिएको थियो । विधिवत विवाह कार्य धुमधाम संग सम्पन्न भई सकेपछि भव्य रुपमा नाच गान गरी दिउँसो चार बजेको समयमा जन्ती बटाएका थिए ।

२७ वर्षिय बेहुला यज्ञबहादुर केसी सुर्खेत स्थित शिद्धार्थ बैंकमा अधिकृत तहको जागिरे हुन । २४ वर्षिया बेहुली लक्ष्मी पौड्याल मास्टर डिग्री सेकेर लोक सेवा आयोगको तयारी गर्दै छन् । ती दुई काठमाण्डौंमा संगै पढ्दा देखि नै प्रेम सम्वन्धमा बाधिदै आएका थिए । भानिज के.सीले थपे – उहाँहरु दुबै जना काठमाण्डौंमा संगै पढ्नु भएकोले उहाँहरु बिचको सम्वन्ध लामै समय देखिको हो । ’,

बेहुलाका मृतक बाबु मनबहादुर केसी शक्ति माध्यामिक विद्यालय पेरानीका शिक्षक थिए । उनी त्यस भेगकै प्रतिष्ठीत समाज सेवी थिए । उनकी धर्मपत्नी बिमला समाज सेवीका रुपमा क्रियाशिल थिईन । उनको काँखमा रहेकी ५ वर्षिया नातिनीको पनि ज्यान गएको छ । केसी दम्पत्तिका तीन भाई छोराहरु मध्ये त्यो विवाह कान्छो थियो ।

सम्शेरगञ्ज कै ४९ वर्षिय विश्वनाथ अधिकारीको पनि ज्यान गएको छ । उनि पनि त्यस भेगमा प्रतिष्ठीत समाज सेवी थिए । कोहलपुर नगरपालिका १२ का ७८ वर्षिय समाज सेवी दत्तबहादुर खत्री र सम्शेरगञ्जका ३१ वर्षिय होनाहार युवा दिपककुमार खड्कालाई पनि त्यस गाउँले गुमाएको छ ।

सिंगारेर रंङ्गी-बिरङ्गी पारिएको के.सी परिवारको घरमा यति बेला रुवावासी चलिरहेको छ । लमही अस्पताल बाहिर आफन्तजनले भक्कानो छाडी रहेका छन ।

दुखत कुराः केहि बेर पछि तीनै जन्तीहरु मलामीमा परिणत हुँदै छन । २१ वर्षिया चालक यमबहादुर बुढा र गीता खत्रीको कोहलपुरमा उपचार भई रहेको छ । उनिहरु दुबै खतरामुक्त भएको र स्वास्थ्य अवस्था सुध्रिदै गएको आफन्तजनले बताए ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस