डुंगामा आगलागी हुँदा २२ बेपत्ता

 इन्डोनेसिया । इन्डोनेसियाको जाभा टापुमा दुई सय ७७ यात्री बोकेको एक डुंगामा आगलागी हुँदा कम्तीमा २२ जना बेपत्ता भएका छन् । इन्डोनेसियाको बन्दरगाह सुरक्षार्थ खटिएका अधिकारीले डुंगामा यात्रारत दुई सय ५५ जनालाई सकुशल उद्धार गरिएको र बेपत्ता भएका २२ जनाको खोजी कार्य भइरहेको बताएका छन् ।

इन्डोनेसियाको दोस्रो ठूलो सहर सुराबायाबाट बोर्नेओको बालिकपापनतर्फ गइरहेको डुंगामा एक्कासि आगो लागेको थियो । आगो लागेपछि यात्रीहरू आत्तिएर पानीमा हामफालेका थिए ।

सुराबायाको तान्जुसङ पेराक बन्दरगाहका प्रवक्ता स्याचुल नुग्रोहाले भने, ‘डुंगामा यात्रा गरिरहेका दुई सय ७७ जनामध्ये दुई सय ५५ जनाको सकुशल उद्धार गरिएको छ भने हराएका केही व्यक्तिहरूको खोजी भइरहेको छ ।’ आगलागीको कारणबारे अनुसन्धान सुरु भइसकेको नुग्रोहोले बताए ।

करिब एक हजार सात सय टापुहरू भएको इन्डोनेससियामा यातायातका लागि डुंगाको प्रयोग सामान्य मानिन्छ । यसअघि गत जुनमा जाभाको उत्तरी तटमा भएको डुंगा दुर्घटनामा कम्तीमा २१ जनाको मृत्यु भएको थियो । गत वर्ष सुमात्रा टापुमा जाने क्रममा एक डुंगा दुर्घटना हुँदा कम्तीमा एक सय ६० जनाको मृत्यु भएको थियो । त्यस्तै, सन् २००९ मा सुलावेशी र बोर्नेओको बीचमा भएको डुंगा दुर्घटनामा कम्तीमा तीन सयजनाको मृत्यु भएको थियो । -एजेन्सी

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस