सुडानमा ६० जनाभन्दा बढीको मृत्यु

खार्तुम । सुडानको सत्तारुढ सैनिक परिषदको आदेशमा सेनाले राजधानी खार्तुमस्थित सैनिक मुख्यालय बाहिर चलाएको गोली लागि मृत्यु हुनेको संख्या ६० भन्दा बढी पुगेको छ ।

सैनिक शासनविरुद्ध सैनिक मुख्यालय बाहिर र शहरका मुख्य प्रशासनिक केन्द्र वरपर धर्नामा बसेका प्रदर्शनकारीलाई हटाउनेक्रममा सेनाले सोमबार गोली चलाएको हो । प्रदर्शन स्थलमा लगातार बन्दुक पड्किएको आवाज आएको थियो । राजधानी खार्तुमका सबैजसो क्षेत्रमा मेसिनगन जडान गरिएका ठूलो संख्यामा सैनिक ट्रकसहितको टोलीको बाक्लो उपस्थिति रहेको छ ।

सुडानको प्रभावशाली नागरिक संस्था चिकित्सकहरूको केन्द्रीय टोलीले मृत्यु हुनेहरूको सङ्ख्या बढ्न सक्ने बताएको छ । रेडक्रस र मानवीय सहयोगका लागि गठन भएका अन्य सङ्घसंस्थाले पनि खार्तुममा ठूलो सङ्ख्यामा प्रदर्शनकारीहरू मारिएको र आपत्कालीन सहयोगको आवश्यकता परेको बताएका छन् ।

सेनाको वर्तमान नेतृत्वले सेनाकै सहयोगमा ३० वर्ष शासन गरेका राष्ट्रपति ओमार अल बसिरलाई केही महिना अगाडि सत्ताच्यूत गरेर सत्ता आफैँले लिएको थियो । सेना र प्रदर्शनकारीबीच नागरिकलाई सत्ता हस्तान्तरण गर्न सर्तसहितको सहमति भए पनि सत्ता हस्तान्तरण नभएकाले आन्दोलनकारीहरूले प्रदर्शन गरिरहेका हुन् ।

सुडानी प्रफेसनल एशोसिएशन ९एसपीए०ले सेनाले ‘नागरिकको आमहत्या’ गरेको आरोप लगाउँदै सैनिक शासनलाई पूर्णरूपमा असफल तुल्याउन ‘नागरिक अवज्ञा’ आन्दोलन गर्न आह्वान गरेको छ । एसपिएले सैनिक सत्तासँग तत्काल वार्ता सम्भव नरहेको बताएको छ ।

परिषदले सत्ता हस्तान्तरणसम्बन्धी नागरिक मोर्चासँग गरेको सम्झौता भङ्ग गरी नौ महिनाभित्र आम निर्वाचन गर्ने घोषणा पनि गरेको छ । सुडानको सेनाप्रमुख अब्देल फताह अल–बुरहानले टेलिभिजनबाट राष्ट्रका नाममा सम्बोधन गर्दै क्षेत्रीय र अन्तर्राष्ट्रिय सुपरीवेक्षणमा निर्वाचन गराइने बताए । सैनिक कारबाही र चुनावको घोषणा गरिए पनि राजधानी खार्तुममा प्रदर्शन रोकिएका छैनन् ।रासस

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस