कन्जर्भेटिभ गठबन्धन बहुमतनजिक: अस्ट्रेलियामा

सिड्नी  । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले कन्जर्भेटिभ गठबन्धनलाई संघीय निर्वाचनमा पुनः निर्वाचित गराएको भन्दै मतदातालाई धन्यवाद दिएका छन् । कन्जर्भेटिभ गठबन्धनमा लिबरल पार्टी र परम्परागत साझेदार नेसनल पार्टी छन् । निर्वाचनको अन्तिम परिणाम सार्वजनिक हुन बाँकी नै छ । ७० प्रतिशतभन्दा बढी मतगणना भइसक्दा कन्जर्भेटिभ गठबन्धनले ७४ सिटमा विजय हासिल गरेको छ भने लेबरले ६६ स्थानमा जितेको छ । सामान्य बहुमतका लागि कुनै पनि दलले ७६ सिट ल्याउनुपर्छ ।

आफ्नो पार्टीले हार व्यहोर्ने निश्चित भएपछि लेबर पार्टीका नेता विल सर्टेनले पदबाट राजीनामा दिएका छन् । सिड्नीको वारिंगा निर्वाचन क्षेत्रबाट संसद् सदस्यका लागि उम्मेदवारी दिएका लिबरल पार्टीका नेता तथा सन् २००९ देखि सन् २०१५ सम्म सरकारको नेतृत्व गरेका पूर्वप्रधानमन्त्री टोनी अबोट पराजित भएका छन् । अस्ट्रेलियाकी पूर्वविदेशमन्त्री जुलिया विसपले अबोटको पराजयको पुष्टि गरेकी छिन् ।

नतिजाप्रति दुःख व्यक्त गर्दै उनले भनेकी छिन्, ‘मुलुकको प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका अबोटको पराजयबाट म निकै दुःखी छु ।’ अबोटको समलिंगी विवाह र जलवायु परिवर्तन सम्बन्धी नीति जनताबाट अस्वीकृत भएको पूर्वविदेशमन्त्री बिसपले बताइन् । अस्ट्रेलियामा हरेक तीन वर्षमा आमनिर्वाचन हुन्छ र निर्वाचनका लागि योग्य हरेक नागरिकले अनिवार्य मतदान गर्नुपर्ने व्यवस्था छ । चुनावमा सहभागी नहुने १८ वर्षमाथिका नागरिकले १४ अमेरिकी डलर जरिवाना तिर्नुपर्छ । -एजेन्सी

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस