पाल्पामा पाँच डेङ्गुका बिरामी

पाल्पा । पाल्पामा डेङ्गुका बिरामी थपिदैँ छन् ।  साउनबाट यता हालसम्म डेङ्गुका पाँच बिरामी देखा परेका छन् । साउनमा दुई बिरामी फेला परेकोमा भदौमा तीन बिरामी थपिएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी माधव ज्ञवालीले जानकारी दिनुभयो ।

तानसेन नगरपालिकाभित्र साउनको २६ गते ३७ वर्षीय र २४ गते ६१ वर्षीया महिलामा डेङ्गुको सङ्क्रमण देखिएको थियो । भदौको दोस्रो हप्ता रम्भा गाउँपालिकामा एक, माथागढी गाउँपालिकामा एक र पूर्वखोलामा गाउँपालिकामा एक डेङ्गु रोग सङ्क्रमित बिरामी फेला परेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

तराईलगायतका अन्यत्र जिल्लामा घुमफिर काम विशेषले गएका बखत त्यहीँबाट सङ्क्रमण सरेर आएका बिरामी पाल्पामा फेला परेको सूचना अधिकारी ज्ञवालीले बताउनुभयो । “पाल्पा जिल्लाभित्रै डेङ्गु रोग देखिएको छैन, बाहिर अन्यत्र जिल्ला तथा स्थानमा पुगेका व्यक्तिमा त्यहाँबाटै सङ्क्रमण भएको पाइएको छ, जिल्लाभित्रै रोगको सङ्क्रमण फैलिएको भनेर आत्तिनुपर्ने अवस्था छैन”, उहाँले भन्नुभयो।

सङ्क्रमित बिरामीको लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचार गरिएको छ । गत वर्षको भदौमा जिल्लामा सात बिरामी भेटिएका थिए । यो रोग एडिप्टाइ नामक लामखुट्टेको टोकाइबाट लाग्ने गर्छ । घर वरिपरि खाँडलमा पानी जम्न नदिने, सरसफाइ गर्ने, नियमित राति सुत्दा झुल टाँगेर सुत्ने, शरीर पूरै ढाक्ने गरी कपडा लगाउने गरियो भने डेङ्गु रोग लाग्नबाट बच्न सकिने सूचना अधिकारी ज्ञवालीले बताउनुभयो।

अत्यधिक ज्वरो आउने, नाकको नाथ्री फुटेर रगत बग्नुजस्ता डेङ्गु रोगका लक्षण हुन् । डेङ्गु रोगको सङ्क्रमणले दिमागमा असर गर्ने हुँदा सजकता अपनाउन स्वास्थ्यकर्मीको अनुरोध छ । शरीरमा भएको रगतको मात्रा प्लेटेड नामक तत्वले घटाइदिने हुँदा रोगको लक्षण देख्ने बित्तिकै स्वास्थ्य संस्थामा उपचार गराउनुपर्छ ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस