कपिलवस्तुमा ३६ हजारले गराए स्वास्थ्य बीमा

कपिलवस्तु । कपिलवस्तु जिल्लामा ३ हजार ४ सय ९६ घरपरिवारका ३६ हजार ५ सय १३ जना स्वास्थ्य बीमामा आवद्ध भएका छन । जसमा महिला १८ हजार ५९ र पुरुष १८ हजार ४ सय ५१ जना रहेका छन ।

२०७४ चैत्र देखी २०७६ जेष्ठ मसान्त सम्मको तथ्याङक हेर्दा स्वास्थ्य जिल्लामा रहेका १० स्थानिय तह मध्ये ६ नगरपालिकामा सबै भन्दा धेरै वाणगंगा नगरपालिका नागरिकहरु बीमामा आवद्ध भएका छन भने कम शिवराज नगरपालिकामा रहेको छ । चार गाउँपालिका तर्फ सबैभन्दा धेरै विजयनगर गाउँपालिका र कम यशोधरा गाउँपालिका परेको छ ।

जिल्लाको वाणगंगा नगरपालिकामा ९ हजार १ सय ८३,वुद्धभुमी नगरपालिकामा ५ हजार ८ सय ९४,कपिलवस्तु नगरपालिकामा ३ हजार ९ सय १६,कृष्णनगर नगरपालिकामा ४ हजार ४ सय ५४ स्वास्थ्य बीमामा आवद्ध रहेका छन । त्यस्तै महाराजगंज नगरपालिकामा ४ हजार ४ सय ६६ जना र शिवराज नगरपालिकामा जम्मा २ हजार ८ सय ४६ जनाले स्वास्थय बीमा गराएका छन ।

गाउँपालिका तर्फ विजयनगर गाउँपालिकामा २ हजार ७ सय १६,मायादेवि गाउँपालिकामा ७ सय २४,शुद्धोधन गाउँपालिकामा १ हजार ५ सय ९६ र यशोधरा गाउँपालिकामा ७ सय १८ जनाले बीमा गराएका छन । बीमामा आवद्ध भएका मध्येहरु बाट ९४ लाख ७६ हजार ७० रकम संकलन भएको स्वास्थ्य बीमा वोर्ड कपिलवस्तुका दर्ता अधिकारी सुदिप पौडेलले बताए । स्वास्थ्य बीमाको प्रावधानअन्तर्गत पाँच जनासम्मको परिवारले वार्षिक प्रतिपरिवार रु तिन हजार पाँच सय, र परिवारका सदस्य पाँचभन्दा बढी भएमा प्रतिसदस्य रु ७ सय का दरले थप शुल्क तिरेर एक वर्षका लागि स्वास्थ्य बीमामा आबद्ध हुन सक्ने व्यवस्था छ । पाँच जनाको परिवारका लागि प्रतिपरिवार वार्षिक रु १ लाख सम्मको स्वास्थ्य सेवा पाइने तथा पाँचभन्दा बढी भएमा रु दुई लाखसम्मको सेवा पाइने प्रावधान छ ।

सरकारले बीमा कार्यक्रममा आबद्ध सदस्यको निःशुल्क उपचारकै लागि कपिलवस्तुका ७ स्वास्थ्य सस्थालाई सेवा प्रदायक सस्थाको रुपमा राखेको छ । जिल्लाको शिवराज अस्पताल,पिपरा अस्पताल,तौलिहवा अस्पताल ,महाराजगंज प्राथमिक उपचार केन्द्र र हरनामपुर प्राथमिक उपचार केन्द्र बाट विमाकर्ताले सेवा पाउन सक्ने दर्ता अधिकारी पौडेलले बताए ।

तपाईँको स्वास्थ्य, हाम्रो अठोट भन्ने मूल उद्देश्यका साथ गरीबीको रेखामुनि रहेका अति विपन्न परिवारका व्यक्तिलाई समेत स्वास्थ्य सेवाको पहुंँचमा पुर्याउने कार्यक्रमको लक्ष्य छ । बीमा रकम तिर्न नसक्ने विपन्न वर्गका हकमा भने सरकारले नै बीमा रकमवापतको शुल्क तिरिदिने व्यवस्था गरेको छ । उक्त व्यवस्थाअन्तर्गत सरकारले अतिविपन्न नागरिकलाई शतप्रतिशत, विपन्नलाई ७५ प्रतिशत तथा गरीबीको रेखामुनि रहेका नागरिकलाई ५० प्रतिशतका दरले बीमा रकम वापतको शुल्क तिरिदिने व्यवस्था छ ।

माधव बेल्वासे

बेल्वासे कपिलवस्तुका संवाददाता हुन् ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस