आकर्षक देखाउन फिट रहन यस्तो जिम

काठमाडौं आजकल जुनसुकै उमेरका महिला पनि आफूलाई आकर्षक देखाउन फिट रहन चाहन्छन् । त्यसका लागि घरमै जिमका मेसिन ल्याएर जिम गर्ने चलन बढ्दो छ । घरमै व्यायाम सामग्री प्रयोग गर्दा कतिपय अवस्थामा सन्तुलन नमिलेर शरीरमा असरसमेत देखिने गरेको पाइन्छ । तसर्थ, सकभर जिम सेन्टरमा गएर प्रशिक्षकको प्रत्यक्ष निगरानीमा जिम गर्न आवश्यक छ ।

महिलाका लागि आवश्यक जिम

फिजिकल एक्सरसाइज

जम्प, म्याट एक्सरसाइज, सेट अप, पुस अप, वेट लिफ्टिङ आदि शारीरिक व्यायाममा पर्छन् । यस्ता अभ्यास पनि जिम सेन्टरमै गर्नु उपयुक्त हुन्छ । तर, सबै उमेर र अवस्थाका महिलाले कडा शारीरिक परिश्रम हुने खालका एक्सरसाइज गर्नु हुँदैन । फिजिकल एक्सरसाइज खासगरी युवापुस्ताका लागि उपयुक्त मानिन्छ । त्यस्तै, मसल्स बनाउन चाहनेका लागि पनि यो उपयोगी हुन्छ ।
कार्डियो ट्रेनिङ

अवस्था र उमेर हेरेर महिलाहरूले कार्डियो अभ्यास गर्न सक्छन् । यसअन्तर्गत रनिङ, साइकिलिङ, सामान्य शारीरिक व्यायाम, लाइभ लाइट लिफ्ट आदि पर्छन् । कार्डियो एक्सरसाइज गर्दा महिनावारी गडबडी, रक्तचापमा कमी, ढाड तथा गर्दन दुखाइ, नसासम्बन्धी आदि समस्याका लागि एकदमै फाइदाजनक हुन्छ । युवती र अधबैँसे महिलाले कार्डियो एक्सरसाइज गरेमा फिट रहन र तौल घटाउन मद्दत पुग्छ । त्यस्तै, प्रौढहरूमा छालामा चमक ल्याउन, इनर्जी बढाउन, शरीरमा अक्सिजनको मात्रा सजिलै आपूर्ति गर्न कार्डियो एक्सरसाइज गर्न आवश्यक हुन्छ ।

सेट एक्सरसाइज

स्वस्थ र फिट रहन महिलाहरूका लागि सेट एक्सरसाइज उत्तिकै उपयुक्त मानिन्छ । सेट एक्सरसाइजमा प्रत्येक दिन शरीरका फरक–फरक अंग तथा मांसपेसीको अभ्यास गरिन्छ । प्रत्येक मांसपेसीलाई बलियो बनाउन, हड्डी र जोर्नी खिइने समस्याबाट राहत पाउन यो एक्सरसाइज गर्न आवश्यक छ । खासगरी, सौन्दर्य बढाउन र फिगर मेन्टेन गर्न महिलाले सेट एक्सरसाइज गर्ने गर्छन् ।

ब्यालेन्स डाइट

जिम सेन्टर गएर एक्सरसाइज गर्दा महिलाले खानपान भने विशेष ध्यान दिनुपर्ने हुन्छ । कस्तो अभ्यास गरिराखिएको छ, त्यस्तै उपयुक्त खानेकुरा खान आवश्यक हुन्छ । तौल घटाउन गरिएको एक्सरसाइजका लागि कम क्यालोरी भएको खानेकुरा हुनुपर्छ । सामान्यतया, महिलामा भइरहने हर्मोन परिवर्तनका कारण समस्या आउने भएकाले एक्सरसाइजसँगै खानपिनमा पनि ध्यान दिन जरुरी हुन्छ । त्यसैले, समय–समयमा पौष्टिकतत्वयुक्त खानेकुरा पनि खाइराख्नुपर्छ ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस