मुसिकोटको मुहार फेरिदै

गुल्मी । गुल्मी जिल्लाका १० वटा गाउँपालिका र २ वटा नगरपालिका सहित १२ वटा स्थानिय तह मध्ये मुसिकोट नगरपालिकाले अगाडी सारेको विकाशको गति र जनताको समृद्धिका कार्यक्रमलाई हेर्दा अन्य स्थानका जनताको भन्दा पहिला मुसिकोट नगरवासीको मुहार छिट्टै फेरिने संकेत देखा परेको छ ।

स्थानिय तहको निर्वाचन अघि सम्म सदरमुकाम तम्घासबाट राताडाँडा ईन्द्रगौंडा हुँदै सो नगरपालिकाको केन्द्र वामीटक्सार पुग्न झण्डै ३ घण्टा समय लाग्दथ्यो । वर्षायामको समयमा त जाममा परेर दिनैभरी बिच बाटोमा अलपत्र पर्नु पर्दथ्यो ।

अहिले ग्रावेलिङ्ग गरिए पछि एक घण्टा मै पुग्न सकिन्छ । रुद्रवेणी वामीटक्सार सडकको अवस्था झन बेहाल थियो । त्यो पनि अहिले ग्रावेलिङ्ग भए पछि बाह्रै महिना यातायात सुविधा सहज भएको छ । यो नै कार्यभार सम्हाले पछि मुसिकोट नगरपालिकाका जनप्रतिनिधीहरुको देखिने कार्यहरु ।

कार्यभार सम्हाले लगत्तै टोल-टोलमा बाह्रै महिना यातायात सुविधा, शिक्षा र स्वास्थ्यमा सबैको पहुँच, गरिवी निवारणका लागि गरिदै आएको प्रयास, ब्यवसायीक कृषि उत्पादनमा ५० प्रतिशत अनुदान, नगरभित्र आवश्यक सबै खाले जनशक्ति उत्पादन, विकास निर्माणमा जनसहभागिता र हाल सम्म विभिन्न क्षेत्रमा दिलाईएका प्रत्यक्ष रोजगारीले मुसिकोट नगरवासीको छिट्टै मुहार फेरिने बिश्लेषण गर्छन नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) मुसिकोट नगर कमिटी अध्यक्ष खुमबहादुर थापा ।

‘अहिले नै यहाँका जनप्रतिनिधीहरुले जनताले गरेको अपेक्षा पुरा गरे भनेर भन्न सकिने अबस्था त छैन ’–उनले भने –‘तर अन्य स्थानिय तहमा भन्दा सन्तोष गर्ने ठाउँ छ, हुने विरुवाको चिल्लोपात भने झै मुसिकोटवासीको मुहार छिट्टै फेरिने बिश्लेषण हाम्रो पार्टी कमिटीले गरेको छ । ’

थापा त्यस नगरपालिकाका सरकार पक्षिय नेता हुन । उनको मात्रै दावी सबैलाई मन्य नहुन पनि सक्छन भनेर हामीले विपक्षी दल नेपाली कांग्रेस मुसिकोट नगर कार्य समितिका सभापति सुदर्शन शाक्यलाई पनि सोधेका थियौं । उनको भनाई यस्तो थियो–‘ प्रतिपक्षले आलोचना गर्नै पर्ने ठाउँ पनि छैन, राम्रै काम गरेर देखाए भनेर प्रशंसा पनि गर्न सक्दैनौ । जोहोस सडक सञ्जालको स्तरबृद्धि लगातका केहि कामहरु हेर्दा र रेसुङ्गा नगरपालिका संग तुलना गर्दा छिः भन्ने ठाउँ छैन । ’

नगर प्रमुख सोमनाथ सापकोटाले विभिन्न कार्यक्रममा भन्दै आएका छन –‘ चुनाव ताका हामी यो दल र त्यो दल भनौला , एकले अर्काको आलोचना पनि गरौंला तर विकास र जनताको आर्थिक समृद्धिमा हामी सरकार पक्ष र विपक्षी हुन सक्दैनौं , साझा ढंगले लागौं । उनले आफुहरुको प्रशंसा होईन, कम्जोरीमा आलोचना र काममा गोरु पेलाई गरेर आफुृहरु हरदम जोतिन तयार रहेको उद्घोष समेत गर्दै आएका छन ।

प्रतिपक्षले समेत ‘राम्रो’ भनेका यी हुन सडक सञ्जालहरु

करैले नसहि प्रतिपक्षले समेत राम्रो कामको थालनी भन्नै पर्ने त्यस नगरपालिका मुख्य १० महत्वपुर्ण सडक सञ्वालहरु रहेका छन ।

जसलाई नगरपालिकाले रिङ्गरोड र मुख्य १० ( टप टेन ) महत्वपुर्ण सडकको सुचिमा राखेको छ । ती हुन– पौदीअमराई ढाँड रङनाम अर्खवाङ्ग सडक, भञ्ज्याङ्ग कालिमाटी चुँदरीगाउँ खस्थोक देउराली भर्जुवा पास्ती मोटरबाटो , मल्दी पिपलडाँडा कुखरापोले देउराली सुदी वामी मोटरबाटो , भराह ठुलाचौर मैदान, तोलादी, झेँदी मोटरबाटो रहेको छ ।

त्यस्तै भङलाङ्ग दजाकोट हलोगाडे मैदान मोटरबाटो , ईन्द्रेगौडा धुमी मालिका मोटरबाटो , भुवाचिदी गुन्धारा भञ्ज्याङ्ग मालारानी मोटरबाटो, वामीटक्सार पैयाँपाटा मैदान मालारानी पुरानो गाउँ मोटरबाटो , गाईघाट माझखर्क मैदान मालारानी मोटरबाटो र वामीटक्सार काँडेवार गल्कोट मोटरबाटो । यी मोटरबाटोहरुको स्तरबृद्धि कार्य तिब्र पारिएको छ । जुन मोटरबाटाहरुले चारै तर्फका भित्रि टोल देखि नगरपालिकाको केन्द्र र सदरमुकाम सम्म छोटो दुरीले जोडिन्छ ।

अन्य सडक सञ्जाल

मुसीकोट नगरपालिकाबाट प्राप्त विवरण अनुसार नगर क्षेत्रभित्र रहेका सबैवडा हरुमा सडक पुगेका छन । सबै वडाहरुमा १२ महिना मोटर जान सक्छ । रिडी रुद्रबेणी वामी सडकले यस नगरपालिकाका ५, ६, ७ वडालाई जोड्दै गएका छ । त्यसै गरी दरङ्ग खोला इन्द्रेगौडा तम्घास बुटवल सडकले ३, ४, ५, ६, ७ वडा छुदै गएको छ ।

भन्ज्याङ्ग मैदान गागरे सडकले १, २, ३ लाई छोएको छ भने बुर्तिवाङ्ग बागलुङ्ग सडकले सिमाना हुदै ८ र ९ वडालाई समेटदै गएकाले मोडरकाटोको सहज पहूँच बनेको छ र हरेक उत्पादन बिक्रीगर्न सहज नगरपालिकाको दावी छ ।

उज्यालो नगर घोषणा

कार्यभार सम्हालेको सय दिन भित्र उज्यालो मुसिकोट नगरपालिका बनाउने चुनावी घोषणालाई त्यहाँका जनप्रतिनिधीलाई पुरा गरेका छन । नगरपालिकामा राष्ट्रिय प्रसारण लाइनबाट बिद्युत सेवा प्राप्त गर्ने ९५ प्रतिशत छन भने ५ प्रतिशत घरधुरीमा लघु जलविद्युतबाट विद्युतीकरण भइ उज्यालो नगरपालिका घोषणा भइसकेकको छ । त्यसैगरी सामुदायिक वन उपभोक्ता समिति ५९, सहकारी संस्थाहरु १५, बैक ३ र वित्तिय संस्था ८ वटा रहेका छन् ।

एक घर एक धारा अभियान पनि तिब्र

एक घर एक धारा पनि चुनावी नारा थियो । सोही अनुरुप हाल सम्म ७ सय घरधुरीमा पानीको धारा उपलब्ध गराईएको नगर प्रमुख सापकोटाले बताए । यस बर्ष २ हजार घरधुरीमा खानेपानी धारा पुराउने गरी खानेपानी योजनाको काम भई रहेको उनले सुनाए ।

उनका अनुसार त्यस सोही वडाको कालुङ्गा कोटफेरा थामडाँडा खानेपानी योजनामा यस बर्ष नगरपालिकाले २० लाख छुट्टाएको छ । उनका अनुसार ६ वडा खानेपानी पानी योजना सम्पन्न भई सकेका छन भने १२ वटा योजनाहरु सम्पन्न हुने चरणमा छन । पाँच बर्षे कार्यकाल पत्र नगरवासीमा एक घर एक धारा पुरा गरेरै छाड्ने नगर कार्य समितिको अठोट रहेको छ ।

एकिकृत वस्ती विकास कार्यक्रम अन्तर्गत एक घर एक धारा कार्यक्रम मार्फत सो नगरपालिका वटा नम्वर १ मा कालढुङ्गा, कोटफेरा खानेपानी योजना , वडा नम्वर ३ मा खोलापानी, धारापानी ठुलापोखरा मैदान लिफ्ट खानेपानी योजना , सोही वडामा पाउखोला पेखा लिफ्ट खानेपानी योजना , वडा नम्वर ४ मा भङ्गलाम दजाकोट लिफ्ट खानेपानी योजना , सोही वडामा लुङगुर खालो ललाङदी दजाकोट खानेपानी योजना , आँपचौर खानेपानी पुननिर्माण , वडा नम्वर ७ मा करङखोला मौरीभिर वामीटक्सार खानेपानी योजना , सोही वडामा वामी खानेपानी योजनाहरु मध्ये केहि सम्पन्न भई सकेका छन भने केहि निर्माणको चरणमा रहेको र करोडौं रकम विनियोजन भएको त्यस नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नवराज भण्डारीले जानकारी दिए ।

खरको छानारहित घर अभियान जारी

खरको छानारहित घर बनाउन नगरपालिकाले लिएको अभिायनलाई पनि पनि कार्यभार सम्हाले देखि जारी राखिएको छ । अघिल्लो आर्थिक बर्षमा ४६ लाख लागतमा १ सय ७१ घरधुरी खरका छाना विस्थापित गरि टिनका छाना लगाईएको त्यहाँ सुचना अधिकृत नवराज घिमिरेले जानकारी दिए । जसमा ब्यवस्थित पानी धारा र शौचालय समेत रहेका छन । त्यस नगरपालिका ९ को विकट उर्लेनी गाउँ सदियौं देखि खानेपानीको विकाराल अबस्था भोग्दै आएको दलित बस्ती हो ।

लेकको काँखमा अवस्थित उक्त दलित बस्तीमा स–साना खरका झुपडी थिए । अहिले त्यसा गाउँका ३२ घरधुरी दलित सहित हरियो टिनको छानाले हरोभरा र घर घरमा पानी, शौचालयले सफा समेत भएको छ । त्यो सहित अन्य वडाका दलित वस्ती सुधारमा भएका प्रयासको नतिजा पनि उर्लेनी गाउँमा जस्तै देखा पर्दै आएको दावी गर्छन त्यहाँका जनप्रतिनिधीहरु ।

यस आर्थिक बर्षमा खरका छाना विस्थापित कार्यक्रमका लागि त्यस नगरपालिकाबाट ५० लाख र प्रदेश सरकारबाट ५० लाख सहित १ करोड विनियोजन भएको त्यस पालिका आर्थिक विकास समितिका संयोजक तथा वडाध्यक्ष प्रकाश काफ्लेले बताए ।

भुगोल, जनसंख्या र आय श्रोत

९ वटा वडामा विभाजित मुसीकोट नगरपालिकाकाको कुल क्षेत्रफल ११४.७४ बर्गा कि. मि. रहेको छ । राष्ट्रिय जनगणना २०६८ अनुसार यस नगरपालिकामा ७,०७५ घरधुरी रहेको यो नगरपालिकाको जनसंख्या ३२,८०२ हुन पुगेकोे छ । जसमा महिलाको जनसंख्या १८,५९३ र पुरुषको जनसंख्या १४,२०९ पुगेकोे छ ।

त्यहाँका बासिन्दाको मूल आय श्रोत कृषि ह । स्वरोजगारीको मूल श्रोत पनि कृषि हो र कृषिमा ७० प्रतिशत आंशिक स्वरोजगारी रहेका छन । ज्याला मजदुरीमा १० प्रतिशत, व्यापार व्यवसायमा ५ प्रतिशत, नोकरी ३ र बैदेशिक रोजगार १२ प्रतिशत रहेको छन ।भौगोलिक हिसावले नगरपालिका प्राकृतिक रुपमा सुन्दर मानिन्छ । यसको सिमाना पूर्वमा चन्द्रकोट गाँउपालिका, पश्चिममा इस्मा गाँउपालिका, उत्तरमा बागलुङ्ग जिल्ला र दक्षिणमा रेसुङ्गा नगरपालिका रहेका छ । विकास प्रेमी प्रतिपक्षको पनि त्यहाँको सरकारलाई सकरात्मक आलोचना र साथ रहेको पाईएको छ ।

सांस्कृतिक तथा पर्यटकीय अवस्था

य मुसीकोट नगरपालिका पर्यटकीय हिसाबले उपयुक्त स्थान हो । छत्र मन्दिर, सिता गुफा, माइका स्थान, मुसीकोट दरबार, जोगीथुम देबी मन्दिर, सिद्धबाबा मन्दिर, देउराली, पात्लाकोट माई, छल्दि निस्ती दोभान देखि पाउखोला सम्म, थुम, खडक देबी, मनकामना मन्दिर, अकला देबी मन्दिर, शिवालय, देबी मन्दिर रहेको छ ।

त्यस्तै कमल जैसी देबीको मन्दिर, माइको थान, सिद्धेश्वर, पंधेरा शिवालय, राधाकृष्ण मन्दिर, कफी उद्गम क्षेत्र, कृषि पर्यटन, शहिद पार्क, बडिगाड नदिको भक्काने क्षेत्र, कोटेश्वर मन्दिर, चितडाँडा, कुर्घा स्वाँराको होमस्टे, मालीका मन्दिर, भुवा चिदीको तल्लो भाग बडिगाड आदी यस नगरपालिकाका मुख्य आकर्षण र पर्यटकीय गन्तव्य हुन ।

जहाँ ¥याप्टिङ्ग, प्याराग्याल्याईडिङ्गको सम्भाभ्यता अध्यान भई पर्यटन विकास प्रकृया सुरु भई सकेको छ । कुर्घा स्थित गुरुङ्गहरुको वस्ती स्वाँरामा होमस्टे सञ्चालन भई सकेको छ । मालारानी , दजाकोटमा पनि होमस्टे सञ्चालनको तयारी भई रहेको छ । ऐतिहासिक मुसिकोट दरवार र वामीटोमा पदमार्ग निर्माण र अर्को प्रशिद्ध तपोभुमी सालिमेदहमा आगन्तुक आवास गृह निर्मार्ण भई रहेको छ ।

साविक बडागाउँको थुमा डाँडालाई अकार्षक पर्यटकिय र पिकनिक स्थल बनाउन सुरु गरिएको छ । त्यस्तै शिद्धेश्वर गुफा, स्मालीथान, आँपचौर तल्लाफाँटमा तडबन्ध निर्माण संगै बिशाल र सुन्दर शहिद पार्क निर्माण कार्यको पनि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज विष्टले शिलान्यास गरेका छन ।

उनका अनुसार दोभान दिगामचौर नौबिसे राक्से लिलिङ्ग सडक, तल्लाफाँट आँपाचौर खर्बाङ्ग स्वाँरा मालारानी अर्लाङ्गकोट ददल्का सडक र ग्वादीकार्चौर खोल मैदानलाई नगरपालिकाले गौरवका योजनाका रुपमा अगाडी सारेको छ ।

गरिवी निवारण र स्वरोजगारीको प्रयास

स्वरोजगार मुलुक विभिन्न तालिम दिएर नगरभित्रै आबश्यक जनशक्ति उत्पादन गर्ने कार्यलाई सो नगरपालिकाले तिब्र पारेको छ । नगरपालिकाको ठम्याँईमा रोजगारीको स्रोतहरु भनेको कृषि र पशुपालन, व्यापार व्यवसाय आदी छन । कृषिमा ७० प्रतिशत संलग्न छन भने व्यापार र व्यवसायमा ५, नोकरीमा ३, ज्याला मजदुरीमा १० रबैदेशिक राजगारीमा १२ प्रतिशत संलग्न छन। रोजगारीकै सिलसिलामा यहाँका युवाहरु विदेसीने क्रम पनि प्रसस्तै छ ।

मौसमी रोजगारीका लागि भारततर्फ ४०, लामो रोजगारीका लागि जापान, युरोप, दक्षिण कोरीया र अमेरिका २०, मलेसिया १५ र अरव, कतार, कुवेत र दुवई लगायतका मुलुकतर्फ २५ प्रतिशत गएका छन ।

रोजगारीका अन्य स्रोतहरुमा उद्योग, व्यापार, मजदुरी र यातायात क्षेत्र हुन्, यी क्षेत्रहरुबाट पनि रामै्रसंग रोजगारी सिर्जना भएको छ । बैदेशिक रोजगारी बाट प्राप्त विप्रेषणको उपयोगको अवस्थालाई हेर्दा घर घडेरी किन्न २०%, खानपिनमा ४०%, शिक्षा १०% स्वास्थ्यमा ५%, व्यापार व्यवसायमा २, बिलासितामा ८% उपयोग गर्ने गरेको नगरपालिकाको तथ्याङमा उल्लेख छ ।

नगरवासीको आर्थिक अवस्था

मुसिकोट नगरपालिकाले तयार पारेको तथ्याङक अनुसार कुल घरधुरी संख्याको ४० प्रतिशतले आफ्नो उब्जेनीबाट ३ महिना सम्म खान पुराउने गरेका छन । ३ देखि ६ महिना सम्म खाना पुराउनेहरु २५ प्रतिशत रहेका छन । ६ देखि ९ महिना सम्म खान पुराउनेहरु २० प्रतिशत रहेका छन । ९ देखि १२ महिना सम्म खान पुराउनेहरु १० प्रतिशत रहेका छन । बर्षभर आफुलाई खान पुगेर पनि बिक्रि गर्ने ५ प्रतिशत रहेका छन ।

मुसिकोटको विकास कसरी गर्न सकिन्छ भनेर राष्ट्रि स्तर सम्मका ख्याति प्राप्त विभिन्न क्षेत्रका विद् र बौद्धिक जमात राखेर गुरुयोजना बनाउने काम पनि भई सकेको छ । समग्रमा बिश्लेषण गर्दा त्यहाँका जनप्रतिनिधीहरुले कार्यभार सम्हाले देखि गरेका प्रयासहरुको प्रतिफलको झल्कीँदो किरणले आगमी पाँच बर्ष भित्र त्यहाँको जनताको शिक्षा , स्वास्थ्य, कृषि र अन्य सिपबाट स्वरोजगारीबाट मुसिकोट नगरवासीले छिट्टै मुहार फेर्ने संकेत गर्दछ ।

प्रेम सुनार

सुनार अतिथि सम्पादक हुन् ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस