शिक्षामा प्रदेश ५ : पर्याप्त शैक्षिक संस्था

बुटवल । विद्यालय तहको शिक्षामा रुपन्देहीको बुटवल स्थापित भएको छ । सामुदायिक तथा निजी विद्यालयबीचको प्रतिस्पर्धाले बुटवल गुणस्तरीय शिक्षा प्रदान गर्ने स्थानका रूपमा कहलिएको हो ।

प्रशस्त शैक्षिक संस्था र विषयको उपलब्धताले गुणस्तरीय शिक्षाका लागि काठमाडौं तथा मुलुकबाहिर नै धाउनुपर्ने बाध्यता हटेको छ । विद्यालय तहको मात्र नभई उच्च शिक्षामा पनि सार्वजनिक शैक्षिक संस्थाले महँगा शिक्षण संस्थामा अध्ययन गरेकाहरूलाई टक्कर दिन थालेका छन् ।

एसइईपछिको अध्ययनका लागि प्रदेश ५ को अस्थायी राजधानी बुटवलसहित विभिन्न सहरका विद्यालय अब्बल मानिएका छन् । एसइईमा गतवर्ष उत्कृष्ट नतिजा ल्याउन सफल बुटवलको स्कलर्स होम बोर्डिङ सेकेन्डरी स्कुलका प्रिन्सिपल बाबुराम बन्जाडेले अध्ययनका लागि राम्रो वातावरण रहेको बताए ।

बुटवलसहित आसपासका क्षेत्रमा राम्रो शैक्षिक वातावरण रहेको भन्दै उनी अबका दिनमा अध्ययनका लागि बाहिर भौंतारिनुपर्ने आवश्यकता नरहेकाले अभिभावकको रेखदेखमा राम्रो वातावरणमा पढ्ने अवसर रहेको बताए । ‘हामी ११ कक्षाबाट नै विद्यार्थीलाई भविष्यको सुन्दर यात्राका बारेमा राम्रो परामर्शसहित शिक्षा दिन्छौँ, जसले गर्दा उनीहरूले उच्च शिक्षा हासिल गर्ने क्रममा प्राप्त गर्ने अवसर सहज हात पार्न सक्छन्,’ प्राचार्य बन्जाडे भन्छन्, ‘११–१२ कक्षाबाटै डाक्टर, इन्जिनियरसहित कृषि तथा अन्य महत्वपूर्ण क्षेत्रको अध्ययनका लागि छात्रवृत्ति प्राप्त गर्ने अवसरबारे पनि सचेत गराउँदै त्यही खालको शिक्षामा जोड दिन्छौँ ।’

बुटवलको कालिका मानव ज्ञान मावि नेपालकै उत्कृष्ट विद्यालयमध्येमा पर्छ । कालिकाका प्राचार्य घनश्याम पाठकले प्रदेश ५ शिक्षामा अगाडि रहेको र सामुदायिक विद्यालयहरूसमेत उत्कृष्ट रहेको बताए ।

अभिभावकको रेखदेख र आफूले नजिकबाट चिनेजानेका शिक्षकसँग पढ्दा विद्यार्थीलाई धेरै सकारात्मक प्रभाव पर्ने उनको भनाइ छ । उनले एसइईपछिको पढाइका लागि बुटवलमै राम्रो वातावरण रहेको बताए ।

कालिकामा १२ कक्षा उत्तीर्ण विद्यार्थीमध्ये गतवर्ष ४९ जनाले पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएका थिए । जसमा एमबिबिएस, इन्जिनियर, पढ्नेदेखि विभिन्न क्षेत्रमा अध्ययन गर्न चाहनेहरू थिए । बुटवलकै नवीन औद्योगिक कदरबहादुर रिता मावि र कान्ति मावि पनि उत्कृष्ट सामुदायिक विद्यालयमध्येमा पर्छन् ।

रुपन्देहीमा उच्च सुविधा भएका शैक्षिक प्रतिष्ठान सञ्चालनमा छन् । एसइई पास गरेका विद्यार्थीले कानुन, कृषि प्राविधिकदेखि होटेल म्यानेजमेन्ट, नर्सिङ, विज्ञान विषयसम्म बुटवलमै पढ्न पाउने अवस्था छ ।

बुटवलमा अध्ययनरत विद्यार्थी व्यवस्थापनमा पटक–पटक पश्चिमाञ्चल प्रथम भएका छन् । विज्ञानमा काठमाडौंका नाम चलेका कलेजको भन्दा राम्रो नतिजा ल्याएका छन् । न्यु होराइजन, एभरेस्ट, अक्सफोर्ड, ग्लोरियस, क्यानन, सिद्धार्थ, प्यारामाउन्ट जस्ता शैक्षिक संस्था विद्यार्थीको बढी रोजाइमा पर्दै आएका छन् ।

पछिल्लो समय रुपन्देहीका सामुदायिक विद्यालयमा प्राविधिक विषय पढाउन थालिएको छ । सिभिल इन्जिनियरिङ, बाली विज्ञान, कम्युटर इन्जिनियरिङ विषयका कक्षा सञ्चालन भएका छन् । त्यस्तै प्राविधिक शिक्षा दिने कलेज पनि सञ्चालनमा छन् ।

अक्सब्रिज इन्टरनेसनल एकेडेमीका निर्देशक डिपी खनाल पछिल्लो समयमा प्राविधिक शिक्षा विद्यार्थीको रोजाइमा रहेको भन्दै मुलुकको समृद्धिका लागि पनि प्राविधिक शिक्षा आवश्यक रहेको बताउँछन् । रुपन्देहीमा कृषि, स्वास्थ्य, इन्जिनियरिङ, शिक्षा, व्यवस्थापन, मानविकी, कानुन, समूहका विषयको अध्यापन हुँदै आएको छ ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस