विवाह गर्दै, पढ्न छोड्दै

प्युठान। प्युठान नौबहिनी गाउँपालिकामा बाल विवाहको कारणले शैक्षिक क्षेत्रमा समस्या देखिएको छ । बालबालिकाहरु कलिलो उमेरमै बिवाह गर्न थालेपछि यो समस्या देखिन थालेको हो ।

गाउँँपालिका लगायत विभिन्न बाल सरोकार निकायहरुले सचेतना मुलक कार्यक्रम गर्दै आए पनि बाल बिबाह रोख्न नसकेको गाउँपालिका अध्यक्ष शिव रिजालले बताए ।

‘यहाँ अभिभावकहरुले बाल बिबाह गरिदिएका छैनन्।’ अध्यक्ष रिजालले भने–‘बालबालिकाहरु १६ वर्ष पुग्नासाथ आफै बिबाह गर्ने र पढाइ छोड्ने समस्या देखिएको छ । ‘कतिपय अवस्थामा ८–९ कक्षामा पढ्दै गर्दा पढाइ छोडेर केही समय घरमै बस्ने अनि बिबाह गरी सानै उमेरमा पारिवारिक जिम्मेवारी बोक्ने गरेको अध्यक्ष रिजालले बताए ।

बाल बिबाह गरेका धेरै जोडीहरुलाई आ आफ्नो घरमा बस्ने र पठनपाठनलाई अगाडि बढाउने उमेर (२० वर्ष) पुगेपछि मात्र संगै हुने सल्लाह दिइ छुट्याइएको उनले जानकारी दिए । तर, कतिपय बिबाहित जोडीले आफुहरु छुट्टै बस्न नमान्ने उनले बताए । गरिब तथा जहेन्दार विद्यार्थीलाई पालिकाले नै पढाउने कुनै पनि बाल बालिकाहरु आर्थिक अभावमा शिक्षाबाट वञ्चित हुन नपरोस भन्ने उदेश्यका साथ नौ बहिनी गाउँपालिकाले गरिब तथा जेहन्दार विद्यार्थीलाई पढाउने नीति अगाडि सारेको छ ।

‘गरीब तथा जेहन्दार तर आर्थिक कारणले पढ्न नसकेका विद्यार्थीहरुलाई गाउँपालिकाले विशेष सहयोग गर्ने भएको छ’, अध्यक्ष रिजालले भने ‘ क्षमतावान विद्यार्थीबाट छनौट गरी छात्रा र छात्र १–१ जनालाई डाक्टर, इन्जिनियर र पाइलट सम्म पढाउने जिम्मा पालिकाले नै लिनेछ । पढाइ सकिएपछि उक्त विद्यार्थीले गाउँपालिकालाई ५ वर्ष सेवा गर्नुपर्ने छ ।’

त्यससंगै रोजगारीका अवसरहरु दिलाउन राजनैतिक दृष्टि अन्त्य गर्नका लागि विद्यार्थीहरुले प्राप्त गरेको प्रतिशतका आधारमा प्रतिष्पर्धा गरी छनौट गरिने नीति निर्माण गरेको रिजालले बताए ।

भौगोलिक हिसाबले विकट मानिने नौ बहिनीमा आर्थिक अभावका कारण धेरै बाल बालिकाहरु शिक्षाबाट वञ्चित हुनु पर्ने समस्यालाई अन्त्य गर्न यो नीति अगाडि सारिएको गाउँपालिका अध्यक्ष शिव रिजालले जानकारी दिए । यस्ता विद्यार्थीहरुले वडा कार्यालयमा निवेदन दिएपछि वडा कार्यालयले गाउँपालिकालाई सिफारिस गर्ने र सोही अनुसार विद्यार्थीको सम्पुर्ण खर्च गाउँपालिकाले नै व्यर्होने अध्यक्ष रिजालको भनाइ छ । चालु शैक्षिक सत्रमा गाउँपालिका वडा ७ बास्कोटका एक बालकलाई कक्षा ८ भर्ना गरेको समेत उनले बताए ।

३९ विद्यालयमा ५२ शिक्षक

विद्यालयमा पर्याप्त शिक्षक नहुँदा विद्यार्थीहरुको पठनपाठनमा समस्या देखिएपछि गाउँ पालिका भित्रका ३९ विद्यालयमा ५२ जना शिक्षक भर्ना गरेको छ । पालिकाले विद्यालयमा विद्यार्थी संख्या, भौतिक संरचना लगायतका विषयलाई अध्ययन गरी प्रा.वि. नि.मा.वि र मा.वि मा गरी ५२ जना शिक्षक नियुक्त गरेका पालिका अध्यक्ष शिव रिजालले जानकारी दिए । मा.वि तहका शिक्षकलाई मासिक २२ हजार ५ सय, निमावि तहका शिक्षकलाई १८ हजार ५ सय र प्रावि तहका शिक्षकलाई १६ हजार ५ सय तलब दिनेगरी नियुक्त गरेको अध्यक्ष रिजालले बताए ।

पालिकाको ८ वटै वडाका बालबालिहरुका पुर्ण रुपमा विद्यालय भर्ना भइसकेका छन् । यस भन्दा अघिल्ला दिनहरुमा अभिभावकबाट शुल्क असुली गरेर विद्यालय सञ्चालन गरेको भएता पनि अहिले त्यो समस्या पुर्ण रुपमा अन्त्य भएको छ।

पालिकाको धेरैजसो ठाउँहरु दुर्गम भएको हुँदा विभिन्न कारणले विद्यालय भर्ना हुन नसक्ने बालबालिकाको लागि अनाथलय सञ्चालन गर्ने प्रक्रियामा रहेको पालिका अध्यक्ष रिजालले जानकारी दिए ।

बुद्ध आधारभुत नि. मा. विका शिक्षक जितेन्द्र क्षेत्रीले स्थानीय सरकार आइसकेपछि विद्यालय सञ्चालनमा केही सहज भएको बताए । उनले भने–‘गाविस हुँदा शिक्षा क्षेत्रमा बजेट नै छैन भन्ने गर्थे र विद्यालय सञ्चालनमा धेरै अप्ठ्यारो भएको थियो तर, यो पछिल्लो समय स्थानिय सरकारले शिक्षक नियुक्त देखि विद्यालयको भौतिक संरचना निर्माणमा समेत राम्रै सहयोग छ ।’

हाल कक्षा १ देखि ७ सम्म सञ्चालन गर्दै आएको बुद्ध आधारभुत विद्यालयलाई आ.व.मा कक्षा आठ पनि सञ्चालन गर्ने तयारी गरेको उनले बताए । २ सय ९ जना विद्यार्थी संख्या रहेको उक्त विद्यालयमा ७ जना राहत शिक्षक र १ जना नीजि शिक्षकले अध्यापन गराउदै आएको उनको भनाइ छ ।

नमुना विद्यालय बनाए, पुरस्कारमा ल्याप्टप पाए

गाउँपालिकाले दिएको सुचकहरु पुरा गरी नमुना विद्यालयको रुपमा आफुलाई उभ्याउन सफल भएका ५ वटा विद्यालयले एक एक वटा ल्याप्टप र वार्षिक एक–एक लाख नगद पुरस्कार पाएका छन् । यस गर्दा गाउँपालिकामा रहेका सबै विद्यालयहरुलाई हौसला समेत मिलेको छ ।

राधिका भुसाल

भुसाल प्युठान संवाददाता हुन्।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस