निःशुल्क शिक्षा व्यवस्था, भर्ना अभियानमा उठाएको ६३ लाख फिर्ता गरिने

प्युठान  ।  १ देखि १० कक्षासम्म प्युठान नगरपालिकाले निःशुल्क शिक्षाको व्यवस्था गरेको छ । चालू आर्थिक वर्ष ०७६र७७ को बजेट पारित गर्दै नगरपालिकाले नगरमा निःशुल्क शिक्षाको अवधारणा पारित गरेको हो । शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले नगरपालिकाले यो निर्णय गरेको नगरप्रमुख अर्जुनकुमार कक्षपतिले बताए । सरकारले आधारभूत तहलाई निःशुल्क तथा अनिवार्य गरे पनि कार्यान्वयन भएको थिएन ।

अभिभावकको सल्लाहअनुसार यो कार्य भदौबाट सुरु हुने उनले बताए । खासगरी समुदायमा रहेका गरिब तथा विपन्न परिवारका बालबालिकालाई यो अभियानले साथ दिने उनले बताए । नगरप्रमुख कक्षपतिले शिक्षा आर्जनबाट कुनै पनि बालबालिका वञ्चित नहुने बताए ।

नगरपालिका क्षेत्रभित्र भर्ना भएका एक कक्षादेखि १० कक्षासम्मका १० हजार विद्यार्थीबाट नयाँ शैक्षिक सत्रमा लिएको शुल्क फिर्ता गर्ने निर्णय गरेको नगरप्रमुख कक्षपतिले बताए । बुधबार सम्पन्न ५औँ नगरसभामा यस्तो निर्णय भएको उनले बताए  । नगरपालिकाभित्रका ५२ सामुदायिक विद्यालयमा उठेको ६३ लाख रुपियाँ फिर्ता गरिने नगरप्रमुख कक्षपतिले बताए ।

शिक्षाको गुणस्तर बढाउनुका साथै शिक्षण सिकाइ प्रभावकारी बनाउनका लागि यो कार्यलाई निरन्तरता दिन नगरपालिका लागिपरेको नगरप्रमुख कक्षपतिको भनाइ छ । आगामी दिनमा कुनै पनि बालबालिका शिक्षा आर्जनबाट टाढा नहुने अपेक्षा नगरपालिकाले गरेको छ ।

विद्यालयले उठाएको शुल्कलाई शिक्षाको अभिवृद्धि गर्ने, गुणस्तर बढाउने तथा विद्यालयहरूलाई अनुदानका रूपमा दिने नगरपालिकाको योजना रहेको नगरप्रमुख कक्षपतिले बताए ।

प्युठान नगरपालिकाले शुल्क फिर्ताको कार्यलाई कार्यान्वयन गर्न तीन वर्षको नगर शिक्षा योजना अघि सारेको छ । शिक्षालाई विशेष रूपमा प्राथमिकता दिँदै जनताको जीवनस्तर माथि उकास्नका लागि यो अभियानले सहयोग गर्ने नगरप्रमुख कक्षपतिले जानकारी दिए ।

‘जनताको जीवनशैली परिवर्तन सँगै शिक्षाको चेतना फैलाउनका लागि यो कार्यको थालनी गरिएको छ । ’ उनले जानकारी दिए ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस