राममणि बहुमुखी क्याम्पसले क्यू.ए.ए. प्राप्त गर्यो

मणिग्राम । प्रदेश नम्बर –५ का मुख्यमन्त्री शंकर पोखरेलले अन्तर्राष्ट्रिय वैधतायुक्त गुणस्तर प्रमाण “क्यू.ए.ए.” प्राप्त क्याम्पसहरू राष्ट्रका गहना भएको उल्लेख गर्नुभएको छ ।

रूपन्देही मणिग्राममा सञ्चालित राममणि बहुमुखी क्याम्पसले क्यू.ए.ए. प्राप्त गरेको अवसरमा आयोजित विशेष समारोहमा बोल्दै मुख्यमन्त्री पोखरेलले प्राज्ञिक स्वायत्तता हुँदै संस्थागत स्वायत्ततातर्फ उन्मुख हुन प्रदेश सरकारले सघाउने बताउनुभयो । साथै, मुख्यमन्त्री पोखरेलले राममणि जस्ता क्यू.ए.ए. प्राप्त संस्थाका कारण विश्वव्यापी गुणस्तरका शिक्षा मणिग्राममै प्राप्त हुने भन्दै खुशी व्यक्त गर्नुभयो ।

सो अवसरमा तिलोत्तमा नगरपालिकाका कार्यबाहक नगरप्रमुख जगेश्वरदेवी चौधरीले नगरपालिकाको गरिमाका रूपमा राममणि उदाएको भन्दै क्याम्पसको थप विकाशका लागि नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो । कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका सहायक डीन दिनेशमणि घिमिरेले क्यू.ए.ए. प्राप्ति आफैमा उपलब्धि र थप विकाशका लागि चुनौती रहेको भन्दै गुणस्तर निरन्तरका लागि सुझाव दिनुभयो ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष रोमणीप्रसाद पाठकले संस्थालाई निरन्तर प्रगतिमा लैजानका लागि आफूहरू योजना र गृहकार्यका साथ अघि बढेको बताउनुभयो । सो अवसरमा गुणस्तर प्रमाण प्राप्तिको सन्दर्भमा प्रतिवेदन प्रस्तुत गर्दै क्याम्पस प्रमुख मोहनराज शर्माले सबैको सद्भाव र क्याम्पस परिवारको अथक मेहनतले यो उपलब्धि हासिल भएको बताउनुभयो ।

गुणस्तरको निरन्तरताका लागि क्याम्पसले सबै प्रावधान र योजना कार्यान्वयन गरिरहेको समेत क्याम्पस प्रमुख शर्माले उल्लेख गर्नुभयो । क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष गोपाल भट्टराईले यस क्षेत्रको विकाशका लागि क्याम्पसलाई सघाइराख्न सबैसँग आग्रह गर्नुभएको थियो ।

क्याम्पसका उपप्राध्यापक मुक्तिनाथ गैहे्को सञ्चालनमा भएको कार्यक्रममा लुम्बिनी वाणिज्य क्याम्पसका क्याम्पस प्रमुख डा. ताराप्रसाद उपाध्याय, सिद्धार्थ गौतमबुद्ध क्याम्पसका क्याम्पस प्रमुख बाबुराम पाण्डे, वनारस हिन्दु विश्वविद्यालयका नेपाली विभागका प्राध्यापक डा. शिव पौडेल, तिलोत्तमा चेम्बर अफ कमर्सका अध्यक्ष जे.पी. कण्डेल, यातायात व्यवस्था कार्यालय सवारीतर्फका प्रमुख मुक्तिप्रसाद पाण्डे, एन.एम.वि. बैंक मणिग्रामका शाखा प्रबन्धक एवम् पूर्व विद्यार्थी युवराज पाठक, अनेरास्ववियूका सागर न्यौपाने, नेपाल विद्यार्थी संघका विक्रम रसाली लगायतले क्याम्पसको विकाशका लागि आफूहरू सदैव साथ साथ रहेको बताउनुभयो ।

विद्यार्थीहरूका साँस्कृतिक प्रस्तुतिसहितको उक्त समारोहमा क्याम्पसको गुणस्तर प्राप्तिका लागि स्वअध्ययन समूहमा आवद्ध भई काम गर्ने मुक्तिनाथ गैहे् कृष्णकुमार रेग्मी, नोवराज तिवारी, सुबोध भट्टराई र नारायणप्रसाद खराललाई विशेष सम्मान गरिएको थियो ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस