प्यूठान नगरपालिका ८ पहिलो बालमैत्री वडा बन्यो

प्यूठान । प्यूठान नगरपालिका ८ धर्मावती स्थानीय तह पछिको पहिलो बालमैत्री वडा घोषणा भएको छ ।

प्यूठान नगरपालिकाको स्थानीय बालमैत्री शासन, रणनीति र कार्यान्वयन कार्यविधि अनुसार सूचकहरु पुरा गरी बालमैत्री वडा घोषणा भएको हो । “बाल बालिकामा लगानी लगाऔं, बालमैत्री अभियानमा सहभागी बनौं” भन्ने नाराका साथ बामैत्री वडा घोषणा गरिएको छ ।

बाल बचाउ, बाल संरक्षण, बाल विकास र बाल सहभागिता वडाले बालमैत्री अभियानहरु सञ्चालन गरी आवश्यक चरणहरु बालमैत्री स्थानीय शासनको अवधारणा अभिमुखीकरण, विकास र विस्तारसंगै प्रवर्धनका लागि वडा समितिको पुर्नगठन गरेको थियो ।

बालमैत्री नीति, रणनीति कार्ययोजना तर्जुमा, सुचकको अवस्था विश्लेषण तथा समुदायको अवस्था पहिचान , कुल पुँजीगत बजेटको १५ प्रतिशत रकम बाल बालिकाको क्षेत्रमा खर्च गर्ने प्रतिवद्धता, न्यूनतम सूचकको सेवा निर्धारण, बाल कोषको स्थापना, बालक्लव सञ्जालको पुर्नगठन, सरोकारवालाको पहिचान र समन्वय, प्रतिवद्धता घोषणा २०७४, बाल बालिको स्थिति पत्र तर्जुमा र सार्वजनिकीकरण, अनुगमन समिक्षा र मुल्यांकन लगातका १६ चरणहरु पुरा गरी बाल मैत्री वडा घोणषा गरिएको प्रतिवेदनमा उल्लेख छ ।

१९८९ नोभेम्बर २० मा जारी भएको बाल अधिकार महासन्धि भएको थियो । नेपालमा बाल अधिकार सुनिश्चित गर्ने सन्दर्भमा नेपाल सरकारले कानुनी, नीतिगत, संरचनागत र कार्यक्रमिक सवलीकरण गर्दै आइरहेको छ ।

बाल बालिका भविष्यका कर्णधार मात्र होइनन् वर्तमानका साझेदार पनि हुन भन्ने मान्यतालाई व्यवहारिक रुप दिनका लागि बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति २०६८ जारी भएको थियो । त्यसै अनुरुप प्यूठान नगरपालिकाको बालमैत्री स्थानीय शासन घोषणा कार्यविधि २०७५ ले निर्धारण गरेका सूचक र प्रक्रियाहरुलाई पूर्णता दिइ स्थानिय तहको पहिलो बालमैत्री वडा घोषणा गरिएको वडा अध्यक्ष लिलाप सिंह केसीले बताए ।

बालबालिका माथिको लगानी देशको लगानी हो : पुर्व मन्त्री शर्मा

मानसिक र बौद्धिक विकास नभएसम्म भौतिक संरचना विकासले मात्र विकास पूर्ण नहुने पूर्व सामान्य प्रशासन मन्त्री एवं माननीय सांसद रेखा शर्माले बताइन् ।

“विकास दुवै किसिमले गर्नुपर्छ”–मन्त्री शर्माले भनिन्–“मानिसको दिमागको विकास गर्नु विकास हो तर, हामीले भौतिक संरचना निर्माणलाई मान्ने गर्छौ ।र्” स्वस्थ, शिक्षित, बौद्धिक र जिम्मेवारी बनाउन बालबालिकामा लागानी गर्नु भएको देशमा लगानी गर्नु हो ।

आज लगानी गरेको बालबालिका भोली हाम्रो देशको अब्वल जनशक्ति भएकाले मानसिक र बौद्धिक विकास विनाको भौैतिक पूर्वाधार विकास दिगो हुन नसक्ने हुंदा बालबालिकाको क्षेत्र विशेष लागानी गर्नुपर्ने उनले बताइन ।

“संविधानको मौलिक हकमा १० वटा बुदामा बालबालिकाको हक सम्बन्धि सुनिश्चितता गरिएको छ,”– पूर्व मन्त्री शर्माले आग्रह गर्दै भनिन–“ मौलिक हक सम्बन्धि सम्पूर्ण कानुुनहरु बनिसकेका छन् त्यस कारण स्थानीय तहले बालबालिका, अभिभावक, आफन्तहरु सबैलाई कानुनमा बालबालिकाको हक सम्बन्धि भएको व्यवस्था, नीतिलाई आमरुपमा फौलाउदैंं बुझाउनु पर्छ ।

” प्यूठान जिल्ला बालबिबाहको समस्या ग्रस्त जिल्ला भएको उनले बताइन । आवश्यक मापदण्ड पुरा गरेर बालमैत्री वडा घोषणा गर्नु आफैमा सकारात्मक विषय भएको बताउदैं उनले भनिन्–“घोषणा गर्नु मात्र मुख्य कुरा होइन यसलाई कसरी निरन्तरता दिदैं र टिकाइ राख्नु पर्छ ।” घोषणा पछि देखिएका चुनौतीहरु प्रति जनसमुदाय र अभिभावहरु नै सचेत नभएसम्म निरन्तरतामा समस्या देखिने शर्माले बताइन् ।

प्रत्येक्ष रुपमा बालबालिकालाई फाइदा पुग्ने कार्यक्रमहरु सञ्चालन गर्न बजेट छुट्याउने कुरामा आफु सदैव सकारात्क रहेको उनको भनाइ छ ।

मोटरबाटो निर्माणले बाल विकास हुंदैन : अध्यक्ष विक

स्थानिय तहले मन्दिर, बाटोघाटो, पुल, प्रतिक्षालय बनाउदैमा बाल बिकास नहुने भन्दै प्रत्यक्ष बाल बालिकालाई फाइदा पुग्ने कार्यक्रम अगाडि सार्नु पर्ने अध्यक्ष विकले सुझाव दिएका छन् ।

धेरै जसो शिक्षकहरु बैकल्पिक पेशा अंगाल्दै अध्यापन गराउदा विद्यार्थीको पठनपाठन्मा समस्या देखिएकोले विद्यालय समयमा शिक्षण पेशालाई नै मध्यनजर गरिनु पर्ने जिल्ला बाल सञ्जाल प्यूठानका अध्यक्ष प्रेम विकले बताए ।

भविष्यका अब्बल जनशक्ति आजका बालबालिकाको विकास गर्न प्यूठान जिल्लामा आउने सांसदकोषको रकमबाट ५० प्रतिशत बाल बिकासको निम्ती खर्च गर्न पूर्वमन्त्री शर्मालाई आग्रह समेत गरेका छन् ।

जनता माध्यमिक विद्यालय बाग्दुलामा शुक्रबार सम्पन्न घोषणा कार्यक्रममा स्थानीय महिला सराय नाँच, सोरठी नाँच, सन्देश मुलक लोक गीत र बाल विवाह सम्बन्धि सन्देशमुलक सडक नाटक प्रस्तुत गरिएको थियो ।

राधिका भुसाल

भुसाल प्युठान संवाददाता हुन्।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस