शिक्षा सुधारको योजना बनाउँदै

दाङ  । सार्वजनिक शिक्षा सुधारका लागि तुलसीपुर उपमहानगरपालिकाले योजना निर्माण गर्न लागेको छ ।

सार्वजनिक विद्यालयको सिकाई उपलब्धि आशातित रुपमा राम्रो हुन नसकेपछि उपमहानगरपालिकाले विभिन्न क्षेत्रका व्यक्तिहरुबाट शैक्षिक सुधारको योजना निर्माण गर्न लागेको शिक्षा प्रमुख भाष्कर गौतमले जानकारी दिए ।

उनले पहिलो चरणमा विभिन्न पेशागत शिक्षक नेतृत्वसँग छलफल तथा सुझाव संकलनको काम अगाडि बढाएको समेत बताए । ‘विभिन्न क्षेत्रका व्यक्तिहरुसँग छलफल गर्नेछौ’ उनले भने ।

विभिन्न पेशागत संगठनका ३० जना शिक्षकहरुको सहभागितामा योजना निर्माण गरिएको पनि उनले बताए । योजना निर्माण गर्दा सामुदायिक विद्यालयको शिक्षा सुधार हुन नसक्नुको कारण, त्यसको उपाय र सुधारका लागि पेशागत शिक्षकको भुमिका कस्तो हुन सक्छ भनेर चर्चा गरिएको पनि प्रमुख गौतमले जानकारी दिए ।

सामुदायिक विद्यालय सुधार्नका लागि उपमहानगरपालिकाले योजना निर्माणमा प्राथमिकता दिएको भन्दै दिपेन्द्र मावि मानपुरका गिरीराज लम्सालले खुसी व्यक्त गरे ।

कुनै पनि कुरा राम्रो बनाउनका लागि सबै पक्षको उत्तिकै भुमिका हुने भन्दै लम्सालले गहन ढँगले अध्ययन भएपछि सुधारको काम अगाडि बढ्न सक्ने बताए । ‘हामीकहाँ सतही रुपमा विश्लेषण गर्ने प्रवृत्ति रहेको छ गहन ढँगले अध्ययन नगरेर कसरी शिक्षाको अवस्था सुधारिन्छ’ लम्सालले भने ।

सामुदायिक विद्यालयको सुधारका लागि विभिन्न २४ वटा क्षेत्रमा आधारित रहेर प्रश्न गर्न लागिएको स्रोत व्यक्ति मुकुन्द रिजालले जानकारी दिए । स्रोत व्यक्ति रिजालका अनुसार सबैका सुझाबहरुलाई संकलन गरेर निष्कर्ष निकाली कार्यान्वयन गरिनेछ ।

शिक्षा क्षेत्रमा पेशागत शिक्षकको भुमिका अहम् हुने उनको भनाई थियो । ‘शिक्षक आफैले योजना बनाउँदा काम गर्न सजिलो होस् भनेर यस्तो गरिएको हो ’ रिजालले भने ।

सामुदायिक विद्यालय सुधारका लागि विद्यालय पहुँच, पाठ्यक्रम, शिक्षण विधि, मुल्यांकन लगायत विभिन्न विषयमा ध्यान दिनुपर्ने आवश्यकता रहेको टिच फर नेपालका निर्देशक शिशिर खनालले बताए । उपमहानगरपालिकाका शिक्षा सल्लाहकार समेत रहेका खनालले सामुदायिक विद्यालयतर्फको आकर्षण बढाउनका लागि शिक्षक आफै जागरुक हुनुपर्ने बताए ।

लिलाधर वली

वली दाङका संवाददाता हुन् ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस