पूर्वखोलाका सबै निजी विद्यालयहरु सामुदायिक विद्यालयमा मर्ज

पाल्पा ।  पूर्वी पाल्पाको पूर्वखोला गाउँपालिकाले आफ्नो गाउँपालिकाभित्र रहेका सबै नीजि विद्यालयहरुलाई सामुदायिक विद्यालयहरुसँग मर्जगरी आधारभूत तह अंग्रेजी माध्यममा सञ्चालन गर्ने निर्णय गरेको छ ।

पूर्वखोला गाउँपालिकाको शैक्षिकस्तर सुधार र व्यवस्थापनका निम्ति बनेको शिक्षा सुधार कार्य दलले सो पालिकाभित्र रहेका ३७ वटा सरकारी र ५ वटा नीजि विद्यालयहरुका अध्ययन अवलोकन गरी प्राविधिक समितिले दिएको सुझावको आधारमा गाउपालिका भित्र संचालित निजी विद्यालयहरुलाई सामुदायिक विद्यालयमा मर्ज गरिएको हो ।

शैक्षिकस्तर सुधार र व्यवस्थापनका निम्ति बनेको शिक्षा सुधार कार्य दलको प्रतिबेदनलाई आधार बनाएर लागत निर्धारण गरि समायेजन गरिएको शिक्षा सुधार कार्यदलका संयोजक एवम गाउँपालिका प्रमुख नूनबहादुर थापाले बताएका छन ।

नीजि विद्यालयलाई न्यूनतम २२ लाखदेखि आधा करोडसम्म रकम भुक्तानी गर्नुपर्ने भनी प्राविधिक समितिले प्रतिवेदन बुझाएको छ ।

यस वर्ष नीजि विद्यालयहरु उद्वुद् मावि, सरस्वती मावि, गणपति मावि, मातृभूमि मावि र शम्भू माविमा समाहित हुने छन । ती माविहरुलाई मूल विद्यालयका रुपमा पहिचान गरिने र नीजि विद्यालयलाई सहायक विद्यालयका रुपमा हेरिने थापाले बताएका छन ।

यस शैक्षिक वर्षमा अभिभावकको मन जित्न र मूल विद्यालयले भौतिक व्यवस्थापन गर्नुपर्ने भएकोले पनि जुन नीजि विद्यालय जहाँ चलेका छन त्यहिनै चल्ने र शिक्षकहरु पनि पहिलेकै हुने गरी मूल विद्यालयको मुख्य निरीक्षणमा ती समायोजित विद्यालयहरु संचालन हुने समेत कार्यदलका संयोजक एवम गाउँपालिका प्रमुख नूनबहादुर थापाले बताएका छन।

विद्यालय मर्ज हुँदा नीजि विद्यालयका विद्यार्थीमात्रै होइन शिक्षकहरुको सेवाको सुरक्षा ग्यारेन्टी गरिएको छ । नीजि विद्यालयमा करिव पाँच सय ९५ जना विद्यार्थीले अध्ययन गर्दै आएका थिए ।

संघीय,प्रदेश र स्थानीय सरकारका साथै दातृ निकायहरुबाट आर्थिक सहयोग लिई ती नीजि विद्यालयहरुलाई प्राविधिक समितिले दिएको सुझावका आधारमा आर्थिक व्यवस्थापन गरिने गाउँपालिकाका प्रमुख नूनबहादुर थापाले जानकारी गराएका छन ।

संघीयता कार्यान्वयन भईसक्दा पनि शिक्षा क्षेत्रमा विभिन्न वाधा,अड्चन र झमेलाका कारण विद्यालयहरु समायोजन हुन नसकि रहेको वर्तमान अवस्थामा पूर्वखोला गाउँपालिका र पालिकाका अध्यक्ष नूनबहादुर थापाले सबैलाई नमूना देखाउने गरी उदाहरणीय एवम् साहसीक काम गरेका छन ।

निजी विद्यालयहरुलाई सामुदायिक विद्यालयहरुमा समायोजन गरी गाउपालिकाको शिक्षामा परिबर्तन ल्याउने महत्वपुर्ण कार्यका लागि गाउँपालिका,स्थानीय राजानीतिक पार्टी,शिक्षाविद्हरु,सोही क्षेत्रका सांसदहरुको समेत विशेष भूमिका रहेको थियो ।

जगिलाल थापा

थापा रुपन्देहीका संवाददाता हुन् ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस