भारतीय आलु–प्याजको आयात बढ्यो

बुटवल  ।  भारतीय बजारबाट हरियो तरकारीको आयात घटे पनि आलु–प्याजको आयात भने बढेको बढ्यै छ ।

बजार केन्द्रका व्यवस्थापक रामबहादुर खत्री भन्नुहुन्छ, बुटवलको कृषि उपज तथा थोक बजार केन्द्रमा आलु–प्याज मात्रै दैनिक १ करोड ३० लाख रुपैयाँ बराबरको आयात भइरहेको  छ  । ‘कारोबार हुनेमध्ये एक प्रतिशत आलुमात्र स्वदेशी हो,’ उनले भने, ‘९९ प्रतिशत आलु र शतप्रतिशत प्याज भारतबाट आयात हुने गरेको छ ।’

स्वदेशी विकल्प दिन नसक्दा आयात बढ्यो

गत वर्षसम्म केन्द्रमा दैनिक एक करोड रुपैयाँको आलु–प्याजको कारोबार हुन्थ्यो । केन्द्रमा अहिले दैनिक तीन करोड रुपैयाँको तरकारी तथा फलफूलको कारोबार हुन्छ । त्यसमध्ये करिब ८० लाख रुपैयाँको हरियो तरकारीको कारोबार हुन्छ । अघिल्लो वर्षसम्म १५ प्रतिशत भारतीय तरकारी आयात हुन्थ्यो । ‘अहिले मुस्किलले शून्य दशमलव ५ प्रतिशत मात्रै आइरहेको छ,’ व्यवस्थापक खत्रीले भने, ‘हरियो तरकारीको जस्तै आलु–प्याजमा स्वदेशी विकल्प दिन नसक्दा आयात बढेको हो ।’

बुटवलको विषादी मापन प्रयोगशालामा दैनिक ३० देखि ४० वटा फलफूल तथा तरकारीको नमुना परीक्षण हुन्छ । त्यसमध्ये करिब १२ देखि १५ वटा आलुका नमुना छन् । हरियो तरकारी भने जम्मा १ देखि २ वटा मात्रै हुने गरेको विषादी मापन प्राविधिक नरदेशप्रसाद प्रभाकरले बताए ।

पछिल्लो पटक असार २६ देखि सुरु प्रयोगशालामा भारतीय बजारबाट भित्रिएका करिब आठ सय आलु–प्याजका नमुना परीक्षण भएको छ । त्यसमध्ये २ वटा नमुना त प्रयोग गर्नै नहुने भेटिएका थिए । तर पनि, यसको आयातमा कुनै असर देखिएको छैन ।

भैरहवा भन्सार हुँदै आयात गरिने आलु–प्याजको मात्रा बर्सेनि बढिरहेको छ । भन्सारका सूचना अधिकृत कलिराम पौडेलका अनुसार गत आर्थिक वर्षमा ४ अर्ब ४४ करोड ५९ लाख ३० हजार रुपैयाँ बराबरको आलु–प्याज आयात भएको थियो । अघिल्लो वर्षको तुलनामा यो ३२ करोडले बढी हो । आर्थिक वर्ष ०७४र७५ मा ४ अर्ब १२ करोड ६४ लाख ४४ हजार बराबरको आलु–प्याज आयात भएको थियो । चालु आर्थिक वर्षको साउन महिनामा मात्रै करिब ९० करोडको आलु–प्याज आयात भएको छ ।

प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका वरिष्ठ कृषि विकास अधिकृत विनोद घिमिरेले किसानलाई प्रत्यक्ष फाइदा पुग्ने सीप र प्रविधि नदिंदा पनि उत्पादन बढाउन र आयात रोक्न नसकिएको बताए । ‘रोग कीराको संक्रमण बढी हुने र बजार भाउ नपर्ने डरले आलु–प्याज खेती गर्ने किसान घट्दै गएका छन्,’ उनले भने, ‘आयात बढ्नु यसको प्रत्यक्ष असर हो ।’ कृषि विज्ञहरूका अनुसार मुलुकको हिमाल, पहाड र तराई सबैतिरको हावापानीमा आलु फल्छ ।

आलुको उत्पादन बढाउन तीनै तहका सरकारले विभिन्न अनुदानका कार्यक्रम चलाएका छन् । आलुको बीउमा अनुदान तथा प्राविधिक सहयोगका कार्यक्रम हरेक जिल्लामा छन् । प्याज खेती पहाड र तराईमा हुन्छ । प्याज उत्पादन बढाउन बीउमा अनुदान छ । यद्यपि, रोग कीराको संक्रमण धेरै हुने र लागत अनुसार बजार भाउ नपाउने भएकाले किसान आलु–प्याज खेतीप्रति आकर्षित हुन सकिरहेका छैनन् ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तरकारी विकास निर्देशनालयले रूपन्देहीसहित १० जिल्लामा प्याज मिसन कार्यक्रम सञ्चालन गरेको थियो । तर, किसानले आवश्यक सीप तथा प्रविधि बढाउन र सरकारले भण्डारण सुविधा दिन नसक्दा अभियान सफल भएन । ‘भण्डारण नहुँदा लागत अनुसारको मूल्य पनि परेन,’ यसअघि प्याज मिसन अन्तर्गत खेती गरिरहेका धकधईका किसान राजेन्द्र यादवले भने, ‘अहिले घरायसी उपयोगका लागि बाहेक प्याज खेती गर्दैनौं ।’

सरकारले चिस्यान केन्द्रमा भण्डारण गर्ने व्यवस्था नमिलाउँदा पनि किसानले आलु–प्याजमा लागत अनुसारको मूल्य नपाएको कृषि विज्ञ मदनराज भट्टले बताए ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस