जस्तापाता खरिदका लागि नगद अनुदान

बाँके । सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले फुसको छाना विस्थापनका लागि  बाँकेका एक हजार ९ सय गरिब तथा विपन्न परिवारलाई जस्तापाता खरिदका लागि रकम वितरण गर्नुभएको छ  ।

फुसको छानाका कारण तराई–मधेसका जिल्लामा आगलागी हुँदा ठूलो परिमाणमा धनजनको क्षति हुने गरेकाले विपन्नका लागि जस्तापाता वितरण गरिएको हो ।

मन्त्री राईले विपद् व्यवस्थापनका लागि फुसको छाना विस्थापन कार्यक्रम ल्याएको बताउनुभयो । उहाँले यसवर्ष मुलुकभरका २० हजार फुसका छाना विस्थापनका लागि एक अर्ब रुपैयाँ वितरण गर्ने योजना रहेको बताउनुभयो । आगलागी र बाढीको मारमा सबैभन्दा धेरै गरिब तथा विपन्न परिवार पर्दै आएका छन् । जस्तापाताले गरिब तथा विपन्न परिवारलाई राहत पुग्ने उहाँको भनाइ छ ।

१० हजार बिरुवा राप्ने

दुई वर्षभित्रै नेपालगन्जलाई देशकै नमुना सहर बनाउन बजेटको व्यवस्था गरेको उहाँको भनाइ छ । उहाँले आर्थिक वर्ष ०७६र७७ लाई वृक्षरोपण वर्षका रूपमा मनाउन लागिरहेको बताउनुभयो । नेपालगन्जमा १० हजार बिरुवा राप्ने कार्यक्रम छ । ‘साउन पहिलो सातादेखि नेपालगन्जका विभिन्न स्थानमा १०–१२ फिटका बिरुवा ल्याएर रोपिनेछ,’ उहाँले भन्नुभयो ।

नेपालगन्जलाई उज्यालो सहरका रूपमा विकास गर्ने

नेपालगन्जलाई उज्यालो सहरका रूपमा विकास गर्ने योजना छ । कार्यक्रममा मन्त्री राईले नेपालगन्ज नगरलाई उज्यालो सहरका रूपमा विकास गर्न नगरका ५० चोकमा हाइमास्ट लाइट जडान गर्ने बताउनुभयो । ‘नेपालगन्जलाई झिलिमिली बनाउन चोक–चोकमा हाइमास्ट लाइट जडान गर्न रकम विनियोजन भएको छ,’ उहाँले भन्नुभयो ।

उहाँले नेपालगन्ज उपमहानगरपालिकाका एक हजार चार सय र डुडुवा गाउँपालिकाका सात सय परिवारलाई जस्तापाता खरिदका लागि प्रतिपरिवार ५० हजार दिन लागेको बताउनुभयो। पहिलो किस्तामा ३० हजार र घरमा जस्तापाता लगाएपछि बाँकी २० हजार रुपैयाँ दिने भएको छ । तर, सेवा शुल्क कटाएर सेवाग्राहीले ४७ हजार पाँच सय रुपैयाँ पाउने मन्त्री राईले बताउनुभयो।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस