सोलारबाटै खानेपानीको समस्यादेखि मुक्त टाकुरावासी

प्युठान । वर्षौ देखि एकगाग्री पानी भर्नाका लागि एक डेढ घण्टा हिड्नु पर्ने समस्या झेल्दै आएका प्यूठान नगरपालिका ५ टाकुरावासीहरु अहिले खानेपानीको समस्याबाट मुक्त भएका छन् ।

मानव जीवनमा दैनिक सवै भन्दा बढि आवश्यक पर्ने पानी तर, त्यही पानीको अभाव हुदां घरायसी काम चलाउन मुस्किल पर्ने गर्छ । लामो समयको पखाई पछि सोलार लिफ्ट खानेपानी योजना सम्पन्न भएपछि अब पानीको समस्याबाट मुक्त भएको टाकुरीवासीले बताए ।

‘नजिकको जंगलमा रहेको जिमुरे मुहानको भरमा दैनिकी चलाउदैं आएका थियोेैें’– स्थानीयवासी ज्ञान बहादुर घर्ती मगरले भने–‘एक जनाले दिनभरमा मात्र ४ गाग्री पानी घरमा ल्याउथ्यौ तर, अहिले त सबैको घर घरमा धारा छन् ।’ सहज रुपमा पानी उपलब्ध भएपछि व्यक्तिगत तथा घरको सरसफाइ हुनुका साथै कार्यबोझमा समेत कमि आएको घर्तीले बताए ।

डोको किन्ने खर्च मिटर बिलमा
‘पधेंराबाट पानी बोक्नका लागि डोको खरिद गर्नु पथ्र्यो।’ स्थानीयवासी पिमा घर्तीले भनिन्–‘ डोको किन्ने पैसा अहिले पानी धारा चलाए वापत मिटरमा आएको विल भुक्तानी गर्छौ ।’ गाउँमा सहज रुपमा पानी नहुंदा बालबालिका नियमित विद्यालय जाने अवसरबाट बञ्चित हुनु परेको घर्तीले बताइन ।

मुहान टाढा अनि डांडामा बस्ती भएका कारण पुस्ता देखि नै पानीको समस्या रही आएको बताउदैं अब भने त्यस्तो समस्या झेल्नु नपर्ने आशावादी रहेको टाकुरावासी बताउछन् ।

बिहान ६ बजे देखि १० बजे सम्म पानी सञ्चालन गर्न मासिक ६ सय रुपैया दिएर हेरालु समेत राखेको घर्तीले बताइन । मिटरको डरले गर्दा पानी सदुपयोेग हुने गरेको उनीहरु बताउछन् ।
आफुले घरमा पालेका गाइवस्तुलाई समेत पेट भरी पानी खान दिन नपाएको अर्की उपभोक्ता गिता घर्ती बताइन ।

४४ लाखमा लिफ्ट खानेपानी
प्यूठान नगरपालिका ५ (साविक जुम्रीकाँढा गाविस ५) टाकुरामा ४४ लाख बजेट खर्च गरी लिफ्ट खानेपानी योजना सम्पन्न भएको वडा अध्यक्ष लछुमन भण्डारीले बताए ।
अघिल्लो आर्थिक वर्ष (०७४/७५) मा नगरपालिकाबाट १२ लाख स्थानीय जनश्रमदान ३ लाख १७ हजार र चालु आ.व.मा नगरपालिकाबाट २३ लाख र स्थानीय जनश्रमदान ६ लाख ८ हजार ६ सय ७२ गरी जम्मा ४४ लाख २५ हजार ६ सय ७२ लागतमा घरमा घर घरमा धारा पुगेको अध्यक्ष भण्डारीले जानकारी दिए ।

३७ घरधुृरी रहेको टाकुरामा वर्षौ देखि खानेपानीको अभाव भएकाले मोटो रकम खर्च गरी सोलर लिफ्ट खानेपानी सञ्चालन गरिएको उनको भनाइ छ ।

सोलार महंगो भएता पनि दिर्घकालिन रुपमा निकै सस्तो पर्न जाने नगरपालिकाका इन्जिनियर दिनेश केसीले बताए । ४ सय १८ मिटरको उचाइमा १४ हजार लिटरको ट्यांकी पानी संकलन गरी बस्तीका घर घरमा पुर्याइएको केसीले जानकारी दिए ।

बैकल्पिक उर्जासंग समन्वय गरेर अनुप अडर एण्ड सप्लार्यसबाट लिएको र यदि सोलार विग्रिएको अवस्थामा अबको ५ वर्ष सम्म निशुल्क मर्मत गरिदिने सम्झौता समेत भएको उनले बताए ।
दिर्घकालिन रुपमा टिकाइ राख्नका लागि उपभोक्ताले पानीको राम्रो संरक्षण गर्नु पर्ने बताउदै पाइपहरु टुटफुट हुनबाट बचाउने, सोलारमा धुलो मैलो लागेको बेला नियमित पानीले सफा गर्ने, सबैले आफ्नो सम्पती सम्झेर संरक्षण गर्नुपर्ने केसीले बताए ।

विगतमा गरिबी निवारण कोष, पश्चिम नेपाल ग्रामीण खानेपानी परियोेजनाले समेत खानेपानीमा लगानी गरेको तर, संरक्षण नहुंदा र मुहान सुकेपछि उक्त योजनाबाट टाकुरावासीले खासै लाभ लिन सकेका थिएनन् ।

पानीसंगै मोटरबाटोको अपेक्षा
मोटरबाटोको अभाव हुंदा उक्त बस्तीमा ढुवानीका लागि निकै समस्या पर्ने गरेको छ । बर्षैा देखि मोटरबाटोको अपेक्षा गरिएको त्यो बस्तीमा माग सम्बोधनमा सक्दो प्रयास गर्ने प्यूठान नगरपालिकाका उपमेयर शान्ता आचार्यले बताइन ।

सबै क्षेत्रका समस्याहरु विस्तारै सुल्झाउने बताउदैं आवश्यकता र महत्वका आधारमा विकासे बजेट खर्चिदै जाने उनले बताइन ।

प्यूठान नगरपालिकाको एक घर एक धारा नीति अनुसार खानेपानीको समस्या भएका बस्तीहरुलाई पानीको सहज पहुंचमा पु¥याएसंगै अन्य क्षेत्रका मागहरुलाई सम्बोधन गरिने उपमेयर आचार्यको भनाइ छ ।

राधिका भुसाल

भुसाल प्युठान संवाददाता हुन्।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस